बेनी । पुरानो पदमार्गलाई सडकले बिस्थापित गरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका नयाँ गन्तब्यको पहिचान र प्रर्वद्धनमा जुटेको छ ।
अन्नपूर्णको भूगोललाई समेटेको बिश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको अन्धगल्छी–तातोपानी–घार–शिख–घोडेपानी–पुनहिल खण्ड सडकले बिस्थापित र छोटिएको छ । सडकले छोटिएको पदयात्रा र पर्यटकको बसाई लम्बाउन नयाँ पर्यटकीय स्थल पहिचान, पूर्बाधार निर्माण र प्रर्वद्धनमा जोड दिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।
“कोभिड पछिको पर्यटनका लागि भर्जिन गन्तब्यहरु पहिचान गरेका छौ,” उहाँले भन्नुभयो “नयाँ गन्तब्यमा पुर्बाधार निर्माणसँगै प्रर्वद्धनमा जोड दिएका छौ ।” अन्नपूर्ण आधार शिविर जोड्ने “मौरिज हर्गोज”, खयर–खोपारा, नारच्याङ्ग र महभिर झरना, जलजले–फगाम–मोतिचौर बराह–धौलागिरी आधार शिविर, करबाकेली, बयली, मोहरेडाडा, प्यारीबाराही, कालीबराह ताल, फुलबारी, गुराँसपार्क, मुन्द्रा चढाउने डाडा, नागी, टिकोट, पाउद्धार, सेकार्कु, रातोपानी कुण्ड अन्नपूर्णका नयाँ पहिचान भएका गन्तब्य हुन् । संसारकै गहिरो अन्धगल्छी, रुप्से झरना, भुरुङ्ग– तातोपानी, घोडेपानी, पुनहिल, अन्नपूर्ण–धौलागिरी पर्यावरणीय सामुदायिक पदमार्ग अन्नपूर्णका स्थापित पर्यटकीय गन्तब्य हुन् ।
सामुदायिक लजको क्षमता विस्तार
प्राकृतिक दृष्य अवलोकन गर्न सकिने अन्नपूर्ण गाउँपालिकाको मोहरेडाडा र खोपारामा रहेको सामुदायिक लजको क्षमता बनाइएको छ । अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्ग अन्तरगत पर्ने दुई ठाउँमा २०÷२० जना क्षमताको लज थिए ।
पाहुनाको चाप बढेपछि मोहरेडाडाँमा गाउँपालिका र पर्यटन मन्त्रालयले रु. एक करोड पचास लाख लगानीमा तीन वटा र खोपारामा गण्डकी प्रदेश सरकारको रु. बीस लाख लगानीमा एक वटा आठ कोठे आश्रयस्थल भवन निर्माण भएको छ ।
क्षमता बिस्तार र सुबिधा थपेर सामुदायिक लजको स्तरोन्नति भएपछि मानब बस्ती देखि टाढा रहेको मोहरेडाडामा पर्यटकले बास नपाएर दुःख पाउने समस्या हटेको मोहरेडाडाको सामुदायिक लजका कर्मचारी नगेन्द्र गर्बुजाले बताउनुभयो ।
मौरिज हर्गोज पदमार्ग सञ्चालन
अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर आठ हजार मिटर भन्दा अग्ला हिमालमा पहिलो मानव पाइला पारेका फ्रान्सका मौरिज हर्गोजको नाममा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ देखि अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग सञ्चालन भएको छ । मौरिजको नामबाट नामाकरण भएको यस पदमार्गमा पर्यटन मन्त्रालयले रु. दुई करोड भन्दा बढी लगानीमा गत आर्थिक वर्षमा पदमार्ग बनाएको छ ।
पदमार्ग खुलेपछि आरोही र पर्यटकका खाद्यान्न, बन्दोबस्तीका सामान भरियाले लैजान थालेका छन् । यसअघि हेलिकप्टर चार्टर गरेर लैजानु पर्दथ्यो । आधारभूत स्तरको पदमार्ग, खोलामा पुल, बस्नको लागि आश्रयस्थल र नक्सा तयार पारिएको नारच्याङ–अन्नपूर्ण आधार शिविर जोड्ने मौरिज हर्गोज पदमार्गको प्रचारप्रसारका लागि गत वर्ष नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव सञ्चालन भएको वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताउनुभयो ।
गुराँस पार्क स्थापना
