बेनी, गण्डकी प्रदेशको दुई हजार २९७ हेक्टर क्षेत्रफलमा फैलिएको म्याग्दीमा छ वटा स्थानीय तह र ४५ वटा वडा छन् । धवलागिरी गाउँपालिकाको गुर्जा र लुलाङ बाहेकका ४३ वटा वडामा बिकासको मुख्य पुर्बाधार मानिएको सडक यातायात सुबिधा पुगेको छ । बि.स. २०७५ मा गण्डकी प्रदेश सरकारको भौतिक पुर्बाधार, सहरी बिकास तथा यातायात ब्यवस्था मन्त्रालय अन्तरगत बेनीमा स्थापना भएको पुर्बाधार बिकास कार्यालयले म्याग्दीमा सडक निर्माण, मर्मत, स्तरोन्नति, मोटरेबल पुल, झोलुङ्गे पुल, सरकारी भवन निर्माण तथा मर्मत सम्भार सम्बन्धी आयोजना, निर्बाचन पुर्बाधार बिकास कार्यक्रम र जनता आवास कार्यक्रम सञ्चालन गरेको छ । आर्थिक वर्ष २०७७÷७८ मा प्रदेशका ५५, निर्वाचन पुर्बाधार बिकास कार्यक्रमका ५०, संघीय शसर्त अनुदानका ७ गरि कुल ११२ र जनता आवास कार्यक्रमका १३७ वटा योजना सञ्चालन भएका कार्यालय प्रमुख नवराज पौडेलले बताउनुभयो ।
संघबाट हस्तान्तरण भएको बेनी–गलेश्वर सडक आयोजनाको कालीपुल खण्डमा ५८० र गलेश्वर बसपार्क क्षेत्रमा ११० मिटर दुरिमा डिबिएसडी प्रबिधीको कालोपत्रे भएको छ । यो सडकको जलेश्वरमा कालीगण्डकीले कटान गरेको ठाउँमा ग्यावीयन पर्खाल निर्माण गरेर संरक्षण, ग्रेड र लेबल मिलाउने काम भएको छ । बागलुङ–बेनी सडकको रत्नेचौर देखि बेनी खण्डमा कालोपत्रे गर्न दुई वटा प्याकेजमा ठेक्का लगाइएको छ । ९० प्रतिशत काम सकिएको रत्नेचौर देखि खबरा खण्डमा गरिएको कालोपत्रेमा सेकेण्ड कोट हाल्ने र पहिरोले क्षति पुगेको ठाउँमा मर्मत गर्न बाँकी छ । खबरा देखि म्याग्दीखोला पुल सम्मको सडक कालोपत्रे गर्न कटिङ, पर्खाल र नाली निर्माण भइरहेको छ । बेनी–दरबाङ सडकको बेनी देखि सिम सम्मको पहिलो प्याकेज अन्तरगत भ्याउनीखोला देखि तातोपानी खण्डको अधिकांश ठाउँमा फराकिलो बनाउने, नाली र पर्खाल लगाएर सब बेस राखिएको छ । प्रदेश सभाको क्षेत्र (ख) मा पर्ने बेनी–दरबाङ सडकको लाम्पाटा देखि दरबाङ खण्डमा एक निर्वाचन क्षेत्र एक सडक आयोजना मार्फत काम भइरहेको छ । ५० प्रतिशत भौतिक प्रगति भएको लाम्पाटा–दरबाङ खण्डमा सडक बिस्तार गर्ने, नाली र पर्खाल निर्माण भइरहेको छ । सिम देखि लाम्पाटा खण्डको सडक कालोपत्रे गर्न ठेक्का प्रक्रिया अघि बढेको छ । प्रदेश सभाको क्षेत्र (क)को रघुुगंगा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवति–बेगखोला सडक आयोजनाको ४५.५० भौतिक प्रगति भएको छ । पिप्ले देखि भगवति सम्म करिब ६ किलोमिटर सडक बिस्तार, नाली र पर्खाल निर्माण सकेर कालोपत्रेका लागि सब बेस राख्ने तयारी अवस्थामा छ । यसको प्रवेश बिन्दुको दुई किलोमिटर सडक निर्माणमा पहिरोका कारण समस्या देखिएकाले एलाइनमेन्ट परिवर्तनको प्रस्ताव गरिएको इञ्जिनियर सन्तोष अर्यालले बताउनुभयो ।
