
नारच्याङ । हालै निर्माण सकिएको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला जलबिद्युत आयोजना प्रभाबित क्षेत्र म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङका जेष्ठ नागरिकहरुलाई शुक्रबार सम्मान गरिएको छ ।
म्रिस्तीखोलाको वातावरणीय इकाई इनर्जी रिसोर्सेज एण्ड सोलुसन प्रा.लीले वडा कार्यालयसँगको समन्वयमा ५२ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
गाउँपालिकाका उपाध्यक्ष केशमाया मगर, वडा अध्यक्ष चन्द्रप्रकाश फगामी, जिल्ला समन्वय समितिका सदस्य मेख गर्बुजा, इनर्जी रिसोर्सेस एण्ड सोलुसन प्रा.ली.का शंकर बस्याल लगायतले जेष्ठ नागरिकलाई सम्मान गर्नुभएको थियो ।


आयोजनाको तर्फबाट वडाका ८० वर्ष उमेर पुगेका सबै जेष्ठ नागरिकहरुलाई रु. पाँच सय पचास नगदको साथै दोसल्ला ओढाएर सम्मान गरिएको हो । यसैगरी शिवालय मन्दिर संरक्षण समितले पनि जेष्ठ नागरिकहरुलाई नगद सहित सम्मान गरेका थिए ।

नारच्याङको अन्नपूर्ण युवा क्लब र सिर्जनशिल आमा समूहले पनि जेष्ठ नागरिकहरुलाई मखमली फुलको माला लगाएर सम्मान गरेका थिए । जेष्ठ नागरिकहरुको अनुभव, सिप र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरणका साथै उनिहरुको सम्मानका लागि सन्देश प्रवाह गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको इनर्जी रिसोर्सेसका बस्यालले बताउनुभयो ।
माउन्टेन इनर्जि नेपाल प्रर्वद्धक रहेको म्रिस्तीखोला जलबिद्युत आयोजना निर्माणका क्रममा सामाजिक र वातावरणीय क्षेत्रसँग सम्बन्धित कार्यक्रम इनर्जी रिसोर्सेस एण्ड सोलुसन प्रा.ली मार्फत सञ्चालन भएको हो ।
म्रिस्तीखोला जलबिद्युत आयोजनाले आयोजना स्थलमा छुट्टै वातावरण इकाई स्थापना गरेर परामर्शदाता इनर्जी रिसोर्स एण्ड सोलुसन प्राली मार्फत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको थियो ।
हाइड्रो इञ्जिनियरीङ बिषयको पठनपाठन सञ्चालन गरेको प्रभा माबिमा तीन जना, क्रान्ति, निलगिरी, धवलागिरी र नारच्याङ आधारभूत बिद्यालयका प्राबी तहका एक÷एक जना निजी स्रोतका शिक्षकलाई सात वर्ष तलबभत्ता उपलब्ध गराएको थियो ।
नारच्याङ स्वास्थ्य चौकीको भवन निर्माणका लागि जग्गा खरिद गर्न रु. पाँच लाख, शिवालय मन्दिर निर्माणमा रु. पाँच लाख सहयोग गरेको म्रिस्तीखोलाले स्थानीयबासीलाई घरबास, च्याउ खेती, सवारी चालक, इलेक्ट्रिसियन सम्बन्धी तालिम प्रदान गरेको थियो ।


 
			
 
				
