रामकुमार खड्का
जलविद्युत आयोजना निर्माण, सञ्चालन तथा कार्यान्वयनको लागि विभिन्न पक्षहरु सम्बद्ध रहेका हुन्छन् । आयोजना निर्माण, सञ्चालन तथा कार्यान्वयनको तहमा मुख्यतया सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकलको साथै वातावरण व्यबस्थापन युनिट आयोजनासँग सम्बद्ध रहेका हुन्छन् । यि भन्दा बाहेक पनि आयोजनाले आबश्यकता अनुसार कामको प्रकृति अनुसार अन्य पक्षलाई पनि समेटेको हुन्छ । यि सम्पूर्ण पक्षको सक्रीयता र भूमिका बाटनै आयोजनाको सफल निर्माण र कार्यान्वयन हुन सक्दछ । यि विभिन्न पक्षहरु मध्ये वातावरणीय व्यबस्थापन आयोजनाको सफलतासंग जोडिएको महत्वपूर्ण एक पक्ष हो भन्न सकिन्छ । आयोजनाको सफलतासंग जति प्राविधिक पक्षको सरोकार रहन्छ, त्यत्तिकै वातावरणीय पक्षको पनि भूमिका रहन्छ ।
वातावरण व्यबस्थापनका योजना तथा कार्यक्रम संचालन गर्नको लागि आयोजनाबाट वातावरण व्यबस्थापन युनिट खडा गरिनु पर्दछ । वातावरण व्यबस्थापन युनिटको व्यबस्था आयोजनाबाट तयार पारिएको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनमा नै गरिएको हुन्छ । जुन प्रतिवेदन नेपाल सरकारको निकायबाट स्विकृत प्रमाणीकरण गरिएको दस्तावेज हो । वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन जसलाई चलन चल्तीमा इआईए रिपोर्ट भनिन्छ । यसको कार्यान्वयनको पहिलो चरणमानै वातावरण व्यबस्थापन युनिट स्थापना गरिनु पर्दछ । के यसको कार्यान्वयन सम्पूर्ण निर्माणाधिन आयोजनाले गरेका छन् ?
हालको अबस्थामा नेपाल विद्युत प्राधिकरणले यसको कार्यान्वयन गरेको पाइन्छ । नेपाल विद्युत प्राधिकरणले सामाजिक तथा वातावरण विभाग स्थापना गरी आफ्नो मातहतका आयोजनाहरुबाट इआईए प्रतिवेदन कार्यान्वयन गराएको पाइन्छ । आयोजना निर्माणको सिलसिलामा आयोजना प्रभावित क्षेत्रमा वातावरणीय व्यबस्थापनका कार्यहरु गर्नको लागि मातहतका आयोजनाहरुले सामाजिक तथा वातावरण युनिट स्थापना गरेका छन् । त्यसैगरी अन्तराष्ट्रिय सहयोगबाट संचालित आयोजनाहरुले पनि सामाजिक तथा वातावरण युनिटको व्यबस्था गरेका छन् । नीजि क्षेत्रबाट संचालित थोरै आयोजनाले मात्रै वातावरण व्यबस्थापन युनिट स्थापना गरेका छन् । जलविद्युत आयोजना निर्माण तथा सञ्चालनको लागि यसको आबश्यकता र औचित्य छ कि छैन ? किन सम्पूर्ण निर्माणाधिन आयोजनाहरुले वातावरण व्यबस्थापन युनिटको स्थापना गरेका छैनन् ? के वातावरण व्यबस्थापन युनिट विना आयोजना सफल हुन्छ ? वातावरण व्यबस्थापन युनिट स्थापना नहुुनुका कारण के हुन सक्दछ ? यसै सन्दर्भमा जलविद्युत आयोजना निर्माण, सञ्चालन तथा कार्यान्वयनको लागि वातावरण व्यबस्थापन युनिटको औचित्य र आबश्यकताको बारेमा विचार विमर्श हुन जरुरी भएको छ ।
यो सवालमा आयोजना प्रबद्र्धकहरुनै प्रमूख रुपमा जिम्मेवार छन् । प्रबद्र्धकहरुलाई वातावरण व्यबस्थापन योजना र कार्यक्रम कार्यान्वयनको लागि वातावरण व्यबस्थापन युनिट आबश्यकताको महशुस नहुन सक्दछ । वातावरण व्यबस्थापनको लागि गरिने कार्यक्रम तथा खर्च अनाबश्यक लाग्न सक्दछ । प्रबद्र्धकहरुले वातावरणीय पक्षलाई कम प्राथमिकतामा राखेको हो कि ? वातावरण व्यबस्थापनका योजना र कार्यक्रम कार्यान्वयनको लागि वातावरण व्यबस्थापन युनिटको व्यबस्था इआईए प्रतिवेदनमा गरिएतापनि स्थानीयस्तरमा युनिटकोे व्यबस्था नगरिनु, इआईए प्रतिवेदनमा उल्लेखित कार्यक्रम र खर्च नगरिनु सोझै कानुनको बर्खिलाप हो । इआईए प्रतिवेदनको उल्ङ्घन हो । यसमा नियमनकारी निकायको ध्यान जान जरुरी छ ।
