
बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका चार छाउछोरा छन् ।
छ जना खेलाडी आवश्यक पर्ने भलिबल टिममा सबहादुर गोतामे र उनका तीन जना छोराहरु स्थायी सदस्य हुन् । ४२ वर्षका सबहादुरका जेठा, माइला र कान्छा छोराहरु क्रमश ः २० वर्षीय नरेश, १९ वर्षीय नविन र १७ वर्षीय केशव भलिबलका खेलाडी हुनुहुन्छ ।
दुई जना परिवार बाहिरका खेलाडीलाई थपेर विभिन्न ठाउँमा आयोजना हुने भलिबल प्रतियोगिताहरुमा प्रतिस्पर्धा गर्ने उनिहरु ‘घरपरिवार भलिबल’ समूहका नामले चिनिन थालेका छन् ।
“बुवा सबहादुर सानै देखि भलिबल खेल्दै आउनुभएको छ,” नरेशले भन्नुभयो “हामी पनि बुवाको खेल कलाबाट प्रभावित भएर भलिबल खेल्न सिकेका र घरपरिवारकै टिम बनाएर प्रतियोगितामा खेल्न थालेका हौ ।” कक्षा १२ उतिर्ण गरेका नरेशले बुवाको घोडा ब्यवसायलाई सघाउदै आउनुभएको छ । नविन र केशव फलियागाउँको कक्षा १२ मा अध्ययनरत छन् ।

एकै किसिमका अग्लो र पातलो जिउडाल भएका सबहादुर र उहाँका बाउछोराहरु भलिबल टिमको सेटर, रेज, लिब्रो लगायत सबै खेलाडीको भूमिका निभाउन सक्नुहुन्छ । घरपरिवार भलिबल समूहले हालै धवलागिरी गाउँपालिका –७ धारापानी र वडा नं.–२ खोरीयामा आयोजित प्रतियोगितामा उपाधी जितेको छ ।

नविन र केशवले धवलागिरी गाउँपालिकाले पछिल्लो पटक आयोजना गरेको राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्स तर्फ तीन÷तीन वटा स्वर्ण पदक दिलाउदै धजनता माविलाई बिजयी बनाउन योगदान गर्नुभयो । नरेश पनि धवलागिरी गाउँपालिकाको तर्फबाट प्रदेश स्तरीय भलिबल प्रतियोगितामा सहभागी हुने अवसर पाउनुभएको छ ।
नरेश र नविनले प्रदेश स्तरीय दौड र ज्यावलिङ थ्रो प्रतियोगितामा पनि भाग लिनुभएको छ । केशवले गत माघमा जिल्ला भलिबल संघले आयोजना गरेको म्याग्दी कप भलिबल प्रतियोगितामा उत्कृष्ट सेटरको उपाधी जित्नुभएको थियो ।
मध्यम वर्गीय पारिवारिक पृष्ठभूमि भएका सबहादुर कतारमा दुई वर्ष रोजगारी गरेर फर्कनुभएको हो । कतारबाट फर्किएपछि ढुवानी ब्यवसायका लागि सबहादुरले घोडा पालन गर्दै आउनुभएको छ ।
आठ वटा घोडा पालेका सबहादुर घोडामा बोकाएर तरकारी र फलफुल बिक्रीका लागि गाउँठाउँमा पनि पुग्ने गर्नुहुन्छ । फुर्सदको समय र मेलाजात्रामा उहाँहरुको टोली भलिबल प्रतिस्पर्धा गर्न जानुहुन्छ । सबहादुरका श्रीमति र छोरीको भने खेलकुदमा रुची छैन् ।
उनिहरुको खेल मन पराएर दर्शकहरुले आर्थिक सहयोगका साथै पोशाकहरु सहयोग गर्न थालेका छन् । मुना घर भई हाल अस्टे«लीयामा रहेका इम रोकाले शनिबार रु. २७ हजार मूल्य बराबरको जर्सी र ट्याक उपलब्ध गराउनुभएको छ । अमेरिकामा रहेका दलबल रोका, टेक रसाइली र अस्टे«लीयाबाट ठहरबहादुर भण्डारीले पनि उनिहरुलाई जर्सी सहयोग गर्नुभएको छ ।
“सहयोगले हामीलाई भलिबल खेलमा निरन्तर सक्रिय हुन हौसला मिल्नुका साथै उत्साह पैदा भएको छ,” सबहादुरले भन्नुभयो “शारिरिक अवस्थाले साथ दिदाँ सम्म भलिबल खेलमा निरन्तर सक्रिय रहनेछु ।”

