बेनी, । म्याग्दीको मंगला गाउँपालिका–२ नयाँबजारका बासिन्दाले निर्माण अलपत्र हुँदा हिलाम्मे बनेको सडकमा धान रोपाई गरेका छन् ।
म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्डमा पर्ने रणवाङ देखि दुखुखोला सम्मको सडक हिलाम्मे बनेको छ । नयाँबजारका बासिन्दा श्रीराम पौडेलले सडक अलपत्र बनाउने निर्माण व्यवसायीलाई दवाव र सरोकारवालाहरुको ध्यानाकर्षण गराउन सोमबार सडकमा रोपाई गरिएको बताउनुभयो ।
“अधुरो र अधकल्चो सडकमा हिलाम्मे, पानीका पोखरी जमेर आवत जावतमा सास्तीका साथै दुर्घटनाको जोखिम बढेको छ,” उहाँले भन्नुभयो “निर्माण र मर्मतका लागि कसैले वास्ता नगरेपछि बाध्य भएर सडकमै रोपाई गरिएको हो ।” रणवाङ, नयाँबजार र सहश्रधाराका २० जना भन्दा बढीले सडकमा सामुहिक धान रोपेर बिरोध जनाएका हुन् ।
पुर्बाधार बिकास कार्यालय म्याग्दीसँग मंगला गाउँपालिकाको लाम्पाटा देखि मालिकाको केन्द्र दरबाङ सम्मको ८ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता गरेको बिरुवा–क्याराभान जेभी तीन महिनादेखि सम्पर्कविहिन बनेका छन् ।
२०७८ बैशाख देखि मंसिर सम्म रोकिएको सडक निर्माणका लागि मुख्य ठेकेदारले हिमालयन विल्डर्सलाई सहायक ठेकेदारको रुपमा गत पुष महिनामा कार्यक्षेत्रमा परिचालन गरेका थिए । मुल ठेकेदारबाट भुक्तानी नपाउँदा सहायक ठेकेदार हिमालयनले गत वैशाखदेखि काम छाडेपछि सडक निर्माण अलपत्र बनेको हो ।
पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले फोन र पत्र मार्फत ताकेता गरिएपनि विरुवा–क्याराभानका प्रतिनिधीले काम सूचारु नगरेका बताउनुभयो । “निर्माण व्यवसायीलाई फोन र पत्र मार्फत ताकेता गरेका छौ,” उहाँले भन्नुभयो “मन्त्रालयमा जानकारी गराएर विरुवा–काराभानको जमानत जफतका लागि बैंकमा पत्राचार गरिएको छ ।”
बि.स.२०७६ जेठ ३१ गते रु. २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको आयोजना २०७८ जेठमा सकिनुपर्ने थियो । वि.स. २०७८ चैत महिनासम्म थपिएको सम्झौताको म्याद सकिएपनि समय थपका लागि समेत ठेकेदारले प्रक्रिया अघि बढाएका छैनन् । हालसम्म करिब ५५ प्रतिशत भौतिक प्रगति भएको छ ।
सहायक ठेकेदारले रणवाङ र रातोढुङ्गा क्षेत्रमा पर्खाल निर्माण तथा बलौटेमा म्याग्दी नदी नियन्त्रणका लागि किनारमा पर्खाल बनाएका थिए । सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपुर्ण यात्रा गर्नुपरेको मंगला गाउँपालिका–२ का जिवन कार्कीले बताउनुभयो ।
सडकमा थुपारिएको माटो, ढुङ्गा र खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ । लथालिङ्ग अवस्थामा रहेको सडकमा सवारी साधन सञ्चालन गर्न गाहे भएको यातायात व्यवसायी शक्ति छिनालले बताउनुभयो । विरुवा–क्याराभानका प्रतिनिधी सोमनाथ गौचनले बर्खापछि सडक निर्माणलाई तिव्रता दिने बताउनुभयो ।
बेनी–दरवाङ सडक पुर्बाधार बिकास कार्यालयले तीन वटा प्याकेजमा स्तरोन्नति गरिरहेको छ । लामा–समानान्तर जेभीले ठेक्का लिएको बेनी–सिम खण्डको १२ किलोमिटर ५०० मिटर दुरिको बेनी देखि सिम खण्ड कालोपत्रको अन्तिम चरणमा पुगेको छ ।
सिम–देखि लाम्पाटा खण्डको चार किलोमिटर सडक कालोपत्रे गर्न पुष १८ गते ओमबुद्ध निर्माण सेवा बसुन्धराले रु. १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता गरेको थियो । १८ महिनाको ठेक्का अवधी भएको ओमवुद्धले पहिलो चरणमा सडक विस्तारको काम थालेको छ ।
सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्र, नाली र पर्खाल निर्माण गर्न लागिएको हो । बि.स. २०६३ मार्ग खुलेको २४ किलोमिटर दुरीको बेनी–दरवाङ म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एकमात्र मार्ग हो । यो सडक बाग्लुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्छन् ।