राष्ट्रिय फुल गुराँसको संरक्षण र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले अन्नपूर्ण गाउँपालिका–७ फुलबारीमा गुराँस पार्क (उद्यान) स्थापना गरेको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५, ६, ७ र ८ मा पर्ने बयली, घोडेपानी, फुलबारी, मोहरेडाडा क्षेत्रमा गण्डकी प्रदेशमै ठूलो लालीगुरासँको जंगल भएको दावी गरिएको छ ।
डिभिजन बन कार्यालय म्याग्दीको रु. दश लाख अनुदान सहयोगमा नेसरानी सामुदायिक बन उपभोक्ता समुहले २० रोपनी पाखो सम्माएर घेराबार गरि नेपालमा पाइनै सबै ३१ प्रजातिका गुराँसको बगैचा र सूचना केन्द्रका लागि परम्परागत शैलीको गोलघर र सार्वजनिक शौचालय निर्माण गरी पार्क बनाएका हुन् । समुहका अध्यक्ष लालबहादुर गर्बुजाले गुराँसको अध्ययन तथा सूचना केन्द्रको रुपमा बिकास गर्ने लक्ष्य राखिएको पार्कबाट पृष्ठभूमिमा हिमशृङखलाको मनोरम दृष्य अवलोकन गर्न सकिने बताउनुभयो ।
साइकल र घोडा मार्ग
अन्नपूर्ण–६ मा पर्ने घोडेपानीदेखि वडा नं ७ को प्यारीबाराही ताल जोड्ने साइकल, पोन्नी “ट्रेल” (घोडा मार्ग) निर्माण भएको छ । उपभोक्ता समितिका अध्यक्ष सुशील पुनले प्रदेश सरकारको रु. २० लाख सहयोगमा गत आर्थिक वर्षमा फरक–फरक ठाउँमा डेढ मिटर फराकिलो तीन÷तीन किलोमिटरको साइकल र घोडा मार्ग निर्माण गरेको जानकारी दिनुभयो ।
“मार्गको कालीसारमा चरा अवलोकन स्थल र भालखारामा पर्यटक चढ्ने घोडा बाँध्ने तबेला निर्माण भएको छ,” उहाँले भन्नुभयो “घोडेपानीबाट पर्यटकहरु घोडा र साइकल दुवै चढेर प्यारीबाराही ताल जान तथा आउन सक्छन् ।” जङ्गलको बीचमा करिब २०० मिटर लम्बाइ र १०० मिटर चौडाइमा गोलो आकारमा फैलिएको हिमालको छायाँ देखिने तालमा जनैपूर्णिमा पर्वमा पूजाआजा गरेमा मनोकाङक्षा पूरा हुने विश्वास छ ।
घोडेपानी–पुनहिलमा पुर्बाधार थपियो
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालये नेपालका एक सय वटा स्थापित पर्यटकीय गन्तब्यमा सूचिकृत गरेको घोडेपानी–पुनहिल क्षेत्रमा निजी क्षेत्र, समुदाय र सरकारी तबरबाट करोडौका पुर्बाधार निर्माण भएका छन् ।
चित्रे हुदै घोडेपानी जोड्ने चार किलोमिटर सडक ग्राभेल भएको छ । पोखरेबगर देखि चित्रे जोड्ने १८ किलोमिटर सडक कालोपत्रे गर्न रु. २७ करोडको आयोजना सञ्चालन गरेको छ ।
घोडेपानी र त्यहाँदेखि दृष्य अवलोकन स्थल पुनहिल जाने पदमार्गमा २३ वटा सोलार बक्ति जडान गरेर रातको समयमा उज्यालो बनाइएको छ । पानी र हिउँ परेको अवस्थामा सुरक्षित रुपमा बसेर दृष्य अवलोकन गर्ने सुबिधाका लागि पुनहिल परिसरमा तीन कोठे आश्रयस्थलको पक्कि भवन निर्माण भएको छ । घोडेपानीको मगर संग्रहालयको पक्की भवन निर्माण भएको छ ।
पुनहिल हुदै मोहरे, घोडेपानी देखि चित्रे, खिवाङ र घान्दु्रक तर्फ जाने करिब दुई किलोमिटर पदमार्ग निर्माण भएको छ । घोडेपानीका ब्यवसायीले सहरबजारमा जस्तै पक्कि घर र होटललाई सुबिधायुक्त बनाउने प्रतिस्पर्धा चलेको छ । छ वर्षअघि घोडेपानीका होटलको क्षमता दैनिक पाँच सय जनाको हाराहारीमा थियो । होटलको क्षमता बढाएर एक हजार जना भन्दा बढी पु¥याएको होटल ब्यवस्थापन उपसमितिका उपाध्यक्ष मिना पुनले बताउनुभयो ।
नयाँ पदमार्गमा पुर्बाधार
पाउद्धार पर्यटन सहकारी संस्था मार्फत कालीगण्डकी नदी किनारमा रहेको पाउद्धार तातोपानी कुण्ड देखि भालखरा, खोपारा, खयर ताल, खोपारा, लरेनी हुदै पाउद्धार जोड्ने पाँच दिनको पदमार्गको अध्ययन र आधारभूत पुर्बाधार निर्माण सुरु भएको छ ।
