
बेनी । दुई वर्षअघि लागु औषध सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भएका एक व्यक्तिलाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ ।
मलिका गाउँपालिका–५ घर भई हाल बेनी नगरपालिका–२ बस्ने डोलिन रोका (महेन्द्र)लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक मदन कुँवरले शनिबार पक्राउ परेका रोकालाई आइतबार जिल्ला अदालतमा पेश गरिएको जानकारी दिनुभयो । म्याग्दी जिल्ला अदालतले रोकालाई लागु औषध सम्बन्धी मुद्दामा २०७७ मा ११ महिना १३ दिन कैद सजायको फैसला सुनाएको थियो ।
“यो संकेत मात्र हो, हामी लागू औषधको विषयमा गम्भिर भएका छौ,” नवआगन्तुक प्रनाउ कुँवरले आइतबार प्रहरी कार्यालयमा भएको पत्रकार भेटघाटमा भन्नुभयो “अदालतले दोषी ठहर गरेका अन्य व्यक्तिहरुलाई पक्राउ गरि फैसला कार्यान्वयन र न्यायको अनुभूति दिलाउन प्राथमिकता दिएका छौ ।”
प्रनाउ कुँवरले जिल्लाको शान्ति सुरक्षाको बस्तु अवस्थाका विषयमा जिल्लाका सरोकारवालाहरुसँग छलफल र सुझाव संकलन गर्नुभएको छ । प्रहरी कार्यालय र मातहतका इकाईमा आम नागरिकको पहुँच र सहज रुपमा सेवा प्राप्त गर्ने वातावरण मिलाउने प्रतिवद्धता जनाउनुभयो ।
सरोकारवालाहरुको सुझावको आधारमा अपराध, दुव्र्यसनी नियन्त्रण, रोकथाम, दुर्घटना र विकृति न्युनीकरणमा केन्द्रित हुने प्रनाउ कुँवरले बताउनुभयो ।
