बेनी,। मंसिर २० देखि २४ गतेसम्म बेनीमा सञ्चालन हुने २० औ अन्तर मा.वि. जेसीज कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुने प्रतियोगिताको आयोजक म्याग्दी जेसीजले आइतबार पत्रकार सम्मेलन गरेर तयारी पुरा भएको जनाएको हो । म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्रीले मंसिर २० गते उद्घाटन हुने प्रतियोगिताको खेल २१ गतेदेखि सञ्चालन हुने बताउनुभयो ।
पत्राचार, प्रचारप्रसार, मञ्च र खेलमैदान व्यवस्थापन अन्तिम चरणमा पुगेको खत्रीले बताउनुभयो । प्रतियोगिताका मुल संयोजक दिनेश बानियाले १८ वटा उपसमिति गठन गरेर तयारी गरिएको जानकारी दिनुभयो ।
प्रतियोगितामा बिजेता र उपबिजेतालाई क्रमश नगद रु. ५२ हजार २२२ र ३२ हजार २३२ सहित रनिङ्गकप, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । सेमी फाइनलमा पुग्ने २ टिमलाई रु. ५ हजार उपलब्ध गराइनेछ ।
सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर, स्ट्राइकर, मिडफिल्डर, कोच र राइजिङ्ग पेलेयरलाई विभिन्न अवार्डका साथै नगद रु. दुई हजार ५०० का दरले नगद पुरस्कार प्रदान गरिने भएको छ । प्रत्येक खेलमा म्यान अफ द म्याच घोषणा गरी जर्सी पुरस्कार र अनुशासित टिमलाई रु. सात हजार ७७७ पुरस्कार प्रदान गरिने भएको छ ।
टाईटल स्पोन्सर न्युजील्याडमा रहनुभएका लालबहादुर केसी अध्यक्ष रहेको गौमती विकास कोष र लालीगुराँस अपसेट प्रेस प्रायोजकको रुपमा रहेको छ । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स इन्स्योरेन्स र बेनी सञ्जिवनी हेल्थ क्लिनिक हेल्थ पार्टनर रहेको छ । खेलाडीको खेलमैदान हुँदाको अवस्थाको रु. एक लाख सम्मको स्वास्थ्य बिमा समेत गरिएको छ ।
प्रतियोगिता सञ्चालन गर्न रु. सात लाख ५७ हजार २३१ खर्च हुने जेसीजले जनाएको छ । विद्यालय तहका विद्यार्थीहरुमा लोकप्रिय खेल जेसीजकप फुटबलले म्याग्दीमा खेलाडी तथा रेफ्रि उत्पादनमा योगदान गरेको छ । यसपाली सन २००९ को जेसिजकपका उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्टरलाई पुरस्कृत गरिने म्याग्दी जेसीजले जनाएको छ ।
जेसीजकपबाट पहिचान भएका खेल प्रतिभालाई विभिन्न विद्यालयले निशूल्क पठनपाठनको व्यवस्थाका साथै राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भएका छन् । हालसम्म प्रकाश माविले ५ पटक, बेनी आवासीय माविले ५ पटक, माउन्ट एभरेष्ट आवासीय माविले ४ पटक र न्यु वेष्ट पोइन्ट आवासीय माविले ५ पटक जेसीजकप जितेका म्याग्दी जेसीजका महासचिव बिष्मा श्रेष्ठले बताउनुभयो । यसपालीको जेसीजकपको नारा “जेसीस कप फुटबल म्याग्दीको शान–नव प्रतिभा पहिचान र क्षमता प्रस्फुटन” भन्ने रहेको छ ।