
बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला ‘मेडिटेशन सेन्टर’का रुपमा विकास भएको छ ।
बस्ति देखि टाढा शान्त र एकान्त वातावरणमा रहेको प्रभुचेलामा भौतिक पूर्वाधार तयार भएपछि तनाव ब्यवस्थापनका लागि मानिसहरु ‘मेडिटेशन’ गर्न आउन थालेका हुन् । प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारिरिक स्वास्थ्यका लागि उपयोगी मानिएको मेडिटेशन गर्ने थलोका रुपमा विकास भएको प्रभुचेला धुरी ध्यानाश्रम समितिका अध्यक्ष टिकाबहादुर जुग्जाली (नविन)ले बताउनुभयो ।
“परापुर्वकालमा ऋषिमुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला आधुनिक समाजको व्यस्त जिवनशैलीबाट टाढा भएर तनाव ब्यवस्थापनका लागि मेडिटेशन गर्नेहरुको लागि उपयुक्त गन्तब्यका रुपमा विकास भएको छ,” उहाँले भन्नुभयो “सरकारी निकाय र दाताहरुबाट सहयोग जुटाएर खाने, बस्ने र योगध्यान गर्ने ठाउँ बनाएपछि यहाँ आउनेहरुलाई सहज भएको छ ।”

समितिको आयोजनामा आइतबार प्रभुचेलामा आहार, विहार, विचार सम्बन्धी योग शिविर सम्पन्न भएको छ । म्याग्दी र पर्वतका ५० जना योग साधकहरुको सहभागितामा तीन दिनसम्म सञ्चालन भएको शिविरमा आर्युवेद चिकित्सक डा. वि.पि. तिम्लिसिनाले योग, ध्यान, वैरध्य भोजन, जडिवुटी विज्ञान र तनाव ब्यवस्थापन सम्बन्धी प्रवचन दिनुभएको थियो ।


मलिका गाउँपालिका–७ का वडा अध्यक्ष टकलाल पुन, अधिवत्ता महेन्द्रमान श्रेष्ठ, जिल्ला मालपोत कार्यालय म्याग्दीका प्रमुख साधनाकुमारी श्रेष्ठ, स्थानीय अगुवा छकप्रसाद पाईजा, अन्तराष्ट्रिय योग प्रशिक्षक पवित्रा बोगटी, सामाजिक अभियन्ता जमुना आचार्य लगायतको उपस्थिति थियो ।
संस्थाका सचिव सुर्मन गर्बुजाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । शान्त र एकान्त वातावरणमा योग ध्यान गर्दा तनाव भुलेर उमंग पैदा भएको योग प्रशिक्षक हिराबहादुर जिसीले बताउनुभयो ।
परापुुर्व कालमा ऋषिमुुनीहरुले प्रभुचेला धुरीमा तपस्या गरेर ज्ञान आर्जन गरेको चार वर्षअघिको अध्ययनबाट तथ्यहरु पहिचान भएपछि संरक्षण र पूर्वाधार निर्माण गरिएको हो । सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र स्थापनाका लागि गण्डकी प्रदेश सरकार र समुदायको रु. एक करोड भन्दा बढी लगानीमा पूर्वाधारहरु निर्माण भएको छ ।
गोलघर र आश्रयस्थल बनेपछि तपस्वी, भक्तजन र पर्यटकलाई राती, हिउँ, पानी परेको र घाम चर्किदाँ आश्रय लिन सहज भएको छ । बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुनीहरु आउने गर्दथे । स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले वि.स. १९७० देखि १९७५ तिर यही ठाउँमा तपस्या गर्नुभएको थियो ।
कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधना स्थल र हवन कुण्डको भग्नाअवशेस अझै छन् । प्रभुचेला धुरीबाट धवलागिरी र गुर्जा हिमशृङखला अवलोकन गर्न पाउनु थप विशेषता छ । समुन्द्र सतहदेखि दुई हजार चार सय मिटर उचाईमा अवस्थित प्रभुचेला धुरी बिमदेखि दुई घण्टा र सवारी साधनमा ३० मिनेटमा पुगिन्छ ।