मालिकाको दरबाङ देखि धवलागिरीको मुना जोड्ने सडकको दरबाङ देखि धारापानी सम्मको सात किलोमिटर सडक ग्राभेल गर्न स्तरोन्नति भइरहेको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने संसारीखोलामा १६ मिटर लामो सडक पुल निर्माण सकिएको छ । बेनी–दरबाङ सडक अन्तरगत मालिका र मंगला गाउँपालिकाको सिमाना दुखुखोला र अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ को स्वातखोलामा मोटरेबल पुल निर्माणलाई पुर्णता र मर्मत सम्भारलाई निरन्तरता दिएको छ । मालिका र धवलागिरी गाउँपालिकाको सिमानामा बन्न लागेको ४० मिटर लामो भारबाङ खोला मोटरेबल पुलको ६५ प्रतिशत र अर्कलाकोे मराङखोलामा निर्माणाधिन २५ मिटर लामो पुलको ४० प्रतिशत प्रगति भएको छ । सम्झौता हुँदाको बर्ष दरबाङ म्याग्दीखोला जलबिद्युत आयोजनाको बाँधको डुबान क्षेत्र पर्ने भएकाले रोकिएको दाङखोलाको मोटरेबल पुल निर्माण स्थलमा २०७७ बर्खाको बाढीले क्षति पु¥याएपछि रिडिजाइन गरि भेरीयसन अर्डर तयार गरि निर्माण सुरु गर्ने तयारी भएको छ । मालिका गाउँपालिकाको छ्यारछ्यारेमा ४० मिटर लामो ट्रस प्रबिधिको मोटरेबल पुलको दुई तर्फ फाउण्डेशन खनिएको छ ।
मंगला गाउँपालिकाको पोक–नेटा–अर्मन–किमचौर हुदै बागलुङ ताराखोला जोड्ने सडकको पोक–नेटा खण्डमा सडक बिस्तार, ग्यावीयन पर्खाल निर्माण र ग्रेड तथा मोड सुधार भएको छ । दरबाङ–बिम–भारबाङ–ताकम–मुना–लमसुङ–गुर्जा सडक अन्तरगत धवलागिरी गाउँपालिकाको महतला भिरमा ट्याक खोल्न रक कटिङ भएको छ । दरबाङ–बिम–मराङबेशी–मल्कवाङ–ठाडाखानी सडकको अर्कला–मराङ खण्डमा संरचना बनाउने र मल्कबाङ–कुइने खण्डमा नयाँ ट्याक निर्माण, पिप्ले–मौवाफाँट–दग्नाम–चिमखोला–कुइनेमंगले सडकको घ्यासीखर्क–पात्लेखर्क खण्डमा संरचना निर्माण, बेनी–अर्थुङ्गे–घतान–तोरीपानी–पाखापानी सडकको पिपलबोट खण्डमा ढलाल र नाली निर्माण भएको छ । अर्थुङ्गे–बाँसबोट–पुलाचौर–पुर्णगाउँ–कुहुँ सडकको अर्थुङ्गे खण्डमा कटिङ, ढलान, नाली र पर्खाल निर्माण भएको छ । रत्नेचौर–ज्यामरुककोट–भकिम्ली–बरंजा– सडकको भकुण्डेमा ढलान, तोराखेतमा ग्यावीयन पर्खाल र पोखरेबगर–पाउद्धार–किन्दु–स्वाँता सडकको नेपाने खण्डमा पर्खाल निर्माण र फराकिलो बनाइएको छ ।
प्रदेश सरकार र गाउँपालिकाको सहलगानीमा मालिका गाउँपालिकाको दरबाङ छ्यारछ्यारेमा बहुउद्देश्यिय सभाहल निर्माण भएको छ भने रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सभाहल निर्माणाधिन छ । अग्ला पहाड र खोलाले विभाजन गरेका बिभिन्न बस्तिलाई जोड्न झोलुङ्गे पुल निर्माण भएका छन् । रघुगंगा गाउँपालिकाको पाखापानी स्थित घोप्टेखोलामा २६५ मिटर लामो, मंगला गाउँपालिकाको अर्मनको खोलाखर्कमा १७२ मिटर लामो, चिमखोलामा ७५ मिटर लामो र मंगलाको सिमलचौर लुलीयाघाटमा ६८ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । अन्नपूर्ण गाउँपालिकाको पाउद्धार–तातोपानी झोलुङ्गे पुल डिपिआर अनुसार कार्यक्षेत्र उपयुक्त नभएकाले मंगला गाउँपालिकाको सिम–सातबिसे जोड्ने म्याग्दी खोलामा स्थानान्तरण गर्न लागिएको छ ।