आयोजनाबाट वातावरण व्यबस्थापन युनिटको व्यबस्था गर्नु पर्ने सम्बन्धमा स्थानीय जो जो आयोजनाबाट प्रभावित छन्, उनीहरुनै दोधारमा रहेका छन् । यसको बारेमा स्थानीयहरुमा एकखाले भ्रम रहेको पाइन्छ । उनीहरुले वातावरण व्यबस्थापन युनिट भनेको आयोजनाकै परिपुरक संस्थाको रुपमा बुझेका छन् । उनीहरुमा वातावरण व्यबस्थापन युनिटले आयोजनाको एकलौटी पक्षपोषण गर्दछ भन्ने भ्रम रहेको पाइन्छ । यस विषयमा प्रष्ट हुन आबश्यक छ कि वातावरण व्यबस्थापनको कार्य आयोजना स्वयंले गर्दैन । यसको लागि आयोजनाले रजिष्टर्ड परामर्शदाता संस्थालाई जिम्मा दिएको हुन्छ । परामर्शदाता संस्थाको मुख्य कार्य भनेको आयोजना र स्थानीयहरुको बीचमा पुलको रुपमा काम गर्नु हो । यसले आयोजनाको मात्रै पक्षपोषण गर्दैन । यसले त इआईए प्रतिवेदनमा व्यबस्था भएका कार्यक्रमहरु कार्यान्वयन गरी स्थानीयहरुकै हितमा काम गरिरहेको हुन्छ । सामाजिक विकासका कार्यक्रमहरु लागु गरी ग्रामीण समृद्धी र विकासमा सहयोग पु¥याइ रहेको हुन्छ । नियमित वातावरणीय अनुगमन गरी वातावरणीय असर न्युनीकरणका कार्यक्रमहरु गरिरहेको हुन्छ । जैविक, भौतिक वातावरणीय असर न्युनिकरण र सामाजिक, साँस्कृतिक तथा आर्थिक जीवनमा सुधार ल्याउनको लागि इआईए प्रतिवेदनमा तोकिएका विभिन्न कार्यक्रम संचालन गर्दछ । आयोजना प्रभावित स्थलका स्थानीयहरुलाई विभिन्न सिप विकास तालिम प्रदान गरी स्थानीयस्तरमानै रोजगारीको सिर्जना गरिरहेको हुन्छ । त्यतिमात्र हैन आयोजना र स्थानीय बीचको असमझदारी हटाई आयोजना निर्माणमा सहजीकरण गरिरहेको हुन्छ । पक्कै पनि आयोजनाको सफलतामा यसको भूमिका महत्वपूर्ण छ । त्यसको साथै वृहत्तर सामाजिक हित, भलाई, विकास र समृद्धीको लागि वातावरण व्यबस्थापन युनिटले महत्वपूर्ण भूमिका खेल्दछ ।
स्थानीयस्तरमा कतिपयलाई लाग्न सक्दछ कि वातावरणीय व्यबस्थापनका कार्यहरु स्थानीय आफैले गर्न सक्दछन् । स्थानीय निकाय, संघसंस्था, समूह वा समिति मार्फत पनि गराउन सकिन्छ । सोझै रकम आयोजनाले स्थानीय निकाय, संघसंस्थामा निकासा गरिदिनु पर्दछ । तर रकम सोझै स्थानीय निकाय, संघसंस्थामा निकासा गरिदिने र कार्यक्रमहरु संचालन गर्न पाउने व्यबस्था इआईए प्रतिवेदनमा छैन । यसको अलावा कुनै आयोजनाले सोझै स्थानीय निकाय वा सघसंस्थालाई रकम निकाशा गरेको छ भने त्यो गैरकानुनी हो । इआईएको बर्खिलाप हो । इआईए प्रतिवेदनमा उल्लेख भएका सामाजिक, आर्थिक, भौतिक र जैविक पक्षका विभिन्न कार्यक्रमहरु लागु गर्न एकमात्र बैधानिक र कानुनी संस्था भनेको वातावरण व्यबस्थापन युनिटनै हो । यसको अलावा इआईए प्रतिवेदनमा अन्य संघसंस्थाको परिकल्पना गरेको पाईदैन । यदि कुनै आयोजनाले इआईए प्रतिवेदनको विपरित कुनै स्थानीय संघसंस्था मार्फत कार्यक्रम कार्यान्वयन गरेको छ र सोझै रकम निकाशा भएको छ भने कानुनी रुपमा आयोजनालाई अप्ठ्यारो पर्न सक्दछ ।
