जलजलाको छ वटा वडा कार्यालय भवन निर्माण शुरु

khali

बेनी, । पर्वतको जलजला गाउँपालिकाले एकै साथ छ वटा वडा कार्यालय भवन निर्माण शुरु गरेको छ ।
संघीय सरकारसँगको लागत साझेदारीमा वडा कार्यालयको भवन निर्माण शुरु भएको हो । वडा नम्बर १, ४, ५, ६, ७ र ९ को भवन निर्माण शुरु भएको गाउँपालिकाका ईञ्जिनियर सुनिल बानियाले जानकारी दिनुभयो ।
“सबै भवन एक तले र चार कोठे हुन,” उहाँले भन्नुभयो “चालु आर्थिक वर्ष भित्रमै सम्पन्न गर्ने लक्ष्य सहित ठेक्का मार्फत काम शुरु भएको छ ।” बाँसखर्क, फट्केढुङ्गा, लेकफाँट, शालिजा, धाइरीङ र बनौमा वडा कार्यालय निर्माण हुन लागेको हो ।
कुल चार करोड ३३ लाख १७ हजार लागत अनुमान गरिएको भवन निर्माणका लागि जयलक्ष्मी–अभिनव जेभी बाग्लुङले रु. तीन करोड २६ लाख सात हजार ५५१ मा ठेक्का सम्झौता गरेको छ ।
२०७९ पुष १२ गते ठेक्का सम्झौता भएको भवन निर्माण कार्य २०८० असार ३० मा सम्पन्न गर्ने लक्ष्य छ । गाउँपालिकाका कार्यवाहक अध्यक्ष दिपक आचार्यले निर्माण कम्पनीले निर्माण स्थलमा जग्गा सम्माएर संरचना बनाउन थालेको बताउनुभयो ।
“अघिल्लो वर्ष शुरु भएको वडा नम्बर २ र ८ को कार्यालय भवन निर्माण कार्य पनि यसै वर्ष सकिदैछ, वडा नम्बर ३ को आफ्नै भवन छ,” उहाँले भन्नुभयो “छ वटा नयाँ भवन बनाएपछि हाम्रो पालिकाको ९ वटै वडा आफ्नै भवनबाट सञ्चालन हुनेछन् ।”
हाल सामुदायिक भवन र निजी घर भाडामा लिएर वडा कार्यालय सञ्चालन गरिएको छ । नयाँ भवनमा वडा अध्यक्ष, सचिव, जनप्रतिनिधिहरुको कार्यकक्ष र सभाहल हुनेछन् । गत माघ ४ गते भएको १३ औ गाउँसभाले लामाखेतमा गाउँपालिकाको कार्यालय सञ्चालनका लागि अस्थायी संरचना बनाउन रु. तीस लाख बजेट बिनियोजन गरेको थियो ।
वडा नम्बर ४ का अध्यक्ष भरत जिसीको अध्यक्षतामा बलबहादुर फगामी र टुङ्गनाथ शर्मा सदस्य रहेको जग्गा अध्ययन सम्बन्धी कार्यदल गठन भएको छ । समितिको सिफारिस अनुसार अस्थायी संरचना बनाएर गाउँपालिकाको कार्यालय सञ्चालन गर्ने योजना रहेको छ । लामाखेतमा रहेको गाउँपालिकाको कार्यालय भाडाको घरबाट सञ्चालन भइरहेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...