
बेनी, । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य महाविर पुनले आफू अरु भन्दा निकै फरक सांसद भएको बताउनुभएको छ ।

प्रतिनिधीसभाको बैठकमा बिहिबार पहिलो पटक सम्बोधन गर्नुभएका अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रबिधी मन्त्री समेत रहेका पुनले पदबाट राजिनामा दिएर म्याग्दीमा उमेद्वार बन्न आउनुको कारण देखि दुई तिहाई नजिक बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारसँग माग पनि राख्नुभयो ।
सम्बोधनको सुरुमै पुनले आफ्नो बोल्ने र काम गर्ने तरिका फरक रहेको भन्दै सबैसँग मिल्न नसक्ने बताउदै सांसदहरुको ध्यान खिच्नुभयो । “म एउटा अचम्मको सांसदको रूपमा यहाँ आएको छु । म फरक छु । बोल्ने तरिका फरक छ । काम गर्ने तरिका फरक छ । म प्रायः सबैसँग मिल्दिनँ,” उहाँले भन्नुभयो ’म आउनै नपर्ने मान्छे यहाँ कसरी आइपुगेँ भन्न पनि चाहन्छु ।”
उहाँले आफू अमेरिकाबाट फर्किएपछि ३३ वर्षदेखि पूर्णकालीन समाजसेवीका रूपमा रहेको बताउनुभयो । “म अमेरिकामा पढेर २०४९ भाद्रमा आएको । अहिलेसम्म ३३ वर्षभन्दा बढी काटिसक्यो,” उहाँले भन्नुभयो “एउटा झोला बोकेर पूर्णकालीन समाजसेवीको रूपमा काम गरिराखेको छु । म राजनीतिज्ञ होइन, समाजसेवी नै रहनेछु ।”
उहाँले सदनमा आफ्नो भूमिका पक्ष–विपक्षभन्दा पनि निष्पक्ष हुने स्पष्ट पार्नुभयो । सम्बोधनको अधिकांश समय उहाँले आफू शिक्षा मन्त्री छँदा गर्न नपाएको कामको फेहरिस्त समेत संसदमा सुनाउनुभयो । आफूले अघि बढाएका बिधेयकहरुलाई अघि बढाउन र कार्यान्वयनमा लैजान सरकारसँग माग राख्नुभयो ।
उहाँले विदेशमा रहेका नेपालीहरुलाई पनि मतदानको अधिकार दिनुपर्ने कानुन ल्याउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । समाजसेवी भएकाले प्रतिनिधिसभाको उम्मेदवार हुने रहर पनि नभएको र सोचेको पनि नभएको बताउनुभयो । ‘जेनजी आन्दोलनपछि जेनजी भाइहरूले ताप्लेजुङमा किताब बेचिरहेको बेला बोलाएर शिक्षा मन्त्री बनाए,’ उहाँले भन्नुभयो ।
त्यसपछि चार महिना शिक्षा मन्त्री रहँदा शिक्षा क्षेत्रका अनेकौं समस्या, चरम राजनीतिककरण विकृति देखेको उहाँले बताउनुभयो । ‘ती विकृति हटाएर विद्यालय, कलेज र विश्वविद्यालयमा विशुद्ध शैक्षिक वातावरण बनाउन प्रयास गरेको थिएँ,’ उहाँले भन्नुभयो , ‘त्यसका लागि तीनवटा विधेयकको मस्यौदा बनाएर अध्यादेश ल्याउन र चारवटा नियमावली ल्याउन प्रयास गरेको थिएँ ।’
त्यतिबेला कामचलाउ सरकार भएकाले त्यो नसकिएको उहाँले बताउनुभयो । ‘उम्मेदवारी दर्ताको ४० घण्टा अगाडि माघ ४ गते बेलुकी ७ बजेसम्म टुप्पीदेखिको बल लाउँदा पनि विधायन समितिबाट ती काम अघि बढेनन्,’ उहाँले भन्नुभयो । त्यसपछि मन्त्री पदबाट राजीनामा दिएर चुनाव लड्न गएको दाबी गर्नुभयो । ‘यसरी चुनावमा उठ्नै नहुने र नपर्ने मान्छे उठेको हुँ,’ उनले आफ्नै शैलीमा संसदमा प्रस्तुत हुनुभयो । आफू शिक्षा मन्त्री हुँदा ल्याउन खोजेका विधेयक र नियमावली मस्यौदा प्रधानमन्त्री बालेन्द्र शाहको शिक्षा हेर्ने टिमलाई दिइसकेको उहाँले सार्वजनिक गर्नुभयो ।

