
बागलुङ, । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय सरकारले स्थानीय तह र प्रदेश सरकारलाई संविधानको मर्म विपरितका परिपत्र पठाएर हस्तक्षेप गर्न नपाउने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजनामा शुक्रबारदेखि शुरु भएको बागलुङ मिडिया मेलाको उद्घाटन गर्नुहुदै मुख्यमन्त्रि पाण्डेले प्रधानमन्त्री कार्यालयका सचिव स्तरीय निर्णयको आधारमा सरकारी निकायको विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन गर्नुपर्ने परिपत्रलाई संघीयताको भावना विपरित भएको टिप्पणी गर्नुभयो ।
‘लोकतन्त्रमा सामुदायिक र निजी क्षेत्रका सञ्चारमाध्यमलाई अंकुश लगाउन मिल्दैन,’ उहाँले भन्नुभयो, ‘संघीयताको मर्मविपरीत काम गर्दा संघीयता कमजोर बन्छ ।’ उहाँले एउटै व्यक्ति तल्लो तहमा बस्दा संघले असहयोग गरेको भन्ने र संघमा गएपछि स्थानीय र प्रदेशलाई हेप्ने काम राम्रो नभएको बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले कसैको आदेशलाई कानुन मान्न नसकिनेसमेत बताउनुभयो । उहाँले संविधान र कानुनमाथि कोही नरहेको पनि टिप्पणी गर्नुभयो । प्रधानमन्त्री कार्यालयका सचिवले गरेको हालैको परिपत्रलाई लक्षित गर्दै पाण्डेले एक महिना पनि नटिक्ने आदेशको संज्ञा दिनुभयो ।
पत्रकारिताले बलियो प्रतिपक्षको भूमिका खेल्नुपर्ने पाण्डेले बताउनुभयो । उहाँले संसद्मा कमजोर प्रतिपक्ष, बलियो सरकार भएको अवस्थामा त सञ्चार क्षेत्र झन् बलियो चाहिएको बताउनुभयो ।
बलियो सरकारले साना र स्वरोजगारमूलक सञ्चारमाध्यमलाई अप्ठ्यारो पर्ने गरी विज्ञापनमा रोक लगाउन खोज्नु राम्रो नभएको उहाँले बताउनुभयो । पाण्डेले लोकतन्त्रमा स्वतन्त्र पत्रकारिताको सम्मान गर्नुपर्नेमा आदेशले मुख बन्द गर्ने प्रयास गर्न नपाइने बताउनुभयो ।
वर्तमान प्रधानमन्त्री पनि महानगरपालिकाको प्रमुख भएर प्रधानमन्त्री बनेको कुरा हेक्का राख्नुपर्ने उहाँले बताउनुभयो । सञ्चार मन्त्रालयबाट प्रदेश सरकारमा पनि परिपत्र आएको उहाँले बताउनुभयो । त्यो परिपत्रले संघीयताको अधिकार कुण्ठित भएको समेत दाबी गर्नुभयो ।
प्रदेश सरकार सञ्चार क्षेत्रको विकासका लागि बरु थप काम गर्न तयार रहेको पनि उहाँले बताउनुभयो । संविधानले संघ, प्रदेश र स्थानीय तहको उत्तिकै महत्त्वको मानेको भन्दै संविधान संशोधन गरेर अधिकार कटाउन पाइने तर आदेशमा चल्न नहुने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले पनि सरकारको निर्णय निरंकुशतावादी भएको आरोप लगाउनुभयो । ‘हामी न्युजरुममा बसेर काम गर्न चाहन्छौं, तर सरकारले सडकमा धकेल्दैछ,’ उहाँले भन्नुभयो, ‘सरकारसँग न्यूनतम प्रेस स्वतन्त्रताको विश्वास छ भने यो निर्णय फिर्ता गरोस् ।’ उहाँले वर्तमान सरकारको संघीयताप्रतिको विश्वास जाच्ने बेला आएको पनि बताउनुभयो ।
मेलामा १० वटा समूहगत छलफल, परम्परागत सञ्चार माध्यमको प्रदर्शनी, भित्तेपत्रिका प्रतियोगिता, फोटो प्रदर्शनी, सांस्कृतिक क्रियाकलापलगायत समावेश गरिएको नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले बताउनुभयो ।
मेलामा बागलुङको कृषि र पर्यटनका विषयमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालसहितका पर्यटन विज्ञहरु सहभागी हुनुभयो । त्यस्तै नेपाली पत्रकारिताको विषयमा महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा, वर्तमान महासचिव रामप्रसाद दाहाल, कान्तिपुरका पत्रकार दीपक सापकोटा, पत्रकारहरु उजिर मगर, एकराज पाठक, शुभशंकर कँडेल, सिर्जना सिज्जु, उज्वल आचार्य लगायतसँग छलफल हुनेछ ।
कार्यक्रममा अन्टारटिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा, कलाकार वसन्त थापा, दलित अधिकारकर्मी कुञ्जनी परियार, संरक्षणकर्मी आरके अदीप्त गिरि, जनप्रतिनिधिहरु र विभिन्न क्षेत्रमा क्रियाशील पत्रकारको सहभागिता रहेको छ । साथै गण्डकी प्रदेशका अधिकांश जिल्लाका पत्रकारको पनि मिडिया मेलामा सहभागी भएका छन् ।