आर्थिक वर्ष २०७७÷७८ मा पुर्बाधार बिकास कार्यालय म्याग्दीले प्रदेशको दुई वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुर्बाधार बिकास कार्यक्रमका ५० वटा आयोजना सञ्चालन गरेको थियो । सडक, मोटर पुल र झोलुङ्गे पुल निर्माण योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्दै आएकोमा पुर्बाधार बिकास कार्यक्रम उपभोक्ता समिति मार्फत कार्यान्वयन भएका हुन् । भवन, सडक, नदी नियन्त्रण, पदमार्ग, खेलमैदान, सिचाई, कृषि उपज संकलन केन्द्रको भवन, मन्दिर निर्माण लगायतसँग सम्बन्धित दुई वटै निर्वाचन क्षेत्रका पुर्बाधार बिकास कार्यक्रमका सबै योजना कार्यान्वयन भएका छन् । संघीय सरकारले गत आर्थिक वर्षको अन्तिममा प्रदेश सरकार मातहतको पुर्बाधार बिकास कार्यालयलाई जनता आवास कार्यक्रम हस्तान्तरण गरेको थियो । म्याग्दीका १३७ जनाले सम्झौता गरेकोमा ११५ वटा घर निर्माण सकिएको छ । २२ वटा घर निर्माणको अन्तिम चरणमा छन् । राष्ट्रिय दलित आयोगमा सूचिकृत दलित समुदायका घर बिहीनले मापदण्ड अनुसार दुई कोठे घर बनाउन तीन लाख पचास हजार रुपैयाँ अनुदान उपलब्ध गराउने ब्यवस्था छ । आर्थिक वर्षको अन्तिम दिन आएको जनता आवासको एक करोड रुपैयाँ भन्दा बढी बजेट लाभग्राहीको खातामा तत्कालै पठाइएको लेखा अधिकृत त्रिबिक्रम शर्माले बताउनुभयो ।
२०७७ माघ महिनादेखि पुर्बाधार बिकास कार्यालय, म्याग्दीले सवारी साधनको अस्थाई रुट परमिट जारी गर्न थालेपछि बाहिरी जिल्लाबाट आउने र यहाँबाट बाहिर जाने सवारी साधनका लागि अस्थाई रुट परमिट लिनका लागि यातायात ब्यवस्था कार्यालय बागलुङ पुग्नुपर्ने समस्या हटेको छ । २ वटा मोटरेबल पुल, १ सडक र १ झोलुङ्गे पुलको बिस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा कुल ४८ करोड ४७ लाख ९६ हजार रुपैयाँ बिनियोजन भएकोमा ७१.९० प्रतिशत अथवा ३४ करोड ७७ लाख ५१ हजार ४८७ रुपैयाँ खर्च भएको छ । उपभोक्ता समिति, निर्माण ब्यवसायी र आपुर्तिकर्तालाई बिद्युतीय माध्यमबाट भुक्तानी गर्ने ब्यवस्था मिलाइएको छ । संघबाट हस्तान्तरण भएका आयोजनाहरु रुग्न अवस्थाका हुनु, कमजोर भू–बनोट, डिपिआर फिल्ड अनुसार ब्यवहारिक नहुने, समयमै बजेट र दरबन्दि अनुसार कर्मचारीको अभाव, आफ्नै कार्यालय भवन र आवश्यकता अनुसार सवारी साधन नहुनु म्याग्दीमा पुर्बाधार बिकास कार्यालय मार्फत योजना सञ्चालनका क्रममा देखिएका चुनौति हुन् । म्याग्दी जस्तो कमजोर भौगोलिक बनावट भएको जिल्लाको हकमा सडक तथा पुल आकस्मिक मर्मतलाई बजेट ब्यवस्था, सडक मापदण्ड तय गर्दा सकभर चौडाई धेरै नराख्ने, डिपिआर गर्ने परामर्शदातालाई जिम्मेवार बनाउनुपर्ने र जुन निर्माण ब्यवसायीले सम्झौता गरेको हुन्छ उसैले काम गर्नुपर्ने नीतिगत ब्यवस्था मिलाउन सकेमा पुर्बाधार बिकासका योजना कार्यान्वयन थप प्रभावकारी बन्ने देखिन्छ ।