बेनी,। बेनी नगरपालिका–१० पात्लेखेतका लाभग्राहीहरुलाई वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
बेनी नगरपालिकाको १० नम्बर वडा कार्यालयको समन्वयमा ग्रिन बैंकको बेनी शाखाका कर्मचारीहरुले पात्लेखेत स्थित वडा कार्यालयबाट भत्ता वितरण गरेका हुन् । आर्थिक वर्ष २०७८÷७९ को अन्तिम चौमासिकको भत्ता वितरण गरिएको हो ।
नगरपालिकाले लाभग्राहीहरुको बैंक खातामा भत्ता पठाएको थियो । जनप्रतिनिधीहरुको रोहबरमा गाउँमै पुगेर भत्ता वितरण गरिएको ग्रिन बैंकको बेनी शाखाका प्रबन्धक प्रदिप खत्रीले बताउनुभयो ।
गाउँमै भत्ता पाउँदा लाभग्राहीहरुको समय र खर्चको बचत भएको छ । यसअघि बेनीको शाखामा आएर भक्ता निकाल्दा भिड र झञ्जट हुने गरेको थियो ।
वडाबाट भत्ता वितरण गर्दा बेनी पुग्न नसक्ने अशक्त जेष्ठ नागरिकहरुलाई राहत मिलेको वडा अध्यक्ष मसविर रोकाले बताउनुभयो । १७० जनालाई भत्ता वितरण गरिएको ग्रिन बैंकका कर्मचारी अनिल पौडेलले बताउनुभयो ।
यसअघि बेनी नगरपालिकाको ४, ५ र ९ नम्बर वडामा पनि गत आवको अन्तिम चौमासिकको भत्ता वडा कार्यालयबाट वितरण गरिएको थियो । ४ र ५ मा प्रभु बैंक तथा ९ मा गरिमा विकास बैंक मार्फत भत्ता वितरण हुदै आएको छ ।