
सन्तोष गौतम
म्याग्दी, ः नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइनको टावर निर्माण भएको जग्गाका धनीहरुलाई रु. तीन करोड भन्दा बढी मुआब्जा वितरण भएको छ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गठन भएको उपसमितिले कायम गरेको मूल्य अनुसार टावर निर्माण भएको जग्गाका धनीहरुलाई मात्र हालसम्म रु. तीन करोड २९ लाख ६४ हजार पाँच सय ६७ मुआब्जा वितरण भएको हो ।
आयोजनाका प्रशासकीय अधिकृत मातृका तिमिल्सीनाले मुआब्जा वापत रु. दुई करोड २९ लाख २९ हजार सात सय २८ वितरण भएको जानकारी दिनुभयो । आयोजनाको ऋण लगानीकर्ता एशियाली विकास बैंक (एडिबी)को कार्यबिधी अनुसार गरिव, महिला प्रमुख घरपरिवार, दलित÷जनजाती, अशक्तको आधारमा थप रु. एक करोड ३४ हजार आठ सय ३९ वितरण भइसकेको उहाँले बताउनुभयो ।

२५ किलोमिटर दुरीको प्रशारण लाइनका ८२ वटा टावर मध्य ४० वटा वन क्षेत्र र ४२ वटा व्यक्तिगत जग्गामा रहेका छन् । हालसम्म ६६ जनाले मुआब्जा लगिसकेका र सात जनाले मुआब्जा लैजाने प्रक्रियामा रहेका प्रशासकीय अधिकृत तिमिल्सीनाले बताउनुभयो । वि.स. २०७९ मा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गठन भएको उपसमितिले यस आयोजनाको टावर रहने जग्गाका धनीहरुलाई प्रतिरोपनी रु. नौ लाख देखि रु. १३ लाख ५० हजारका दरले मुआब्जा निर्धारण गरेको थियो ।
तारमुनीका जग्गाधनीलाई पनि क्षतिपुर्ति
प्रशारण लाइनको तारमुनी भोगाधिकार क्षेत्रमा पर्ने जग्गाका धनीहरुलाई पनि क्षतिपुर्ति वितरण गर्न दररेट निर्धारणको प्रक्रियामा रहेको आयोजनाले जनाएको छ । प्रशारण लाइनको बिच भाग देखि दायाँ र बाँया नौ÷नौ मिटरमा रहेको निजी जग्गाका धनीहरुले क्षतिपुर्ति पाउने ब्यवस्था छ ।
चार सय ५४ कित्ता जग्गा प्रशारण लाइनको तारमुनी भोगाधिकार क्षेत्रमा पर्ने प्रारम्भिक विवरण संकलन भएको छ । यसैगरी क्षतिपुर्ति वितरणका लागि पहिलो चरणमा तारमुनी पर्ने २२ वटा घरटहराको पहिचान भएको छ ।
तारमुनी पर्ने थप भौतिक संरचनाको पहिचान कार्यलाई निरन्तरता दिएको आयोजनाले जनाएको छ । आयोजनाले सवस्टेशन निर्माणका लागि मालिका गाउँपालिका–७ बिमको डाडाखेतमा ५१ रोपनी र रघुगङ्गा गाउँपालिका–३ राहुघाट अम्बाङमा ९० रोपनी जग्गा अधिग्रहण गरेको थियो । वन क्षेत्र प्रयोग गरेवापत रु. चार करोड ५० लाखमा पाँच सय चार रोपनी जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराइसकेको छ ।
सामाजिक उत्तरदायित्व कार्यक्रम
प्रशारण लाइन प्रभावित क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत १५ जनालाई सवारी चालक, १५ जनालाई हाउस वायरिङ र प्रभावित क्षेत्रमा पर्ने १९ वटा सामुदायिक वनका दुई÷दुई जनालाई गैरकाष्ठ वनपैदावार तालिम प्रदान गरिएको छ ।
सामुदायिक वन उपभोक्ता समूहको माग अनुसार वन डढेलो नियन्त्रण र प्रशासनीय कार्य सञ्चालनमा आवश्यक सामग्री वितरण गरेको आयोजनाले प्रभावित क्षेत्रका १८ वटा सामुदायिक विद्यालय तथा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरणको तयारी गरेको छ ।
आयोजना प्रभावित मालिका गाउँपालिका ७, ६, मंगला गाउँपालिका–१, २, बेनी नगरपालिका–५, ९ र रघुगंगा गाउँपालिका–३ का मठमन्दिर, आमा समूह, विद्यालयहरुलाई निर्माणजन्य जिन्सी सामग्री वितरण गरिएको छ । विभिन्न ठाउँमा जनचेतनामुलक होडिङ बोर्ड राखिएको छ ।
