
बेनी ः बेनी नगरपालिका–४, राक्सेमा रु. तीन करोड ५० लाख भन्दा बढीको लागतमा सिंगा तातोपानी प्रहरी चौकीको भवन निर्माण भएको छ ।
गण्डकी प्रदेश सरकारको सहयोगमा भुकम्प प्रतिरोधी क्षमताको दुई तले भवन निर्माण भएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले भवन निर्माणका लागि वि.स. २०८१ असारमा रु. तीन करोड ५१ लाख सात सय २९ मा दिव्यज्योति निर्माण सेवासँग ठेक्का सम्झौता गरेको थियो ।
निर्धारित समय भित्रनै निर्माण सकिएको भवनको चाडै उद्घाटन गरेर प्रयोगमा ल्याउने तयारी भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका इन्जिनियर प्रहरी नायब उपरीक्षक चिरन्जीवी प्रताप महतोले बताउनुभयो । प्रदेश सरकारको बजेट कार्यालयले परिचालन गरेर भवन बनाएको हो ।


भवनमा कार्य प्रशासन शाखा, महिला, पुरुष थुनुवा कक्ष, सञ्चार कक्ष, भान्सा, ब्यारेक, शयनकक्षहरु छन् । स्थापनाकालदेखिनै सिंगा तातोपानी प्रहरी चौकी भाडाको भवनबाट सञ्चालन हुदै आएको थियो ।
आफ्नै भवन भएपछि नागरिकहरुलाई सेवा प्रवाह गराउन र कार्यालय सञ्चालन गर्न सहज हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुर्यबहादुर थापाले बताउनुभयो । भवन निर्माणका लागि सिंगा तातोपानी कुण्ड ब्यवस्थापन समितिले करिब १५ वर्षअघि राक्सेमा दुई रोपनी जग्गा खरिद गरेर प्रहरीलाई उपलब्ध गराएका थिए ।
सिंगा तातोपानी कुण्ड स्नानका लागि आएका बिरामीहरुले तिर्ने प्रवेशशूल्कबाट संकलन भएको रकमबाट जग्गा खरिद गरेर प्रहरीलाई उपलब्ध गराएका हुन् । यसअघि म्याग्दीमा जिल्ला प्रहरी, कालीपुल, भुरुङ–तातोपानी, मौवाफाँट र ताकम प्रहरी चौकीको आफ्नै भवन रहेका थिए ।
इलाका प्रहरी कार्यालय दरवाङ, घोडेपानी, बाबियाचौर, गलेश्वर, रत्नेचौर, मङ्गलाघाट, चिमखोला, तिप्ल्याङ, दाना, घार, पाखापानी, राखु भगवती प्रहरी चौकीको आफ्नै भवन छैन् । जग्गा प्राप्ति प्रहरी चौकीको भवन निर्माणका लागि मुख्य चुनौती बनेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख थापाले बताउनुभयो ।

