
बेनी, । पर्वतको जलजला गाउँपालिका–२ बगरफाँटमा स्थानीयबासीहरुबीच रहेको मोटरबाटो सम्बन्धी बिवाद गाउँपालिकाको न्यायिक समितिले सुल्झाएको छ ।

बगरफाँट विद्यालय नजिकैको ठाडो बाटो फराकिलो बनाउने क्रममा स्थानीय जग्गाधनीहरुबीच बिवाद भएको थियो । सडकलाई तीन मिटर बनाउने क्रममा सडकमा पर्ने जग्गा व्यक्तिगत भएको र नभएको भन्ने विषयको बिवाद आपसी सहमतिमा टुङ्गो लगाइएको हो ।
अमिन र जनप्रतिनिधी सहित प्राविधिक टोलीले स्थलगत नाँपजाँच र छलफल गरेपछि सडकलाई तीन मिटर फराकिलो बनाउने सहमति सोमबार जुटेको गाउँपालिकाको न्यायिक समितिका संयोजक रहनुभएका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।
सहमतिसँगै स्थानीयवासीको आवागमन सहज हुने भएको छ भने लामो समयदेखिको तनाव पनि हटेको छ । “लामो समयदेखि चलिरहेको विवाद आज न्यायिक समितिको संयोजनमा आपसी समझदारी र मेलमिलापमार्फत समाधान भएको छ,” उहाँले भन्नुभयो “अबरुद्ध बाटो तीन मिटर कायम गर्ने सहमति भएको छ । यसले देखाएको छ कि संवाद, धैर्यता र सहकार्यबाट जुनसुकै विवाद पनि समाधान गर्न सकिन्छ ।”
विवाद समाधानका क्रममा न्यायिक समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, सरोकारवाला व्यक्ति तथा दुवै पक्षको संयमता र सहकार्यले महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ । सबै पक्षले लचकता देखाउँदै सहमतिमा पुग्दा समस्या सहज रूपमा समाधान भएको स्थानीयको भनाइ छ ।
गाउँपालिकाले आगामी दिनमा पनि यस्ता विवादहरू संवाद र सहकार्यकै माध्यमबाट समयमै समाधान गर्ने प्रतिबद्धता जनाएको छ । यस घटनाले स्थानीय तहमा न्यायिक समितिको भूमिका प्रभावकारी रहेको समेत देखाएको छ ।
जलजला गाउँपालिकाको न्यायिक समितिले मंगलबार पनि दुई वटा बिवाद मिलाएको संयोजक आचार्यले बताउनुभयो । चालु आर्थिक वर्षको हालसम्म २० वटा उजुरी दर्ता भएकोमा १२ वटा मुद्दामा मेलमिलाप गरिएको र आठ वटा तामेलीमा रहेका न्यायिक सहजकर्ता जिवन मल्लले बताउनुभयो ।
चालु आर्थिक वर्षमा दर्ता भएका सबै उजुरीहरुको फस्यौट गर्ने लक्ष्य सहित स्थलगत अनुगमन, छलफल र मेलमिलापमा जोड दिइएको छ । साँधसिमाना, लेनदेन, पारिवारिक बिवादका मुद्दाहरु बढी आएका छन् ।

