
बेनी, । म्याग्दीको मङ्गला गाउँपालिका–५ स्थित चाङ्गा धुरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले शनिबार पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गरिएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण चाङ्गा धुरीमा म्याग्दी जेसीजले शनिबार प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरेको हो ।
चाङ्गा धुरी पुगेका जेसीजका पदाधिकारी र स्थानीय बासिन्दाको सहभागितामा पर्यटकलाई लक्षित गर्दै सूचना बोर्ड स्थापना गरिनुका साथै पर्यटनको सम्भावनाबारे छलफल गरिएको छ । पर्यटकलाई स्थलको परिचय, विशेषता र अवलोकन बिन्दुबारे जानकारी दिन बोर्ड स्थापना गरिएको म्याग्दी जेसीजका महासचिव गोकुल विकले जानकारी दिनुभयो ।
“ओझेलमा परेका गन्तव्यको प्रचार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सूचना बोर्ड राखेका हौँ,”उहाँले भन्नुभयो “यसले पर्यटकीय स्थलको प्रचारप्रसारमा टेवा पुग्ने विश्वास छ ।” समुद्री सतहदेखि करिब दुई हजार २०० मिटर उचाइमा अवस्थित चाङ्गा धुरीमा पछिल्लो समय सडक, खानेपानी र केन्द्रीय विद्युत् विस्तार भएपछि भ्रमण सहज बनेको छ ।


स्थानीय तह र विभिन्न सङ्घसंस्थाको सक्रियताका कारण आन्तरिक पर्यटकको आगमन समेत बढ्न थालेको छ । चाङ्गा खर्कबाट लहरै हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने भए पनि पूर्वाधार अभावमा यो क्षेत्र ओझेलमा परेको थियो । यहाँबाट पुथा, गुर्जा, सिता, चुरेन, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गणेश र धम्पुस लगायत एक दर्जनभन्दा बढी हिमालका साथै सूर्योदय र सूर्यास्तको मनोरम दृश्य देख्न सकिन्छ ।
सिर्कुम गाउँको शिरमा पर्ने यस क्षेत्रमा मङ्गला गाउँपालिकाको केन्द्रदेखि नै सडक सुविधा उपलब्ध छ । ५ नम्बर वडाका अध्यक्ष भूपेन्द्रबहादुर खत्रीले सडक स्तरोन्नति र होमस्टे (घरवास) सञ्चालन गर्न सके यसलाई आकर्षणको केन्द्र बनाउन सकिने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाका अनुसार बेनीदेखि गौश्वारा, बेलढुङ्गा, चिनाकोट दरबार, झाक्रीपानी, तिनचुले, चाङ्गा, निस्कोट हुँदै रुमको दुरुलेकसम्मका स्थलहरूलाई समेटेर ग्रामीण पदमार्ग विकास गर्ने योजना रहेको छ ।