७८ प्रतिशत भौतिक प्रगति
डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाको हालसम्म ७८ प्रतिशत भौतिक प्रगति भएको छ । म्याग्दी र राहुघाट वेसिनका जलविद्युत आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन यो आयोजना सञ्चालन भएको हो ।

प्रशारण लाइन र सवस्टेशन निर्माणका लागि सन् २०२१ को डिसेम्वर ३१ मा रु. तीन अर्ब ५७ करोडमा लार्सन एण्ड टुयुब्रो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो । पहिलो पटकको म्याद गत जुलाई १६ र दोस्रो पटकको म्याद नोभेम्बर १६ सम्ममा सकिएपछि २०२६ मे १६ सम्मका लागि तेस्रो पटक म्याद थपिएको छ ।
प्रशारण लाइनको क्षेत्राधिकारमा पर्ने वन क्षेत्रमा रुख कटान आदेश प्राप्त नहुुनु, राहुघाट सवस्टेशन निर्माण स्थलको कमजोर भूगोल, विपद्को जोखिम र केही टावर निर्माण स्थलमा समुदायको विवादका कारणले निर्माण अवधी लम्बीएको आयोजना प्रमुख रोशन अग्रवालले बताउनुभयो । उहाँका अनुसार अबको पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्य सहित ठेकेदारले निर्माण कार्यलाई तिब्रता दिएका छन् ।
१३२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइनको हालसम्म ८२ वटा मध्य ७१ वटा खडा भएका छन् । दुई वटा बाहेक सबै टावरमा ठेकेदारले काम थालेको छ । १० दशमलब पाँच किलोमिटरमा तार तान्ने काम पनि सकिएको आयोजनाका इञ्जिनियर सुरज गुरुङले बताउनुभयो । प्रशारण लाइन र सवस्टेशनको उपकरण आयात भइसकेको छ ।
डाडाखेतको सवस्टेशनमा ९५ प्रतिशत, प्रशारण लाइनमा ७० प्रतिशत र राहुघाट सव स्टेशनमा ६५ प्रतिशत प्रगति भएको छ । एलएनटिका आयोजना ब्यवस्थापक सुभाषचन्द्र शर्माले मजदुर र उपकरण थपेर तोकिएको समय भित्र सम्पन्न गराउने प्रतिवद्धता जनाउनुभयो ।
५१ रोपनी क्षेत्रफलमा निर्माण भएको डाडाखेत सवस्टेशनमा १३३÷३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रबिधिको उपकरण जडान भइरहेको छ । २२०÷१३२÷३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेशनमा उपकरण राख्ने र कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
कुल रु. चार अर्ब ८८ करोड लागत अनुमान गरिएको आयोजना निर्माणका लागि रु. एक अर्ब पाँच करोड विद्युत प्राधिकरण र रु. तीन अर्ब ८२ करोड एशियाली विकास बैंकको ऋण लगानी छ । एशियाली विकास बैंकसँग भएको २७ मिलियन डलर ऋण सम्झौता पछिल्लो पटक बढाएर ३१ मिलियन डलर बनाइएको छ । एशियाली विकास बैंकले विद्युत प्रशारण लाइन आधुनिकीकरण परियोजना मार्फत राहुघाट–डाडाखेत प्रशारण लाइन बनाउन ऋण लगानी गरेको हो ।
म्याग्दी नदीमा एक सय ७२.८ मेगावाट क्षमताको चार वटा जलबिद्युत आयोजना निर्माण शुरु भएका छन् । राहुघाटमा ३५.५ मेगावाटको चिमखोला–राहुघाट–मंगले, ४८ मेगावाटको अपर राहुघाट, २१.३ मेगावाट क्षमताको ठुलोखोला र २३ दशमलब पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजनाले उत्पादन थालेका छन् ।
४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुदी पावरले बनाएको चिमखोला–राहुघाट–मंगले र संयुक्त उर्जाको ठूलोखोला जलविद्युत आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रशारण लाइनमा विद्युत आपुर्ति गराएका छन् ।

