
बेनी । बेनीमा रहेको माउण्ट एभरेष्ट आवासीय माविको ३६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ आइतबार सम्पन्न भएको छ ।
गत शुक्रबार शिक्षा मार्ग ब्लक र आइतबार महारानीथान ब्लकमा विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई सम्मान, २०५७ सालदेखि हालसम्म एसइईमा उत्कृष्ट परिणाम ल्याइ जिल्ला प्रथम हुन सफल भूतपूर्व विद्यार्थीहरुको फोटो प्रदर्शन लगाएत विविध कार्यक्रमका साथ आइतबार सम्पन्न भएको हो ।
आइतबार विद्यालयमा आयोजित समारोहमा विभिन्न आन्तरिक, जिल्लास्तरीय र प्रदेश स्तरीय प्रतियोगिताहरुमा प्रथम,द्धितीय र तृतीय स्थान प्राप्त गर्न सफल विद्यार्थी,उत्कृष्ट अभिभावक लगाएतलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा विद्यार्थी र अभिभावकहरुले विभिन्न किसिमका सांगीतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी बेनी नगरपालिकाका शिक्षा अधिकृत कमलप्रसाद ढकालले म्याग्दी जिल्लाको शैक्षिक क्षेत्रमा माउण्ट एभरेष्ट आवासीय माविले माउण्ट एभरेष्ट जत्तिकै उचाइ प्राप्त गरेको र यसलाई निरन्तरता दिँदै अझ गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिन आवश्यक रहेको बताउनुभयो ।
अभिभावक, शिक्षक र संचालकको आपसी समन्वयका कारण नै विद्यालयले यो उचाइ प्राप्त गरेको उल्लेख गर्दै प्रमुख अतिथी ढकालले अभिभावकहरुको सल्लाह,सुझाव र निगरानी विद्यालयको विकासका लागि सहयागी हुने विचार व्यक्त गर्नुभयो । विद्यालयका प्रिन्सिपल राजु केसीले माउण्ट एभरेष्टको विरासतलाई कायम राख्न आफू र आफ्नो टिम अनरवत लागिरहेको बताउँदैे संस्कार र प्रविधि सहितको व्यवहारिक र व्यवसायिक शिक्षा अवको लक्ष्य भएको स्पष्ट पार्नुभयो ।
विद्यार्थीहरुको प्रतिभा र क्षमता पहिचान गरेर उनीहरुको प्रतिभा प्रस्फुटनका लागि विद्यालयले अनुकुलको वातावरण सृजना गर्ने प्रिन्सिपल केसीले बताउनुभयो । कार्यक्रम प्रिन्सिपल केसीको अध्यक्षता,विद्यार्थीहरु प्रिन्स मल्लिक र सुवाश्ना आचार्य तथा शिक्षक गंगादेवी शर्माको स्वागत,धु्रवसागर शर्मा र सुरेन्द्र थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैगरी शुक्रबार शिक्षा मार्ग ब्लकमा विद्यालयको वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । शिक्षा मार्गमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी बेनी नगरपालिका ८ का वडाअध्यक्ष उत्तमकुमार कर्माचार्यले माउण्ट एभरेष्ट आवासीय मावि जिल्लाको उत्कृष्ट विद्यालय भएको र यहाँबाट पढेर गएका विद्यार्थीहरु अत्यन्तै सफल भएको आफूले पाएको बताउनुभयो । कार्यक्रम शिक्षक रमेश रुचालको सञ्चालन र विद्यालय सञ्चालिका तथा को अर्डिनेटर सुनिता केसीको निर्देशन तथा व्यवस्थापनमा सम्पन्न भएको थियो ।

