
बेनी, ः म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजामा मार्ग खुलेको १६ वर्षपछि स्तरोन्नति भएको छ ।
मङ्गला गाउँपालिकाको ३ र ४ नम्बर वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडकको पखेर–आलडाडाँ खण्ड स्तरोन्नति भएको हो । गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत तीन किलोमिटर पाँच सय मिटर दुरीमा सडक ग्राभेल र ढलान गर्न आर्थिक वर्ष २०८०÷०८१ देखि पखेर–बरङ्जा ३ र ४ हुदै महेश–धापुङ–ताराखोला सडक योजना निर्माण शुरु गरेको थियो ।
एनके–युनाइटेड जेभीले वि.स. २०८१ असारमा रु. पाँच करोड ८६ लाख तीन हजारमा ठेक्का सम्झौता गरेको योजना निर्धारित समयभित्रनै सम्पन्न भएको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाले बताउनुभयो ।
“१८ महिनाको ठेक्का आवधी भएको यो योजनाको लक्ष्य अनुसारको भौतिक प्रगति भएको छ,” उहाँले भन्नुभयो “बजेट अभावका कारण निर्माण ब्यवसायीलाई भुक्तानी दिन नसक्दा वित्तीय प्रगति भने कम छ ।”


वि.स. २०६६ मा मार्ग खुलेको यो सडकलाई सात मिटरका दरले फराकिलो बनाएर नाली र टेवा पर्खाल निर्माण भएको छ । घुम्ति र उकालोमा पाँच सय ५० मिटर सडक ढलान भएको छ । ग्रेड र घुम्ती सुधार भएको छ ।
बरङ्जाको खर्कटोलका मिलन रोकाका अनुसार यसअघि तीन देखि तीन दशमलब पाँच मिटर फराकिलो कच्चि सडकको घुम्ति, ग्रेड नमिलेको, साघुरो सडक जोखिमयुक्त थियो । “यसअघि जिप, ट्याक्सी र ट्याक्टर मुस्कीलले चल्ने यो सडकमा अहिले दश चक्के ट्रक गाउँमै आउन थालेका छन,” उहाँले भन्नुभयो “बरङ्जा देखि बेनी पुग्न एक घण्टा लाग्ने गरेकोमा सडक स्तरोन्नति भएपछि यात्राअवधी ३० मिनेटमा छोटिएको छ ।”

भिरालो पाखाको घुम्तिमा गाडी पार गराउन पछाडी लैजानुपर्ने समस्या हटेको छ । बरंजामा उत्पादन भएको दूध, सुन्तला, तरकारी लगायत कृषि उपज बजारमा बिक्रीका लागि लैजान सहज भएको छ । बरङ्जा देखि थामडाडा–सुर्केमेला हुदै बेनी जोड्ने घुमाउरो कच्चि सडकमा यात्रा गर्नुपर्ने अवस्था हटेको रोकाले बताउनुभयो ।
सडक स्तरोन्नति भएकोमा बरङ्जाबासी उत्साही भएका सडक निर्माण समितिका तत्कालीन अध्यक्ष मोहनलाल सापकोटाले बताउनुभयो । “अप्ठ्यारो ठाउँको खण्डमा अहिले सडक सहज भएकोमा खुसी छौ,” उहाँले भन्नुभयो “पखेर देखि झाक्रीपानी सम्मको सबै ११ किलोमिटर सडकलाई स्तरोन्नति गर्न सकेमा अझै सहज हुने थियो ।”

बरङ्जा म्याग्दीको धेरै जनघनत्व भएको साविकको गाविस हो । मङ्गला गाउँपालिकाको ३, ४, ५ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने रणनीतिक महत्वको यस सडकलाई स्तरोन्नतिका लागि प्राथमिकता दिएको म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताउनुभयो ।
वि.स. २०८० मा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयको नेतृत्व गरेका पुर्वमन्त्री जुग्जालीले प्रदेश सरकारबाट रु. १० करोड बजेटको स्रोत सुनिश्चतता गराई यो सडक स्तरोन्नति गर्न बहुबर्षीय ठेक्का लगाइएको थियो ।
चालु आर्थिक वर्षमा रु. एक करोड ३९ लाख बजेट बिनियोजन भएको यस योजनाका निर्माण ब्यवसायी जिवन रोकायाले रु. ८० लाख भुक्तानी पाउन बाँकी रहेको बताउनुभयो । निर्माण सामग्री आपुर्तीकर्ता र मजदुरहरुलाई ज्याला दिन समस्या भएको उहाँले गुनासो गर्नुभयो ।

