ढिलासुस्ति र लापरवाही गर्ने ठेकेदारलाई बेनी नगरपालिकाले स्पष्टिकरण सोध्यो

khali

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले चार वटा खानेपानी आयोजना निर्माणमा ढिलासुस्ति र लापरवाही गर्ने ठेकेदार कम्पनीलाई सात दिने स्पष्टिकरण सोधेको छ ।
तीन पटक म्याद थप गर्दा समेत निर्माण पुरा नभएका आयोजनाका दुई वटा ठेकेदार कम्पनीलाई सोमबार स्पष्टिकरण सहितको पत्र काटेको हो । नगरपालिकाका पूर्वाधार शाखा प्रमुख ईञ्जिनियर बिमलरञ्जन कार्कीले कालोसूचिमा राखेर कारबाहीको प्रक्रीया अघि बढाउन चेतावनीयुक्त स्पष्टिकरण सोधिएको बताउनुभयो ।
“गत वर्षको असारमै सकिनुपर्ने आयोजना निर्माणमा ढिलासुस्ति र लापरबाही गरेकाले ठेक्का तोड्ने र कालोसूचिमा राख्न सिफारिस गर्ने प्रक्रीया अघि बढाएका हौ,” उहाँले भन्नुभयो “तीन पटक म्याद थप, पत्र र मौखिक रुपमा आयोजना निर्माणलाई पूर्णता दिन वेवास्ता गरेकाले कालोसूचिमा राख्ने प्रक्रीया थालेका हौ ।”
नगरपालिकाले पत्रमा काम सम्पन्न गराउन अन्यथा कालोसूचिमा राख्ने चेतावनी दिएको छ । बेनी नगरपालिकाको वडा नम्बर –२ को गौस्वारा तमाने, खबरा र वडा नम्बर ६ को राहुवडा सल्लेरी खानेपानी आयोजनाको ठेकेदार हिमालयन खुसीहोम तथा वडा नम्बर ६ कै जामुनाखर्क खानेपानी आयोजनाका ठेकेदार बिएन त्रिशक्ती जेभीलाई स्पष्टिकरण सोधिएको हो ।
२०७८ माग ११ गते सम्झौता भएको चार वटै आयोजना २०७९ असार मसान्तसम्म सकिनुपर्ने थियो । संघीय सरकारको विशेष अनुदानमा सञ्चालित आयोजनाहरुको अन्तिम पटक थपिएको म्याद यही चैत मसान्तमा सकिदैछ् ।
नगरस्तरीय अनुगमन समितिले आयोजनाको संरचना अधुरो भएको, इन्टेक बाहिर पानी बगेको, पानी चुहेको, सबै धारामा पानी वितरण नभएकाले निर्माण पूर्ण र तोकिएको गुणस्तर अनुसार काम भएपछि मात्र भुक्तानी गर्न सिफारिस गरेको थियो ।
१०० घरधुरी लाभान्वित हुने गौस्वारा तमाने खानेपानी आयोजनाको रु. ३७ लाख ४२ हजार, ४० घरधुरी लाभान्वित हुने राहुवडा सल्लेरी खानेपानी आयोजनाको रु. ३४ लाख ३८ हजार र खबरा खानेपानी आयोजनाको रु. ६२ लाख ११ हजारमा ठेक्का सम्झौता भएको थियो ।
११० घरधुरी उपभोक्ता रहेको जामुनाखर्क खानेपानी आयोजनाको रु. ७८ लाख १४ हजारमा सम्झौता भएको थियो । निजी धारा मार्फत खानेपानी वितरण गर्ने लक्ष्य रहेको आयोजनाको सबै घरधुरीमा पानी वितरण हुन सकेको छैन् । खबरा खानेपानी आयोजनाको टंकी समेत निर्माण पुरा नभएको, मुख्य तथा शाखा लाइन र धारा निर्माणको काम बाँकी छ ।
नगर प्रमुख सुरत केसीले निर्माण कम्पनीहरुले समयमा काम नगरेका कारण ठेक्का लागिसकेको आयोजनालाई चालु आर्थिक वर्षमा पूर्णता दिन रु. बाईस लाख पचास हजार भन्दा बढी नगरपालिकाको आन्तिरिक बजेट परिचालन गर्नुपरेको बताउनुभयो ।
“तोकिएको समयमा ठेकेदारले काम नगरेकाले ठेक्का लागिसकेको संघीय सरकारबाट पुरा बजेट आएन, कामलाई पूर्णता दिन नगरपालिकाले आन्तरिक बजेट थप गर्नुपरेको छ,” उहाँले भन्नुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...