एमालेले पुलाचौर र कुहुँबाट थाल्यो चुनावी अभियान

Gandaki Kotihome

बेनी । नेकपा एमालेले शुक्रबार बेनी नगरपालिकाको पुलाचौर र मंगला गाउँपालिका–१ कुहुँबाट मंसिर ४ गते हुने संघ र प्रदेशसभा सदस्य चुनावको प्रचार अभियान थालेको छ ।

चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले देशको आर्थिक समृद्धि र समग्र विकास निर्माणका लागि एमालेलाई भोट दिनुपर्ने बताउनुभयो । निर्वतमान प्रतिनिधि सभा सदस्य समेत रहनुभएका केन्द्रीय सदस्य थापाले आफ्नो कार्यकालमा जिल्लामा विकास निर्माणलाई जोड दिएको बताउँदै यसअघि केपी ओली नेतृत्वको सरकारले चीनसँग पारवहन सन्धी सम्झौता गरेको, चुच्चे नक्सा जारी गर्ने, सामाजिक सुरक्षाभत्ता वृद्धिलगायत थुप्रै जनमुखी कामहरु गरेको बताउनुभयो ।

एमाले गण्डकी प्रदेश सचिवालय सदस्य एवं प्रतिनिधि सभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठले एमालेले अगाडि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई पुरा गर्नका लागि आफू निर्वाचनमा होमिएको बताउनुभयो । आफूले लामो समय जिल्लामा राजनीति र सामाजिक क्षेत्रको सफलतापूर्वक नेतृत्व गरेको बताउँदै उहाँले जिल्लाको समग्र विकास गरी समृद्ध म्याग्दी र सुखी म्याग्देलीको अभियान पुरा गर्न आफू र एमाले पार्टीलाई भोट दिएर जिताउनुपर्ने बताउनुभयो ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

नेकपा एमाले म्याग्दीका अध्यक्ष एवं प्रदेश सभा निर्वाचन क्षेत्रनम्बर (१)का उम्मेदवार देवेन्द्रबहादुर कटुवालले राष्ट्रियताको दृष्टिकोणले एमाले सबैभन्दा अब्बल पार्टी रहेको बताउनुभयो । उहाँले जनजीविकाको सवालमा सर्वसाधारण जनतालाई सामाजिक सुरक्षाभत्ता दिने, आफ्नो गाउँ आफै बनाऔं कार्यक्रममार्फत देशको विकास गर्ने, सुखी नेपाली र समृद्ध नेपालको अभियानको थालनी गर्ने, देशमा रेल तथा पानीजहाज चलाउने कार्यको सुरुवात गर्ने पार्टी एमाले भएकाले एमाले पार्टी र उम्मेदवारको पक्षमा मतदान गर्न आह्वान गर्नुभयो ।

कार्यक्रममा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदी, बेनी नगरपालिका कमिटी अध्यक्ष नारायण जिसी, पुलाचौरका पूर्व वडा कमिटी अध्यक्ष भोजबहादुर कार्की र अनेरास्ववियुको गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले एमालेका उम्मेदवारलाई भोट दिन अपिल गर्नुभयो । एमाले म्याग्दीका सचिवालय सदस्य रामप्रसाद सुवेदीको अध्यक्षता र नगर कमिटी सचिव सुवाश विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमाले पुलाचौर वडा कमिटीका कार्यवाहक अध्यक्ष विशाल बानियाँले स्वागत गर्नुभएको थियो ।

यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्रनम्बर २ अन्तर्गत मंगला गाउँपालिका–१ कुहुँ र पूर्णगाउँमा चुनावी आमसभा सम्पन्न भएको छ भने पैयुँपाटामा उम्मेदवारसहित घरदैलो कार्यक्रम गरिएको छ । पूर्णगाउँको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य नरदेवी पुनले आफू यसअघि प्रदेश सरकारमा रहँदा जिल्लामा थुप्रै विकास निर्माणका काम तथा योजनाहरु सुरुवात गरेकाले त्यसलाई पूर्णता दिन एमालेलाई जिताउन आग्रह गर्नुभयो ।

प्रदेश सभाका उम्मेदवार यामबहादुर गर्बुजाले जिल्लालाई प्रदेशसँग जोडेर शिक्षा, स्वास्थ्य, खेलकुद, सडक, विद्युतलगायत क्षेत्रको विकास गर्नेगरी आफू चुनावमा होमिएको बताउँदै आफ्नो अमूल्य मत दिएर विजयी बनाउन मतदाताहरुलाई अनुरोध गर्नुभयो । कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी सदस्य सुवाश विश्वकर्मा, जिल्ला सचिवालय सदस्य खरमाया बिटालु, जिल्ला सदस्य टकसरा राना, प्रगति कार्की, ईश्वर सुवेदीलगायत स्थानीय नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सदस्यद्वय सिर्जना केसी र सावित्रा खत्रीले गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...