स्थानीयहरुको अर्को बुझाई भनेको इआईए प्रतिवेदनमा उल्लेख भएको रकम आफ्नो अनुकुल खर्च गर्न पाउनु पर्दछ । यसको बारेमा स्पष्ट हुन जरुरी छ कि इआईएमा तोकिएको कार्यक्रम हुवहु लागु हुनु पर्दछ र तोकिएको रकम तोकिएकै कार्यक्रमको लागि खर्च गरिनु पर्दछ । इआईए प्रतिबेदनको मुल मर्म र भावना यही हो । यसको अलावा हुन गएको छ भने कानुन विपरित हो । त्यसकारण आयोजना प्रबद्र्धक, स्थानीय निकाय, संघसंस्था विभिन्न समूह र समितीहरु सबैले इआईए प्रतिवेदनको मर्म र भावनालाई बुझ्न आबश्यक छ ।
आयोजनाको लागि आयोजना र स्थानीयको बिचमा पुलको रुपमा काम गरी आयोजनाको काममा सहजीकरण गर्नको लागि वातावरण व्यबस्थापन युनिटको आबश्यक पर्दछ । स्थानीयबाट आएका गुनासा, बाधाविरोध र समस्यालाई हल गर्नको लागि प्राविधिक दृष्टिकोणले मात्रै सम्भव हुँदैन । वातावरण व्यबस्थापन युनिटका कार्यहरु प्रत्यक्षरुपमा समाजसँग सम्बन्ध राख्दछ । वातावरण व्यबस्थापन युनिटका कार्यक्रमहरु सामाजिक समस्या, आबश्यकता र चाहनासंग सम्बन्धित हुन्छन् । दिनदिनै समाजसँग अन्तरक्रिया भईरहेको हुन्छ । तसर्थ सामाजिक समस्या हल गर्नको लागि आयोजनाको परिपुरकको रुपमा वातावरण व्यबस्थापन युनिटले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सामाजिक समस्या समाधानको लागि प्राविधिक दृष्टिकोणले भन्दा समाजशास्त्रीय दृष्टिकोणले बढी सहज र सम्भव हुन्छ ।
स्थानीयहरुको लागि आफ्ना गुनासाको सुनुवाई गर्ने, माग र समस्या समाधानको लागि तत्काल पहल गर्ने सिधा सम्पर्क कार्यालयको रुपमा वातावरण व्यबस्थापन युनिटको आबश्यक पर्दछ । आयोजनासंग सोझै समन्वय गरी समस्या समाधानको लागि पहल गर्न स्थानीयलाई सरल र सहज नहुन सक्दछ । वातावरण व्यबस्थापन युनिटले स्थानीयका गुनासो सुनुवाई गर्ने, स्थानीयस्तरमै स्थानीयका समस्या समाधानको लागि तत्काल पहल गर्ने भएकोले स्थानीयहरुको लागि निकै सहज हुन्छ । अनाबश्यक झन्झट व्यहोर्नु पर्दैन । स्थानीयका कतिपय माग, गुनासा वा समस्या तत्काल सम्बोधन वा समाधान गर्नुपर्ने प्रकृतिका पनि हुन्छन् । त्यस्ता समस्याको तत्काल सम्बोधन गर्न स्थानीयस्तरमै स्थापना भएको वातावरण व्यबस्थापन युनिटले पहल गर्न सक्दछ । कतिपय आयोजनाका स्थानीयस्तरमै वातावरण व्यबस्थापन युनिट नभएको हुँदा स्थानीयका माग, गुनासो सुनुवाईमा वा समस्या समाधानमा ढिलो भएको पनि यदाकदा सुन्नमा आएको पाइन्छ । त्यतिमात्र हैन इआईए प्रतिवेदनमा व्यबस्था भए अनुरुपका कार्यक्रमहरुको कार्यान्वयनबाट ग्रामिण विकास र समृद्धीेमा सहयोग पुग्ने भएकोले स्थानीयस्तरमा वातावरण व्यबस्थापन युनिटको आबश्यकता पर्दछ । साथै इआईए प्रतिवेदनको सफल कार्यान्वयनको लागि समेत यसको आबश्यकता रहेको छ ।
तसर्थ जलविद्युत आयोजनाको सफलता, इआईए प्रतिवेदनको सफल कार्यान्वयन, इआईए प्रतिवेदनको परिपालनाको माध्यमबाट ग्रामिण समृद्धी र विकासको लागि वातावरण व्यबस्थापन युनिटको आबश्यकता र औचित्य रही आएको छ ।
लेखक म्रिस्तीखोला जलविद्युत आयोजना, वातावरण व्यबथापन इकाईका प्रमूख हुनुहुन्छ ।