
बेनी, २२ चैत । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको पौडेल चोकमा श्रवण क्षमता नभएका अमृत र हेमराज शर्मा रेष्टुरेन्ट ब्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्नुभएको छ ।
बागलुङका ३५ वर्षीय अमृत र ४२ वर्षीय हेमराजले शारिरिक अशक्तताले रोजगारी, ब्यवसाय र अवसरलाई छेक्न सक्दैन भन्ने उदाहरण प्रस्तुत गर्नुभएको हो । नाताले आफन्त पर्ने अमृत र हेमराजले सिंगाको पौडेल चोकमा संयुक्त रुपमा सञ्चालन गरेको ‘सांकेतिक भाषा खाजा घर’ले उनिहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाएको हो ।
जन्मजात श्रवण क्षमता नभएका शर्माद्धय सांकेतिक भाषा र शब्द लेखेर उपभोक्ताहरुसँग सम्बाद गर्नुहुन्छ । चिया, खाजा, जेरी, तरकारी, सिजनमा अरिंगाल, माछा, मासु र खानाका परिकार उहाँहरु आफै तयार पार्नुहुन्छ ।

स्थानीयबासी, वडा कार्यालय, विद्यालय, बेनी–दरवाङ सडकको यात्रा गर्ने सर्वसाधारण, ब्यवसायीहरु उक्त रेष्टुरेष्टका ग्राहक हुन् । टाढाबाट आउने ग्राहकहरुले मोवाइलमा सन्देश पठाएर खाना, खाजाका परिकार ‘अर्डर’ गर्छन् । सामाजिक सञ्जालमा भिडियो कल गरेर पनि सांकेतिक भाषामा ग्राहकले कुराकानी गर्छन् ।
फोन आयो भने छिमेकीलाई उठाउन लगाएर उहाँहरु मार्फत सूचना लिने गरेको अमृतले लेखेर जानकारी गराउनुभयो । म्याग्दीका जलविद्युत आयोजनाहरुमा परामर्शदाताको रुपमा काम गर्दै आउनुभएका शंकर बस्यालले सरसफाई र आत्मिय ब्यवहारका कारण सांकेतिक भाषा खाजा घरलाई रोजेको बताउनुभयो । “उहाँहरु नबोलेपनि ग्राहकको भावना बुझेर नम्र ब्यवहार गर्नुहुन्छ,” उहाँले भन्नुभयो “ठाउँको सरसफाई र परिकार हाइजेनिक हुने भएकाले राम्रो लाग्छ ।”

दैनिक पाँच हजारको हाराहारीमा ब्यापार गर्ने शर्माद्धयले उक्त आम्दानीबाट ब्यवसायलाई निरन्तरताका साथै घरब्यवहार चलाएको बताउनुभयो । दसै तिहार र चाडपर्वको समयमा ब्यापार अली बढी हुन्छ ।
हेमराजको घरमा श्रीमति र एक छोरी छन् । अमृतकी श्रीमतिको पनि श्रवण क्षमता छैन् । अमृतका घरमा श्रीमति र एक छोरा छन् । हेमराजले कक्षा ५ सम्मको अध्ययन गर्नुभएको छ भने अमृतले १२ कक्षा उतिर्ण गर्नुभएको छ । उहाँहरुका परिवार बागलुङमै बस्नुहुन्छ ।
धवलागिरी माविको बहिरा स्रोत कक्षाका शिक्षक शंकर पाण्डेको सहयोगमा हेमराज र अमृत १० वर्षअघि सिंगामा आउनुभएको थियो । शर्माद्धयको सानैदेखि खानाका परिकार बनाउन रुची थियो । घारबाट रु. तीन लाख ल्याएर घर भाडामा लिएर ब्यवसाय शुरु गरेको अमृत सम्झनुहुन्छ । हाल उहाँहरुको ब्यवसायमा करिब रु. १० लाखको लगानी छ ।
सिप र ब्यवसायमा आवद्ध भएकाले घरब्यवहार चलाउन सहज भएको शर्माद्धयको अनुभव छ । पौडेलचोकका यादवप्रसाद पौडेलले अमृत र हेमराजले हातमा सिप र ब्यवसायिक कला तथा साहाश हुने हो भने शारिरिक प्रतिकुलताका बावजुद आत्मनिर्भर र स्वरोजगार बन्न सकिने सन्देश दिएका बताउनुभयो ।
“अमृत र हेमराजले हातमा भएको सिपको सदुपयोग गर्न जान्ने हो भने जिवन चलाउन अरुमा निर्भर हुनुपर्दैन भन्ने सन्देश दिनुभएको छ,” उहाँले भन्नुभयो “उहाँहरुले ब्यवसायबाट हासिल गरेको सफलताबाट धेरैका लागि उदाहरण बन्न सक्छ ।”
हाल भाडाको घरमा ब्यवसाय गर्दै आएका उहाँहरुले ब्यवसाय विस्तार गर्दै लैजाने योजना बनाउनुभएको छ । पुँजीको अभाव र सबै ग्राहकहरुले सांकेतिक भाषा नबुझ्नु उहाँहरुको लागि ब्यवसायमा चुनौति बनेको छ ।

