म्याग्दीका पालिकाले बेरुजु घटाए

Gandaki Ghumau

बेनी, म्याग्दीका स्थानीय तहहरुमा नियम, कानुन विपरित राज्यकोषबाट खर्च हुने बेरुजु घटाएका छन् ।

महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनका अनुसार चार वर्षअघिको तुलनामा अघिल्लो आर्थिक वर्ष २०७७÷७८ को जिल्लाका छ वटा स्थानीय तहको बेरुजु रकम घटेको हो । आर्थिक वर्ष २०७४÷०७५ मा रु. नौ करोड चार लाख ८६ हजार, २०७५÷०७६ मा रु. १० करोड ५० लाख ६१ हजार र ०७६÷७७ मा रु. आठ करोड ५५ लाख २७ हजार बेरुजु देखिएको थियो ।

महालेखा परिक्षकको कार्यालयले गत हप्ता सार्वजनिक गरेको ५९ औ वार्षिक प्रतिवेदन –२०७९ मा म्याग्दीका स्थानीय तहको कुल बेरुजु रकम रु. पाँच करोड चार लाख पैतीस हजार छ ।

Shreekrishna

आर्थिक वर्ष २०७७÷०७८ मा राज्यकोषबाट खर्च भएको रु. पाँच अरब ६५ करोड ९८ हजार बजेटको लेखापरिक्षण गर्दा शून्य दशमलब ८९ प्रतिशत बेरुजु देखिएको हो । कार्ययोजना बनाएर पुरानो बेरुजु असुलउपर, कागजात, प्रक्रियामा कडाई गरिएपछि बेरुजु घटेको रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

“नपुगेका कागजात पुरा गरेमा र असुल उपर गरेमा नियमित गर्नुपर्ने बेरुजु फस्यौट हुन्छ,” उहाँले भन्नुभयो “बेरुजु बढ्न नदिन, पेस्की र असुल गर्नुपर्ने बेरुजु फस्यौट गर्न कार्ययोजना बनाएर कार्यान्वयन गरेका छौ ।”

Gunasthariya Shiksya

आर्थिक वर्षको अन्तिममा ठूलो मात्रामा बजेट खर्च गर्दा प्रक्रिया पुरा नगरेको, रकमान्तर नगरी बिनियोजित भन्दा फरक शिर्षकमा बजेट खर्च गरेको, सार्वजनिक खरिद ऐनको प्रतिकुल हुने गरी विना प्रतिस्पर्धा सामग्री खरिद र योजनाका काम गर्दा बेरुजु देखिएको महालेखाले टिप्पणी गरेको छ ।

रु. ७९ करोड ८० लाख चालिस हजारको लेखापरिक्षण भएको मालिका गाउँपालिकामा जिल्लामा सबैभन्दा बढी रु. एक करोड ३९ लाख ९१ हजार बेरुजु देखिएको छ । रघुगंगा गाउँपालिकामा रु. ७६ करोड ९० लाख ६५ हजारको लेखापरिक्षण गर्दा जिल्लामा सबैभन्दा कम रु. ३६ लाख २७ हजार बेरुजु देखिएको छ ।

बेनी नगरपालिकाले खर्चेको रु. एक अरब २१ करोड ५३ लाख ९० हजारको परिक्षण गर्दा रु. एक करोड ३९ लाख ५२ हजार, अन्नपूर्ण गाउँपालिकाको रु. ८९ करोड दुई लाख ५७ हजार लेखापरिक्षण गर्दा रु. ६४ लाख ८३ हजार बेरुजु देखिएको छ । धवलागिरी गाउँपालिकाको रु. एक अरब १३ करोड १७ लाख ६५ हजार बजेटको लेखापरिक्षण गर्दा रु. ८३ लाख ३४ हजार र मंगला गाउँपालिकाको रु. ८४ करोड ५५ लाख ८१ हजारको परिक्षण गरिएकोमा रु. चालिस लाख ४८ हजार बेरुजु देखिएको छ ।

५८ औ प्रतिवेदनमा बेनी नगरपालिकामा रु. दुई करोड आठ लाख, रघुगंगा गाउँपालिकामा रु. एक करोड ७० करोड ८२ हजार रुपैयाँ, अन्नपूर्ण गाउँपालिकाको रु. ६२ लाख ८७ हजार , धवलागिरी गाउँपालिकामा रु. एक करोड ५७ लाख आठ हजार, मालिका गाउँपालिकामा रु. एक करोड ३० लाख ५७ हजार र मंगलाको रु. एक करोड २५ लाख ९३ हजार बेरुजु थियो ।

बेनी नगरपालिका, रघुगंगा, मंगला र धवलागिरी गाउँपालिकाले बेरुजु नियन्त्रण र फस्यौटमा सुधार गरेका छन् । मालिका र अन्नपूर्ण गाउँपालिकामा बेरुजु उकालो लागेको छ । म्याग्दीको सदरमुकामसँगै रहेको पर्वतको जलजला गाउँपालिकाको रु. ८७ करोड २१ लाख २६ हजार लेखापरिक्षण गर्दा रु. असी लाख ९२ हजार बेरुजु देखिएको छ । ५८ औ प्रतिवेदनमा जलजलामा रु. ९९ लाख २६ हजार बेरुजु थियो । (यो समाचार आजको रिखार राष्ट्यि दैनिकमा प्रकाशन भएको छ ।)

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...