बेनी, । साँघुरो र घना वस्ती भएको म्याग्दीको सदरमुकाम बेनीमा प्राय ः घरधनीको करेसावारी छैन् । घरमै ताजा तरकारी उत्पादन गर्ने अधिकांश बजारबासीको चाहना सम्भव छैन् ।
जहाँ इच्छा त्यहाँ उपाय भने झै घरको छतमै कौसी खेती गरी तरकारी फलाउन सकिन्छ भन्ने उदाहरण बेनी नगरपालिका–७ इन्द्रेणीटोलका राजु र पूण राम्जाली दम्पत्तीले प्रस्तुत गर्नुभएको छ ।
राम्जालीको पाँच तले घरको कौसीवारीमा भने लटरम्म स्टब्रेरी फलेका र पाकेका छन् । छतभरी फलामका ¥याक बनाएर राखिएका पलास्टिकका बाल्टी, माछा राख्ने क्यारेट, पलास्टिक ब्याग र गमलाभरी काउली, गोलभेडा, हरीया खुर्सानी, लसुन, प्याज, रायो साग, चाइनिज साग लगायत हिउँदे तरकारीले हराभरा छ ।
“रासायनिक मलको प्रयोग बिना छतमै तरकारी फलाएकाले राम्जाली परिवारलाई बाहिर बजारमा गएर हरियो तरकारी, स्टेब्रेरी, काँक्रो समेत फलफुल किन्नु परेको छैन्,” उहाँले भन्नुभयो “आफुलाई मात्र होइन, घरमा आउने पाहुना, छिमेकी र डेरामा बस्नेहरुलाई तरकारी, फलफुल र सागसब्जी उपहार दिन पुगेको छ ।”
फुर्सदको समय उपयोग गर्न कौसी खेती शुरु गरेका राम्जाली दम्पत्तीलाई विस्तारै कौसी खेतीमा लत लागे झै भएको छ । “विहान–बेलुका कौसीका तरकारी, फलफुलहरुमा मलजल र स्याहार गर्न नपाए के के गुमाए झै लाग्छ,” राम्जालीले भन्नुभयो “व्यवस्थित र नियमित हेरचाह गरे कौसी खेतीले घर विग्रने डर हुदैन । खेती गर्दा छतको भुईमा भने गर्नु हुदैन् ।”
सिजन अनुसारका तरकारी रोप्ने र फलाउने राम्जाली कृषि ज्ञान केन्द्र म्याग्दीले हालै गरेको कृषि मेला प्रर्दशनीमा रु. पाँच हजार नगद सहित पुरस्कृत हुनुभएको थियो । उहाँको कौसीवारीमा तरकारी मात्र होईन विभिन्न जातका फुलहरु पनि रोप्नु भएको छ । ती फुलहरु सिजन अनुसार ढकमक्क फुल्छन् । फलामका अग्ला क्यारी बनाई त्यसमाथी राखेर तरकारी खेती गरिने भएकोले माटो र पानीले सोझै घरको छतमा छुदैन् । माटो र पानी छतमा नजम्ने भएकाले घरको छत विग्रने समस्या हुदैन् ।
बेनीमा करेबाबारी नभएका कम्तीमा ८० जनाले घरको छत र वरण्डाको उपयोग गरी कौसी खेती गर्ने गरेका छन् । कौसी खेती गर्न बेनी नगरपालिकाले पछिल्ला तीन वर्षदेखि तालिम, विउविजन, कम्पोट विन, हजारी, ग्रो ब्याग लगायतका सामग्री सहयोग गरेको बेनपा–७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।
“घरको खाली ठाउँको सदुपयोग गरी सबैका घरमा सम्भव भएसम्म अर्गानिक, ताजा तरकारी उत्पादन गर्ने, विषादी मिश्रित तरकारी उपयोग घटाई आर्थिक बचत गर्न सहयोग पु¥याउने लक्ष्य राखेका छौ,” उहाँले भन्नुभयो “पछिल्ला केही वर्षदेखि वडा कार्यालयले कौसी खेती गर्ने सिप र सामग्री सहयोग गर्दै आएको छ । कौसीखेतीले घरबाट निक्लने कुहिने वस्तुको घरमै उपयोग गरी फोहोर व्यवस्थापनमा पनि सहयोग पुगेको छ ।” बेनी नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ र २०७८÷७९ मा रु. चार लाख २५ हजार खर्चेर ८० जनालाई कौसीखेती सम्बन्धी तालिम र सामग्री सहयोग गरेको थियो ।