पोखरा, । संसारको सातौ (८१६७) मिटर अग्लो धौलागिरि हिमाललाई फेरो लगाउने चक्रीय पदमार्गको विकास र प्रर्वद्धनमा गाउँपालिका, प्रदेश सरकार र पर्यटन व्यवसायीले चासो देखाएका छन् ।
ओझेलमा परेको म्याग्दी स्थित धौलागिरि चक्रीय पदमार्गमा पूर्वाधार विकास र प्रर्वद्धनका लागि सरकार र निजी क्षेत्रले साझेदारी गर्ने विषयमा पोखरामा छलफल भएको हो । धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा अवस्थित छ ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली, धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन मगर र ट्रेकीङ व्यवसायी एजेन्सीज एसोशियसन (टान)का पदाधीकारीहरुबीच सोमबार पोखरामा छलफल भएको हो ।
टान गण्डकी प्रदेशका अध्यक्ष धर्म पन्थीले धौलागिरि चक्रीय पदमार्गलाई नयाँ गन्तब्य बनाउन छलफल गरिएको बताउनुभयो । “गण्डकीको पुरानो अन्नपूर्ण चक्रीय पदमार्ग छोटिएपछि धौलागिरिलाई वैकल्पिक नयाँ गन्तब्यको रुपमा विकास गर्नुपर्ने आवश्यकता महशुस गरेर पालिका र प्रदेश सरकारसँग छलफल गरेका हौ,” उहाँले भन्नुभयो “पालिका, प्रदेश र संघीय सरकारले पूर्वाधार बनाउने, हामी निजी क्षेत्रले प्रर्वद्धनको काम गर्ने योजना बनाएका छौ ।”
पर्यटन मन्त्री जुग्जालीले पर्यटकको चाहना र आवश्यकता अनुसार धौलागिरि, ढोरपाटन शिकार आधार, अन्नपूर्ण आधार शिविर लगायत नयाँ गन्तब्यमा पर्यटक भित्र्याउन पूर्वाधार विकासमा पालिका र संघीय सरकारसँग मिलेर काम गर्नुपर्ने बताउनुभयो । सडकले छोटिएका पुराना पदमार्गको विकल्पमा नयाँ गन्तब्यको खोजी, विकास र प्रर्वद्धन गर्ने नीति प्रदेश सरकारले लिने उहाँको भनाई थियो ।
धवलागिरी गाउँपालिकाका अध्यक्ष पुनले पालिकाको सिमित स्रोतले नभ्याउने भएको हुँदा धौलागिरि चक्रीयमा पूर्वाधार बनाउन प्रदेश र संघीय सरकारको साथ चाहिएको बताउनुभयो । म्याग्दीको दरवाङ, मुदी, बगर, दोभान हुदै धवलागिरी आधार शिविर भएर मुस्ताङ निस्कने धौलागिरि चक्रीय पदमार्गको भ्रमण र धौलागिरि हिमाल आरोहणका लागि आउने पर्यटकको संख्या न्युन छ ।
आरोहीहरु हेलिकप्टरबाट सिधै आधार शिविर पुग्ने र फर्कने हुँदा पदमार्गमा पर्ने गाउँलेले लाभ लिन पाएका छैनन् । पदमार्ग, पुल, आवास, खानेपानी र सञ्चार सुविधा विस्तारका लागि गाउँपालिकाले पहिलो चरणमा डिपिआर तयार पार्न लागेको उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।
साइनबोर्ड, सूचना पाटी राख्ने काम तत्कालै गर्नुपर्ने पर्यटन व्यवसायीले सुझाएका छन् । अत्याधुनिक प्रविधिको सञ्चार सुविधा विस्तार गर्ने विषयमा पनि छलफल भएको उपाध्यक्ष पुनले बताउनुभयो ।
बगर, नाउरामा घरबास तथा सल्लाघारी, दोभान र इटली आधार शिविरमा चिया पसल सञ्चालन गरेका छन् । आवास सुविधाका लागि होटेल सञ्चालन नहुँदासम्म यस पदमार्ग क्याम्पिङ टे«किङ गर्नुपर्ने हुन्छ । वर्षमा करिब २०० पर्यटक हिमाल आरोहण र पदयात्राका लागि धौलागिरि आधार शिविर पुग्ने गर्छन् ।
मनोरम हिमशृङ्खलासँगै अग्ला झरना, जङ्गलको एकान्त वातावरण, नजीकै देखिने झारल, प्राकृतिक तातोपानी कुण्ड, भिरमह शिकार, कस्तुरी मृग, डाँफे, तालतलैया, हिमनदीको दृश्य धौलागिरि चक्रीय पदमार्गको मुख्य आकर्षण हो ।
भिर र जङ्गलको जोखिमपूर्ण ठाउँमा बाटो फराकिलो र सिँढीसहितको पदमार्ग बनाउन पछिल्लो पाँच वर्षमा प्रदेश र संघीय पर्यटन मन्त्रालयले रु. दुई÷दुई करोड भन्दा बढी लगानी गरेका छन् । गाँउपालिकाले पनि यो पदमार्गको पूर्वाधारमा करिब रु. एक करोड भन्दा बढी खर्चिएको छ ।
१२ स्थानमा झोलुङ्गेपुल र तीन स्थानमा साना कल्भर्ट निर्माण गर्न स्थलगत अध्ययन गरेर आवश्यकता पहिचान गरिएको गाउँपालिकाले जनाएको छ । पर्यटकको तथ्याङ्क राख्न, सूचना र प्राथमिक उपचार सेवा उपलब्ध गराउन इटाली आधार शिविरमा चेक पोष्ट सञ्चालनका लागि भवन बनाइएको छ । देउरालीमा बिटिएस टावर राखेर बगरसम्म मोवाइल सेवा विस्तार गरिएको छ ।
धौलागिरि चक्रीय पदमार्गको विकासमा प्रदेश, पालिका र व्यवसायीको चासो
प्रतिक्रिया दिनुहोस