मुस्ताङी च्याङग्राको भुवाको गुणस्तर परिक्षण गरिदै

Gandaki Ghumau

पोखरा, । मुस्ताङमा पश्मिनाको कच्चा पदार्थ च्याङग्राको भुवाको गुणस्तर परीक्षण गरिने भएको छ ।
नेपालमै पहिलोपटक भूवाको नमूना सङ्कलन गरेर परीक्षण गर्न लागिएको हो । नेपाल पश्मिना उद्योग सङ्घ र अन्तर्राष्ट्रिय व्यापार केन्द्रको सहकार्यमा मुस्ताङका चार वटा पालिकामा गरी १६० किसानका आठ सय च्याङग्रामा पश्मिनाका लागि आवश्यक कच्चा पदार्थ भुवाको नमुना सङ्कलन गर्न लागिएको हो ।
आगामी चैत ८ गतेदेखी नमूना सङ्कलन सुरु हुने भएपछि सो अगाडि आज पोखरामा मुस्ताङका स्थानीय तहका प्रमुख तथा वडाध्यक्ष, कृषक लगायतसँग छलफल तथा अन्तरक्रिया गरिएको छ ।
सो अवसरमा मुस्ताङका जनप्रतिनिधिहरुले नमूना सङ्कलन कार्यलाई सफल बनाउन आफ्नोतर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएका छन् ।
मुस्ताङका लोमान्थाङ, लो—घेकर दामोदर कुण्ड, बारागाउँ मुक्ति क्षेत्र र घरापजोङ गाउँपालिकाबाट च्याङ्ग्रा पश्मिनाका लागि भुवाको नमूना सङ्कलन गरी त्यसको गुणस्तर निर्धारण गरिने नेपाल पश्मिना उद्योग सङ्घका केन्द्रीय उपाध्यक्ष धनप्रसाद लामिछानेले बताउनुभयो ।

Gunasthariya Shiksya


उहाँका अनुसार चैत ८ देखी १३ गतेसम्म नमूना सङ्कलनकर्ताहरुलाई कागबेनी र चराङमा प्रशिक्षण दिइनेछ । त्यसैगरी चैत १४ देखी २२ गतेसम्म नमूना सङ्कलन गरिनेछ ।
लामिछानेले भन्नुभयो,“च्याङ्ग्रा पश्मिनाको गुणस्तर पत्ता लगाउनका लागि भूवाको लम्वाई, मोटाई, आनुवांशिक विशेषताका बारेमा नमूना लिएर अनुसन्धान गर्नेछौँ । त्यसबाट प्राप्त रिपोर्ट अन्तर्राष्ट्रिय बजारमा देखाउने र च्याङ्ग्रा पालक किसानले भुवाबाट गुणस्तर अनुसारको आय आर्जन वृद्धि गर्न समेत सघाउ पुग्नेछ ।”
अमेरिकाको ओडिसा सेन्टर लिमिटेडका डा क्यारोल कर्भिङले आठ जना स्थानीय भूवा संकलक किसानहरुलाई भूवा सङ्कलन तालिम दिनुहुनेछ भने १६० किसानका पाँच÷पाँच वयश्क च्याङग्रा छानी ८०० पश्मिना भुवाको नमूना संकलन गरिनेछ ।
पश्मिनाको गुणस्तर मापनमा सहयोग पुगोस् भनेर नमूना लिएका हरेकको निशानी लगाइनेछ र सबै च्याङ्ग्रा किसानहरुलाई संख्या र भुगोलका आधारमा नमूना लिइने बताइन्छ ।
नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख निना अमात्य (गोर्खाली)ले मुस्ताङमा पहिलो पटक गरिने नमूना सङ्कलनबाट च्याङ्ग्राको पश्मिनाको गुणस्तर पत्ता लाग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,“च्याङ्ग्राको पश्मिना राम्रो छ भन्ने गरिन्छ । तर क्वालिटीका बारेमा औपचारिक अध्ययन नभएको अवस्थामा यो पहिलो खुड्किलो हो । यसैमा आधारित भएर नश्ल सुधारका लागि समेत थप कार्यक्रम बनाउन सहयोग पुग्दछ ।”
अन्तर्राष्ट्रिय व्यापार केन्द्रका परामर्शदाता सिचन श्रेष्ठले सङ्कलित नमूनालाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला तथा नेपाल गुणस्तर तथा नापतौल विभागमा व्यावसायिक गुणस्तर परिक्षणका लागि पठाइने जानकारी दिनुभयो । यसबाट पश्मिनाको गुणस्तरले यसको महत्व तथा बजार मुल्यमा प्रभाव पार्ने उहाँले बताउनुभयो ।
लो—घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल बिष्ट मुस्ताङ जिल्लाभर सञ्चालन हुने नमूना सङ्कलन अभियानलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । स्थानीय कृषकको आयआर्जनलाई वृद्धि गर्न समेत नमूना सङ्कलन महत्वपूर्ण रहेको गुरुङको भनाई छ ।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्बु गुरुङले नमूना सङ्कलन अघि किसानलाई पूर्व जानकारी र उद्धेश्यका बारेमा बुझाउनु आवश्यक रहेको बताउनुभयो । प्राकृतिक रुपमा विरलै उत्पादन हुने च्याङग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पश्मिनाको व्यावसायिक माग बढी रहेको बताइन्छ ।
राम्रो गुणस्तरको च्याङ्ग्रा पश्मिनाका लागि आकर्षक मुल्य तिर्न नेपाली खरीदकर्ता तयार भएकाले च्याङ्ग्रापालक कृषकहरुले राम्रो आम्दानी गर्न सकिने बताइन्छ । नमूना सङ्कलनमा च्याङ्ग्रा पश्मिना पालक सङ्घले समेत सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...