

बेनी,

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परि ज्यान गुमाएका मोहनप्रकाश श्रेष्ठ (प्रकाश) कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत हुन् ।
कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देलका अनुसार कार्यालयको कामको शिलशिलामा काठमाडौ गएका ३४ वर्षीय श्रेष्ठ कार्यालय फर्कदै थिए । सोमबार बिहान श्रेष्ठको शवको पहिचान भएको सिग्देलले बताए ।
‘यात्रुको विवरण र सम्पर्क नम्बर मिलेको थियो,’ उनले भने ‘साथमा रहेका कागजात र शवको पहिचान भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको शव परिक्षणको पर्खाइमा छौ ।’
नवलपुर स्थायी ठेगाना भएका श्रेष्ठ गत असोजमा सरुवा भएर म्याग्दी आएका थिए । वि.स. २०७४ मा निजामती सेवामा प्रवेश गरेका श्रेष्ठ म्याग्दी आउनुअघि नवलपुरमा कार्यरत थिए ।
परिवारका सदस्य र साथीभाइले श्रेष्ठलाई प्रकाश भनेर चिन्दथे । उनले प्रकाश श्रेष्ठको नाममा जहाजको टिकट काटेका थिए । कार्यालको कामको शिलशिलामा श्रेष्ठ बिहिबार बेनीबाट गएका थिए ।
‘मन्त्रालय, विभागको कामले काठमाडौ जानुभएको थियो,’ सिग्देलले भने ‘फर्केपछि अनुदानका लागि परेका आवेदनको फिल्ड भेरिफिकेसनमा जाने कार्यक्रम बनाएका थियौ । दुर्घटनामा परेको खबर पाएपछि कार्यालयका स्टाफहरु पोखरामा आएका छौ ।’
श्रेष्ठका श्रीमति, ११ महिनाको छोरा, बुवा र आमा छन् । कृषि ज्ञान केन्द्रका प्राविधिक श्यामसुन्दर कुर्मीले असल राष्ट्रसेवक गुमाउनुपर्दा दुखित र स्तप्ध बनेको बताए । श्रेष्ठलाई उनका सहकर्मीहरु मिलनसार, सहयोगी र इमान्दार कर्मचारीको रुपमा स्मरण गर्दछन् । आइतबार बिहान करिब ११ बजे भएको दुर्घटनामा परेको विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए ।
दुर्घटनामा परेका ६८ जनाको शव भेटिएको र २६ जनाको पहिचान भएको कास्की प्रहरीले जनाएको छ । सो दुर्घटनामा ज्यान गुमाएका पोखरा ४ का डा. सुशील श्रेष्ठले म्याग्दीको दरवाङ प्राथमिक उपचार केन्द्रमा सेवा गरेका थिए । हाल काठमाडौको बिर अस्पतालको ट्रामा सेन्टरमा कार्यरत श्रेष्ठ, उहाँकी श्रीमती डा. सोना दिवाकर र छोराको पनि निधन भएको छ ।
