म्याग्दी । दुई दिनदेखिको लगातारको बर्षातसँगै बेनी–जोमसोम सडक अवरद्ध हुँदा मुस्ताङ घुम्न जाने र त्यहाँबाट फर्कने पर्यटकहरु समस्यामा परेका छन् ।
७६ किलोमिटर दुरीको म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अन्नपूर्ण गाउँपालिका–३ काभ्रे, रघुगंगा गाउँपालिका–३ राहुघाट र बेनी नगरपालिका–८ जलेश्वरमा अवरुद्ध भएको छ ।
काभ्रेमा भासिएको सडक साधुरिएपछि ठुला बस र ट्रक फसेर जाम भएको म्याग्दी कोरला यातायात प्रा.लीका सञ्चालक मोहन केसीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका अनुसार जलेश्वर र राहुघाटमा खसेको पहिरोले हिलाम्मे भएर सवारी आवत जावत गर्न सकेका छैनन् ।
“सडक अवरुद्ध हुँदा मुस्ताङ जान हिडेका र फर्किएका हजारौ यात्रुहरु बिच बाटोमा अलपत्र परेका छन्,” केसीले भन्नुभयो “प्रतिकुल मौसम र सडकको जिर्ण अवस्थाले यात्रुलाई सास्ति भएको छ ।”
प्रहरी, बेनी–जोमसोम कोरला सडक आयोजनाका कर्मचारी र ठेकेदार कम्पनी शर्मा–गजुरमुखी र शर्मा–युनाइटेडले गाडी स्काभेटर, मजदुर परिचालन गरेर पहिरो पन्छाउने काम गरिरहेपनि निरन्तरको बर्षातले समस्या भएको छ ।
सोमबार नवआगन्तुक प्रजिअ चिरञ्जिवी राना र प्रहरी नायव उपरिक्षक श्यामकुमार राइको टोलीले बेनी जोमसोमक सडकका काभ्रे, रुप्से, गुइठे, राहुघाट, बेगखोला लगायत पहिरोको समस्या भएका ठाउँको निरिक्षण गरि आयोजना र निर्माण ब्यवसायीलाई मर्मत गरि नियमित यातायात सूचारु गराउने ब्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो ।
असोज ३० र ३१ गते आन्तरिक पर्यटकले भरिएका म्याग्दीको बेनी, भुरुङ्ग–तातोपानी, दाना लगायत ठाउँका होटलहरुमा बर्षात शुरु भएसँगै पाहुना घट्न थालेका छन् । पर्यटकीय याम र बिदाको समयमा सिर्जना भएको मौसमी प्रतिकुलताले पर्यटन तथा होटल ब्यवसायीलाई निराश बनाएको छ ।
यसैबीच म्याग्दीको धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक पनि अवरुद्ध बनेको छ । मालिका गाउँपालिका–६ बाङ्गेपहिरो र बेनी नगरपालिका–४ घुमाउने भिरमा खसेको पहिरो पन्छाउन पुर्बाधार बिकास कार्यालय मार्फत लामा–समानान्तर र बिरुवा–क्याराभान कम्पनीका उपकरण परिचालन भएका छन् ।
प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङका अनुसार सोमबार बिहानैदेखि अवरुद्ध बेनी–दरबाङ सडक मंगलबार दिउँसोसम्म खुलेको छैन् । बर्षातका कारण करिब चार महिनापछि खुलेका म्याग्दीका अन्य सडकहरु समेत अवरुद्ध हुँदा आवत जावत, ढुवानी र निकासी प्रभावित बनेको छ ।