रघुगंगाको कुइनेमंगले बालश्रममुक्त वडा घोषणा

Gandaki Ghumau

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेलाई शुक्रबार बालश्रममुक्त वडा घोषणा गरिएको छ ।

घ्याँसीखर्कमा भएको समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर कुइनेमंगलेलाई बालश्रममुक्त वडा घोषणा गरेका हुन् । यो संगै रघुगंगा गाउँपालिकाको वडा नम्बर २ भगवति बाहेकका ७ वटा वडालाई बालश्रममुक्त वडा घोषणा गरिएको छ ।

गाउँपालिकाले बालश्रममुक्त स्थानीय तह घोषणा सम्बन्धि कार्यविधि २०७७ मा भएको व्यवस्था अनुसार, गाउँपालिकालाई बालश्रममुक्त पालिका बनाउने अभियान सञ्चालन गरेको थियो । आगामी सोमबार वडा नम्बर २ भगवतिलाई बालश्रमुक्त घोषणा गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । रघुगंगाको ११ औँ गाउँसभाले समेत कार्यपालिका बैठकको सिफारिस बमोजिम गाउँपालिकालाई बालश्रमुक्त पालिका घोषणा गर्ने निर्णय गरेको थियो ।

Shreekrishna

कुइनेमंगलेमा आयोजित समारोहमा वडाभित्र गरिएको सर्वेक्षणमा कुनैपनि बालबालिकाहरु बालश्रममा प्रयोग नभएको पाइएपछि आगामी दिनमा समेत बालबालिकाहरुलाई कानुन विपरितको श्रममा नलगाउने प्रतिबद्धता सहित वडालाई बालश्रममुक्त भएको घोषणा गरिएको जानकारी गराइएको थियो । कार्यक्रममा बालश्रमको जोखिममा रहेका ११ जना बालबालिकाहरुलाई झोला, पोशाक र स्टेशनरी लगायतका शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

Gunasthariya Shiksya

गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले बालश्रम सामाजिक अपराध भएकाले बालबालिकाहरुलाई कानुन विपरितको श्रममा लगाउन नहुने बताउँदै बालबालिकाहरुलाई आफ्नो परिवारसंग बस्न पाउने र शिक्षा लिन पाउने अधिकारको सुनिश्चित गराउन सबै सरोकारवालाले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । वडा अध्यक्ष गमान छन्त्यालल बालश्रममुक्त घोषणाको व्यवहारिक कार्यान्वयका लागि वडाका हरेक श्रम हुने क्षेत्रलाई निगरानी गरिने बताउनुभयो ।

गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सावित्रा सुवेदीले गाउँपालिकाले गरेको सर्वेक्षणको आधारमा बालश्रममा रहेका बालबालिकाहरु नभेटिएपनि बालश्रमको जोखिममा रहेका बालबालिकाहरु रहेकाले उनीहरुलाई बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले बालश्रमको जोखिममा रहेका बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्टेशनरी लगायतका सामाग्री सहयोग गर्ने र उनीहरुका अभिभावकलाई शिपमुलक तालिम दिएर स्वरोजगार बन्नतर्फ प्रेरित गर्ने पालिकाको योजना रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य यामकुमारी गोतामे, वडा सदस्य पृति गर्बुजा, नर प्रसाद छन्त्याल, रितुङ माविका प्रधानाध्यापक खिमबहादुर छन्त्याल, रघुगंगा आधारभुत विद्यालयका प्रधानध्यापक चन्द्रमान छन्त्याल, रिखार युवा क्लबका अध्यक्ष केशव छन्त्याल, आमा समुहका प्रतिनिधि बदेबि छन्त्याल, गाउँपालिका अध्यक्षका स्वकीय सचिब प्रकाश छन्त्याल लगायतले मन्तब्य राख्नुभएको थियो ।

गाउँपालिकाभित्रका ११ सय घरधुरी पहिचान गरि सर्वेक्षण गर्दा कुनैपनि बालबालिकाहरु बालश्रममा नरहेको तर १५० जना बालबालिका बालश्रमको जोखिममा रहेको पाईएको थियो । अभियानको क्रममा जोखिममा रहेका बालबालिकाहरुलाई झोला, पोशाक र शैक्षिक सामाग्री सहयोग गर्ने गरिएको छ भने उनीहरुका अभिभावकहरुलाई दिगो रोजगारितर्फ प्रेरित गर्न शिपमुलक तालिम सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

बालश्रममा कोहि पनि बालबालिका नहरेको आधार तयार भएपछि वडा समितिको सिफारिसमा वडा र कार्यपालिकाको सिफारिसमा गाउँसभा मार्फत पालिकालाई बालश्रमुक्त घोषणा गर्न सकिने प्रावधान रहेको छ । गाउँपालिकाले बालश्रम सामाजिक अपराध भएको र बालबालिकाहरुलाई कडा परिश्रम गर्नुपर्ने र कानुनले बन्देज लगाएको काममा लगाउन नहुने सन्देश सहितको चेतनामुलक ब्रोसर र होडिङ बोर्डहरु मार्फत समेत सचेतना जगाउने काम गरेको जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...