छ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

Gandaki Kotihome

बेनी । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा खसेको पहिरो र स्थानीयबासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द भएको थियो ।

मुस्ताङका जनप्रतिनिधी, दुबै जिल्लाका प्रशासन, सुरक्षा निकाय र बेनी–जोमसोम–कोरला सडक आयोजनाको पहलमा स्थानीयबासीसँग सहमति गरेर सडक मर्मत गरी शनिबार साँझदेखि यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

सडक बिस्तारका क्रममा पहिरोले क्षति पु¥याएको जग्गा जमिनको क्षतिपुर्ति र जोखिममा परेको बस्ती संरक्षणको माग गर्दै काभ्रेका बासिन्दाहरुले सडक मर्मत र निर्माणमा अवरोध गरेका थिए । म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले आयोजनाले सडक बिस्तारको क्रममा क्षति पुगेको जग्गाको मूल्याङ्कन गरी क्षतिपुर्ति उपलब्ध गराउने र जोखिममा परेको बस्ती संरक्षण गर्ने प्रतिवद्धता जनाएपछि सहमति जुटेको बताउनुभयो ।

Annapurna aarohan ko notice

मुस्ताङका प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकाली, चन्द्रमोहन गौचन, प्रजिअ श्रीनाथ पौडेल, म्याग्दीका प्रजिअ गणेशबहादुर अधिकारी, सेनानी केशव सिलवाल, प्रनाउ राई, सशस्त्र प्रहरी नायब उपरिक्षक हरिबहादुर गुरुङ, राष्ट्रिय अनुसन्धानका अनुसन्धान अधिकृत महेश गुरुङ सहितको उपस्थितिमा शुक्रबार काभ्रेमा छलफल भएको थियो ।

पहिरोले काभ्रेमा करिब १५ मिटर सडक भासिएको, स्थानीयको खेतीयोग्य जमिन बगेको र १५ घर जोखिममा परेका स्थानीय खड्क खत्रीले बताउनुभयो । जग्गाको क्षतिपुर्तिका लागि तत्कालै प्रक्रिया अघि बढाउने र बर्खा लगत्तै संरक्षणको काम गर्ने सडक आयोजनाले प्रतिवद्धता जनाएको छ ।

बेनी–जोमसोम सडक अवरुद्ध हुदै म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लाका स्थानीयबासीहरु समस्यामा परेका थिए । आवत आवतका लागि गाडी परिवर्तन गर्नुपर्ने झञ्जट थियो । ढुवानी र निकासी ठप्प बनेको थियो । बिरामीलाई अस्पताल लैजान समस्या भएको थियो ।

मर्मतपछि सडकमा रोकिएका सवारी साधनहरु गन्तब्यतर्फ लागेका छन् । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक पहिरोका कारण पटक पटक अवरुद्ध हुँदा सास्ती भएको छ । म्याग्दीको राहुघाट, बेगखोला, रुप्सेखोला र काभ्रेभिरमा सडक अवरुद्ध हुने गरेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...