म्याग्दीको कुन कुन ठाउँमा छ बाढी पहिरो र कटानको जोखिम ?

Gandaki Ghumau

बेनी । म्याग्दीका ४४ वटा बस्ती पहिरो र कटानको जोखिममा छन् ।

बेनी स्थित भू–तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले ३१ वटा बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा रहेका जनाएको छ । कार्यालयका सहायक भुसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले म्याग्दीको ३५७.९ हेक्टर जमिन भू–क्षयबाट प्रभावित भएको जानकारी दिनुभयो ।

“म्याग्दीबाट वार्षिक दुई हजार ५१९ दशमलब ७६ मेट्रिक्टन माटो भु–क्षयका कारण बगेर जाने गरेको छ,” उहाँले भन्नुभयो “माथिल्ला क्षेत्रमा पहिरो र भूक्षय हुदा नदीहरुमा बाढीको आयतन बढेर कटान हुने गरेको छ ।”

Shreekrishna

धवलागिरीको मराङ, लमसुङ, खोरीया, दर, ताकम, मालिकाको देविस्थान, बिम, जुकेपानी, छाप, रातोढुङ्गा, रुम, घोर्सी, दिच्याम गोगनपानी, दरवाङ, मंगलाको खर्सुपानी, हाँडेभिर, बेनी नगरपालिकाको सिंगा तातोपानी, भकिम्ली, पुलाचौर, भसभसे, घतान, पात्लेखेत, रघुगंगाको पाखापानी, दग्नाम, राहुघाट, कटुवालटोल, भगवति, रानीपौवा, पिप्ले, अन्नपूर्णको दोवा, घोस्केखोर, शिख तल्लोगाउँ र फगाममा पहिरोको जोखिम रहेको कार्यालयले जनाएको छ ।

Gunasthariya Shiksya

यसैगरी म्याग्दी, राहुघाट र कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेको दरवाङ, दुखुवेशी, सहश्रधारा, शेरफाँट, हाँडेभिर, पिपलचौतारी, पानावगर, काशेबगर, ताराखेत, सिंगा तातोपानी, बगरफाँट, गलेश्वर, भुरुङ्ग तातोपानीमा कटानको जोखिम भएको सहायक संरक्षण अधिकृत मिश्रले बताउनुभयो ।

मिश्रका अनुसार जोखिमयुक्त ठाउँबाट ४५ स्थानमा पहिरो नियन्त्रण, २५ स्थानबाट खोला किनार सरक्षण, ३२ स्थानबाट गल्छी संरक्षण र व्यक्तित घर, खेतबारी संरक्षणका लागि ७५ जनाको माग निवेदन आएको छ ।

कालीगण्डकी, राहुघाट र म्याग्दी नदीमा सहायक खोलाहरुबाट आउने बाढीले नदीको धार परिवर्तन गराउनु, सडक निर्माण गर्ने क्रममा भिरालो जमिन कटान गर्दा सडक भन्दा माथिको माटो तल फाल्नु र सोको व्यवस्थापन नगरिनु, सडकले गर्दा पुरापुर्वकालदेखि बग्दै आएको भलबाढी अनियन्त्रित हुनु र नदीमा बाढीको आयटन बढेर तटीय क्षेत्रमा कटान गर्ने समस्या रहेको सहायक संरक्षण अधिकृत मिश्रले बताउनुभयो ।

यसैबीच म्याग्दीमा मनसुनजन्य विपद् प्रतिकार्य योजना लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले मनसुनजन्य विपद्को जोखियुक्त स्थान पहिचान, सतर्कता, विपद्को अवस्थामा उद्धार, राहत र व्यवस्थापनका लागि विगतको अभ्यास र सरोकारवालाहरुको सुझावको आधारमा प्रतिकार्य योजना बनाएर कार्यान्वयन थालिएको बताउनुभये ।

उच्च जोखिममा रहेका बस्तीका मानिसलाई सुरक्षित ठाउँमा सार्न स्थलगत अध्ययन र जिल्लाका ६ वटै स्थानीय तहले कालीगण्डकी, म्याग्दी र रघुगंगा नदीको तटीय क्षेत्रमा बाढीको पुर्व सूचनाका लागि सम्पर्क व्यक्ति खटाउने प्रक्रिया थालिएको उहाँले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...