
बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि पर्यटकीय स्थल घोडेपानी जोड्ने सडकमा पर्ने लुलीया घुम्ती सुधार र हल्लेखर्कको पहिरो रोकथामका लागि रु. तीन करोड बजेट बिनियोजन भएको योजना कार्यान्वयनमा भएको ढिलाईले दुर्घटनाको जोखिम र यात्रुलाई सास्ती भएको छ ।
तीन वर्षअघि संघीय सरकार मार्फत स्तरोन्नति भएको १८ किलोमिटर दुरीको पोखरेबगर–चित्रे सडक अन्र्तगत अन्नपूर्ण गाउँपालिकाको लुलीयाघुम्ती र हल्लेखर्च पहिरो क्षेत्रमा सडकको जिर्ण अवस्थाका कारण स्थानीयबासीका साथै पर्यटकीय स्थल घोडेपानी भ्रमणमा जाने पर्यटकहरुलाई समस्या भएको छ ।
पहिरोका कारण साँघुरिएको, ग्रेड र मोड नमिलेको लुलीयाघुम्ती र हल्लेखर्क पहिरोमा सवारी साधन उक्लन नसक्ने, बिचैमा अड्कीने र दुर्घटना हुने समस्या बढेको छ । शनिबार पोखरेबगर देखि घोडेपानी जान हिडेको एक वटा जिप लुलीयाघुम्तीमा उक्लने क्रममा ब्याक भएर सडक देखि १५ मिटर तल खसेर दुर्घटना भयो । भाग्यबस मानवीय क्षति हुन पाएन् । उक्त स्थानमा यसअघि पनि दुर्घटना भएको थियो ।



मध्य कालीगण्डकी जलविद्युत आयोजनाको उपकरण ल्याएर सडकबाट पाखोमा खसेको गाडी तानेपनि संघीय सरकारले बजेट बिनियोजन गरेको योजना कार्यान्वयनमा भएको ढिलाईका कारण समस्या भएको अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।
“लुलीयाघुम्ती, हल्लेखर्कको सडक सुधारका लागि स्थानीय पूर्वाधार विकास कार्यालय पोखराले योजना कार्यान्वयनमा गरेको ढिलाईले दुर्घटनाको जोखिम र सास्ती बढाएको छ,” उहाँले भन्नुभयो “जनप्रतिनिधीहरुबाट निरन्तर ताकेता भएपनि कार्यालयले बेवास्ता गर्दा दिर्घकालिन समाधानका लागि रु. तीन करोड बजेट बिनियोजन भएको योजना कार्यान्वयनमा अन्यौलता सिर्जना भएको छ ।”
घोडेपानीको वनपाखा लालीगुराँस फुलेर रंगिएको छ । कास्कीको बिरेठाटीतर्फबाट पनि घोडेपानी सडकले जोडिएको छ । बिरेठाँटी उल्लेरी हुदै घोडेपानी जोड्ने सडक नयाँ मार्ग खोलेको हुँदा भालेओडार क्षेत्रमा हिलोमा फस्ने समस्या छ । लालीगुराँसको जंगल, पुनहिलबाट हिमशृङखला अवलोकनका लागि सवारी साधन चढेर घोडेपानी जाने आन्तरिक पर्यटकको चाप छ ।
दैनिक एक हजार जना क्षमताको घोडेपानीका होटलहरु भरिभराउ भएको अवस्थामा सडकको कमजोर अवस्थाले पाहुनाहरुमा नकारात्मक सन्देश प्रवाह भएको घोडेपानीबासीले गुनासो गरेका छन् । प्रदेश सरकार मार्फत सञ्चालित चित्रे–घोडेपानी सडक योजनाका ठेकेदार पनि सम्पर्कमा छैनन् । चिसो बढेपछि मंसिर महिनादेखि रोकिएको चित्रे–घोडेपानी सडक योजनाको काम बसन्त ऋतु सुरु भएपनि सुरु भएको छैन् ।
अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. ५० लाख बजेट बिनियोजन गरेको पोखरेबगर–घार–चित्रे सडक योजना मार्फत घारको बिरौटा चोक देखि भुन्या खण्डमा यसअघि सोलिङ भएको ठाउँमा तीन सय मिटर आरसिसी ढलान गर्ने काम भने लक्ष्य अघिनै सकिएको छ । पोखरेबगर र घोडेपानी जोड्ने यो सडक पोखरा देखि मुस्ताङ जोड्ने बैकल्पिक पनि भएकाले सवारी साधनको चाप बढ्न थालेको छ ।
पोखरेबगर देखि घोडेपानी जोड्ने २१ किलोमिटर दुरीको यो सडक अन्नपूर्ण गाउँपालिकाको ५ र ६ का बासिन्दाका साथै घोडेपानी–पुनहिल घुम्न आउने पर्यटकहरुले प्रयोग गर्छन् । घोडेपानी देखि कास्कीको उल्लेरी बिरेठाँटी हुदै मध्य पहाडी लोकमार्गको नयाँपुलसम्म पनि सडकको मार्ग खुलेको छ ।
वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा सो भन्दा बढी आन्तरिक पर्यटक आउँछन् । पहाडको टाकुरामा अवस्थित घोडेपानी र नजिकैको पुनहिल सूर्योदय, हिमशृङ्खला, पहाडी भूगोल, गुराँसे जङ्गल, वन्यजन्तु, पक्षी, मगर संस्कृतिलगायत आकर्षण रहेको छ ।