पर्यटनको लाभ समुदायमा पु¥याउन नेपालमै पहिलो पटक नयाँ अबधारणामा खोपारामा ४० जना क्षमताको होटल सञ्चालन गरेको छ । गाउँपालिकाले बिनियोजन गरेको रु. बिस लाख बजेटबाट गत आर्थिक वर्षमा खोपारा, खयर, ढाडखर्क, किन्दु क्षेत्रमा पदमार्ग निर्माण भएको वडा अध्यक्ष राजेश तिलिजाले बताउनुभयो ।
रघुगंगा गाउँपालिका स्थित धौलागिरी हिमालको दक्षिणी आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेर गत आर्थिक वर्षमा रु. दश लाख बजेटबाट जलथले देखि फगाम सम्म एक किलोमिटर ५०० मिटर पदमार्ग निर्माण भएको छ । दानाका बासिन्दाले भेडाबाख्रा र गाइभैसीको गोठ लेक–बेशी गराउन प्रयोग गरेको परम्परागत बाटोलाई पर्यटन पदमार्गमा रुपान्तरण गर्न लागिएको हो ।
पदमार्गमा पर्ने धार्मिक स्थल मोतिचौर बराहमा गाउँपालिका र समुदायको रु. बीस लाख लगानीमा १०८ धारा निर्माण भएको छ । भुरुङ्ग–तातोपानीमा आउने पर्यटकको बसाई लम्बाउन मान्द्रेढुङ्गा हुदै बराह गुफा देखि तीन हजार चार सय मिटर उचाईमा अवस्थित मुन्द्रा चढाउने डाडा सम्म जोड्ने पदमार्ग निर्माण भएको छ ।
वडा अध्यक्ष ओमप्रकाश फगामीले आर्थिक वर्ष २०७७÷७८ मा गाउँपालिकाले बिनियोजन गरेको रु. दश लाख बजेटबाट दुई किलोमिटर पाँच सय मिटर पदमार्ग निर्माण भएको जानकारी दिनुभयो । प्राकृतिक उपचार र पर्यटकीय स्थलको रुपमा बिकास गर्न पोखरेबगरको रातोपानी, पाउद्धार र भुरुङ्गको तातोपानी कुण्डमा स्नान स्थल, नदी नियन्त्रण, पोखरी र टहरा निर्माण गरेको छ ।
गत आर्थिक वर्षमा रु. १७ लाख ७४ हजार लगानीमा रातोपानी कुण्डको कालीगण्डकी किनारमा पक्कि पर्खाल र शरिर डुबाएर स्नान गर्न सकिने पोखरी बनाएर ट्रस पाइप राखेर जस्ताले छाइएको छ । गाउँपालिकाका इञ्जिनियर ईश्वर भण्डारीले पाउद्धार तातोपानी कुण्डमा रु. १४ लाख ६८ हजारमा दुई वटा पोखरी, भित्तामा टायल राखने र ट्«सले छाएको टहरा निर्माण भएको जानकारी दिनुभयो ।
पाउद्धार तातोपानी कुण्ड ब्यवस्थापन तथा संरक्षण समितिले थप नयाँ टहरा, सानो पोखरी, विश्राम स्थल, शौचालय र पोखरीको भुईमा ढुङ्गा बिछ्याएको छ । दोवाको सेकार्कु तातोपानी कुण्ड संरक्षण र त्यहाँसम्म पुग्ने सडक तथा पदमार्ग निर्माण भएको छ । गत आबमा गाउँपालिकाको रु. पाँच लाख सहयोगमा भुरुङ्ग–तातोपानी कुण्डमा स्नान स्थल, तातोपानीको मुहान संरक्षण र पोखरी परिसरमा घेराबारलाई ब्यवस्थित गरिएको छ । नयाँ पर्यटकीय गन्तब्य स्थलको रुपमा परिचित नारच्याङ झरनाको फेदी सम्म पुग्ने पदमार्ग निर्माण भएको छ ।
संग्रहालय तयार
अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा म्याग्दीको पहिचान झल्काउने संग्रहालय स्थापना भएको छ । समितिका संरक्षक चामबहादुर पुनले लोप हुन लागेका परम्परागत सामग्रीको संरक्षण र पर्यटन बिकास गर्ने उद्देश्यले चन्दा सहयोग जुटाएर संग्रहालय स्थापना गरिएको बताउनुभयो ।
‘‘कला, संस्कृति, जनजिवन र पहिचान झल्काउने सामग्रीहरुलाई लोप हुन नदिन संरक्षणका साथै पर्यटक भित्र्याउने उद्देश्य राखेका छौ,’’ उहाँले भन्नुभयोे ‘‘दैनिक जिवन, रितिरिवाज, संस्कृति र रहनसहनमा आधारीत सामग्रीहरु संकलन गरेर राख्न थालेका छौ ।’’
संग्रहालय स्थापना गर्न करबाकेलीमा परम्परागत शैली र प्रबिधिको प्रयोग गरेर दुई तले भवन निर्माण भएको छ । ढुङ्गा, माटो, चुना, सिमेन्ट, बालुवा, काठ प्रयोग गरेर भौलिकता झल्कने आकर्षक दुई तले भवन निर्माण भएको हो । भवन निर्माण र सामग्री खरिदमा हालसम्म करिब रु. ६८ लाख खर्च भएको करबाकेली संरक्षण समितिले जनाएको छ ।