
बेनी, । म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’को रौनक सुरु भएको छ । चैत महिनाको उजेली मंगलवारका दिन भूमे पूजा गर्ने प्रचलन छ ।
मंगलवार म्याग्दीको रघुगंगा गाउँपालिका– १ बाँदुक, बेग र अन्नपूर्ण गाउँपालिका–१ दोबामा भूमे पूजा गरिएको छ । प्राकृतिक अनिष्टलाई पार लगाउन र प्रकृतिलाई खुसी बनाउनका लागि मगर समुदायले साँस्कृतिक उत्सवको रुपमा भूमे पूजालाई मनाउने गर्छन् ।
स्थानीयले अन्नबालीको उब्जनी राम्रो हुने र प्राकृतिक विपत्तिका घटना नहोस भन्ने कामना गरी भूमे देवताको पूजाआजा गर्ने चलन रहेको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङका बेगबहादुर पुर्जाले बताउनुभयो । पृथ्वीको सबैभन्दा महत्वपूर्ण ठाउँ भूमि भएकाले भूमिको सम्मान र देवीदेवतालाई खुसी बनाउन परम्परागत रुपमा चल्दै आएका भूमे पूजालाई निरन्तरता दिने गरिएको उहाँको भनाई छ ।
बाँदुकको भूमेथानमा भूमे पूजा गर्दै गर्नुभएका पुर्जाले भूमेप्रतिको गढेको आस्था र विश्वासले हरेक बर्ष यसको महत्व बढ्दै गएको बताउनुभयो । ‘‘पुर्खादेखि नै भूमे पूजालाई महत्व दिदै आइएको छ, शुभ कार्यदेखि गाह्रो अप्ठेरो पर्दा हामीले भूमेलाई नै सम्झने गर्छौ, हरेक बर्षको एक पटक जो जहाँ भएपनि भूमे पूजामा सामेल हुन गाउँ फर्कने चलन छ’’–पूर्जाले भन्नुभयो ।
स्थानीयले आफ्नो मनोकांक्षा पूरा गराउनका लागि भूमेलाई सम्झिएर भाकल गर्ने र पूजाको दिनमा आफुले गरेको भाकलको बलि दिएर भूमे देवतालाई खुसी बनाउने गरिन्छ । सिंगो गाउँका स्थानीयहरु धोजापतका र नौमती बाजाका साथमा हर्षोउल्लाहससहित भूमे थानमा पुगेर आ–आफ्नो संस्कार र परम्परा अनुसार पूजा गर्ने गरिन्छ ।
मगर समुदायमा भूमे पूजालाई अन्य चाडपर्वभन्दा बढी महत्व दिएर देशका विभिन्न ठाउँ तथा विदेशमा पुगेकाहरु समेत गाउँ फर्कने चलन रहेको बेगका वडा अध्यक्ष बिलबहादुर फगामीले बताउनुभयो । उहाँका अनुसार, साँस्कृतिक उत्सवको रुपमा मनाईने भूमे पूजामा सहभागी हुन गाउँ फर्किएकाहरुको जमघटले गाउँमा चहलपहल समेत बढेको छ । मगर समुदायको बाहुल्य बसोबास रहेका ठाउँहरुमा चैतदेखि जेठसम्म उजेली मंगलवार पारेर फरक फरक दिन भूमे पूजा हुँदै आएको छ ।
म्याग्दीको दोबामा भूमे पूजालाई परम्पराको नीरन्तरता र मौलिकताको जगेर्ना गर्ने गरी मनाउने गरिएको छ । भूमे पुजासंगै सोरठी, यानीमाया, भैचसाइलो लगायतका पुराना भाकाहरु गुञ्जिने र पुख्र्यौली नाचहरु समेत प्रदर्शन हुने भएकाले भूमे पूजाले साँस्कृतिक महत्व समेत बोकेको दोवामा रहेको हातेमालो आमा समूहका अध्यक्ष बोमाया गर्बुजाले बताउनुभयो ।
हरेक गाउँमा भूमे पूर्जाको दोस्रो दिन पुख्र्यौली संस्कृतिको पदर्शन संगै महिलाहरुले जात्रा समेत देखाउने चलन रहेको छ । भूमे देवतालाई कोदो र चामलको विधिपूर्वक तयार गरिएको जाँड र छ्याङ मुख्य प्रसादको रुपमा चढाउने गरिन्छ । भाकल गरेकाहरुले आफ्नो मनोकांक्षा पूरा भएमा ठाउँ अनुसार कुखुरा, बोका, साँढ, राँगा लगायतको बली दिने चलन समेत रहेको छ ।
भूमेपूजाको अवसरमा अनौठा र मौलिक संस्कृतिको प्रस्तुती राख्ने भएकाले स्थानीयबासीका साथै आन्तरिक पर्यटकहरु समेत भूमेपूजामा रमाउन पुग्ने गर्छन् । म्याग्दीको दग्नाम, दर्मिजा, चिमखोला, झिँ, पाखापानी लगायतका ठाउँमा भूमे पूजालाई उत्सवको रुपमा मनाउने प्रचलन रहेको छ ।

