आठौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता फागुन १२ र १३ गते हुने

Gandaki Pardesh notice

बेनी, । यही फागुन १२ र १३ गते म्याग्दीको बेनीमा जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ ।
जिल्ला खेलकुद विकास समितिले फागुन २० र २१ पोखरामा हुने प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्न जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा म्याग्दीका छ वटा स्थानीय तहले छनौट गरेका खेलाडीहरु सहभागी हुने भएका छन् ।
यसअघि पालिका स्तरीय प्रतियोगिता सम्पन्न भइसकेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले एथलेटिक्स, कवड्डी, भलिबल र मार्सल आर्ट बिधाका महिला र पुरुषतर्फ ४८ वटा खेल सञ्चालन गरिने बताउनुभयो ।
एक वटा पालिकाबाट बढीमा ९० जनाका दरले खेलाडीहरुले सहभागिता जनाउने भएका छन् । खुल्ला मञ्चमा एथलेटिक्स र भलिबल, कालीपुल कवर्डहलमा मार्सल आर्ट र बास्केटबल मैदानमा कवड्डी खेल सञ्चालन गरिने अध्यक्ष केसीले बताउनुभयो ।
प्रतियोगिताको प्राविधिक बैठक, खेलक तालिका फागुन ११ गतेनै सार्वजनिक गरिने कार्यालय प्रमुख दानबहादुर राईले जानकारी दिनुभयो । प्रथम, द्वितिय र तृतिय हुने पालिकाले रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश ः रु. २० हजार, रु. १५ हजार र रु. १० हजार प्राप्त गर्नेछन् ।
विषयगत खेलकुद संघ संग समन्वय गरेर प्रतियोगिता सञ्चालन गरिने खेलकुद विकास समितिले जनाएको छ । छनौट भएका खेलाडीहरुलाई प्रशिक्षण दिएर प्रदेश स्तरीय प्रतियोगितामा सहभागी गराइने जनाइएको छ ।
सामाजिक विकास मन्त्रालयले प्रतियोगिता सञ्चालनका लागि कार्यविधिमा तोकिएको शिर्षक अनुसार खर्च गर्न पाउने गरि रु. तीन लाख ९० हजार बिनियोजन गरेको छ । सरकारले पठाएको अतिरिक्त जिल्ला स्तरमा थप रु. दूई लाख बजेट आवश्यक पर्ने अध्यक्ष केसीले बताउनुभयो ।
जिल्ला खेलकुद विकास समितिका पदाधीकारी र सदस्यहरुको नेतृत्वमा विभिन्न उपसमितिहरु गठन गरेर तयारीलाई तिब्र बनाइएको छ । म्याग्दीबाट प्रदेश स्तरीय प्रतियोगितामा ९० प्रशिक्षक बाहेक ९० जना खेलाडीहरु सहभागि हुने भएको छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...