चामलको थैला संग साटिने राजनीतिक चेतना र म्याग्दी

khali

हरीप्रसाद पौडेल
म्याग्दी शैक्षिक रुपमा मध्यम चेतना स्तर रहेको जिल्ला हो । यहाँका निम्न वर्गीय, निम्नमध्यम वर्गीय देखि मध्यम वर्गीय अधिकांश मानिसहरू खाडी लगायतका तेस्रो मुलुकको रोजगारीमा निर्भर रहेका छन् । जिल्लाको उपभोगको बजेटको ६५–७५% हिस्सा बैदेशिक रोजगारी बाट आर्जित रकमको रहने गरेको मेरो अनुमान छ । सबैजसो नागरिक खाना नाना र छानाको समस्या संग जुधिरहनुपर्ने हुंदा जिल्लाको सर्वाङ्गीण विकासमा नागरिकहरुको खासै चासो रहेको पाइदैन् । शिक्षामा कम चासो रहने हुंदा यसको प्रत्यक्ष प्रभाव राजनीतिमा परेको हुन्छ । शैक्षिक स्तर कमजोर हुने र पारिवारिक जिवनयापनमा नै समय खर्च गर्नुपर्ने स्तरका मानिसहरू राजनीतिक रुपमा चेतनशिल रहन सक्दैन् । राजनीतिक चेतनास्तर र आर्थिक अवस्थाको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ, राजनीतिक चेतना नहुँदा सहि नेतृत्व चयन हुन सक्दैन, नेतृत्व सहि नहुँदा जनताका मागहरु सम्बोधन हुन सक्दैन र मागहरु सम्बोधन हुन नसक्दा आर्थिक सवलिकरण हुन सक्दैन ।
राजनीतिक चेतनाकै कुरा गर्ने हो भने पनि हाल बिद्यमान दलका पहिलो पंतिमा रहेका बाहेक अन्य नेता कार्यकर्ता लाई सम्वन्धित दलको मूलभूत आदर्श र सिद्धान्त कतिलाई थाहा होला ? सबै सबै कुनै न कुनै ब्यक्तिको प्रभावमा आवद्ध भएका छन् र कतिपय त विभिन्न प्रलोभनका लागी दलमा आवद्ध भएको समेत पाइन्छ । अर्को तर्फ खासगरी सर्वसत्तावादी चिन्तन रहेका मानिसहरूको बसोबास रहेको क्षेत्रमा नागरिक स्तरमा राजनीतिक चेतनामा कमी रहेको हुन्छ । आर्थिक रुपमा विपन्न मानिसहरू अर्थोपार्जन का लागि दैनिकी ब्यतित गरिरहेका हुन्छन् र उनिहरुलाई सामान्य भन्दा सामान्य आर्थिक प्रलोभनमा पारेर आफ्ना निहित राजनीतिक सामाजिक स्वार्थ पुरा गर्न एकथरी समुह लागिरहने र त्यो समुह सानो र बोलवाला हुने भएकाले त्यस्तो बिपन्न समुदायलाई स–सानो सहयोगले प्रभावित बनाईरहेका हुन्छन् र राजनीतिक चेतना बाट बिमुख गराईरहेका हुन्छन् ।
निर्वाचन को समयमा तत्काल प्रभाव कायम राख्न यस्ता विपन्न र राजनीतिक चेत कम रहेको समुदायमा बिभिन्न सामग्री सहयोग देखि स–सानो आर्थिक प्रलोभनमा पारिएका हुन्छन् । विगतका अनुभव लाई हेर्दा निर्वाचनको समयमा विभिन्न खाद्यान्न लत्ताकपडा र नगद समेत हातहातमा पु¥याइएको पाईन्छ । यस्तो सहयोग लिनेमा आर्थिक विपन्न देखि निम्न मध्यम वर्गीय व्यक्ति समेत सहभागी भएको पाइन्छ । यस्ता समाचारहरु यस पटक समेत आउन थालिसकेका छन् । निर्वाचनमा आर्थिक प्रलोभनमा परेर मत दिनु सरासर आफ्नै खुट्टामा बन्चरो हान्नु हो, मेरो मत राज्य निर्माणमा निर्णायक बन्न सक्छ भन्ने हेक्का नहुनु नै सबैभन्दा ठुलो बिडम्बना हो । यो चेतना संग जोडिएको हुंदा जहिले सम्म राजनीति गर्नेहरुले जनताको भोट पाईप संग, चामलका थैला संग, केहि हजारका नोट संग साट्ने कुचेष्टा गरिरहन्छन् त्यस बेला सम्म नागरिक समृद्धि को कुरा हावादारी गफ बाहेक केही हुनै सक्दैन् ।
निर्वाचन को मुखमा जनतालाई राहत वा अन्य आर्थिक सहयोग गर्नु र ति समाचार बाहिरिनु सतही रुपमा हेर्दा सामान्य राजनीतिक समाचार मात्रै मान्न सकिन्छ यसको त्यति महत्व नरहन सक्छ तर यसको अर्थ गम्भिर रहन्छ । जहाँ अभाव रहन्छ त्याहाँ मात्र सत्ता टिकिरहन्छ भन्ने चिन्तन बोकेका दलहरु अस्तित्वमा छन् त्यसैले उनिहहरूले आफ्नो सत्ता टिकाउन जनतालाई गरिव नै बनाईरहनुपर्छ । यसको लागि दिर्घकालिन योजना होईन गर्जो टार्ने योजना संग आफुलाई जोडिरहन चाहन्छन् । जव सम्म जनताले यो कुरा बुझ्दैनन् र चामलका थैला संग र हजारका नोट संग मत साटिरहन्छन् तव सम्म यस्ता घटनाहरु घटिरहन्छन् ।
लेखक नेपाली काँग्रेसको बेनी नगर उपसभापति हुन् ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...