
घोडेपानी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ ।
समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको घोडेपानी क्षेत्रको जङ्गल बसन्त ऋतुको आगमनसँगै मनमोहक र रमणीय बनेको हो । घोडेपानीका बासिन्दा देवेन्द्र पुन (शुशिल)ले गुराँस फुलेर मनमोहक र आकर्षक बनेको घोडेपानी पाहुनाको पर्खाइमा रहेको बताउनुभयो ।
“ढकमक्क गुराँस फुलेर पाखा रङ्गिन थालेको घोडेपानी पाहुनाको स्वागतका लागि आतुर छ,” उहाँले भन्नुभयो “घोडेपानीको दायाँ र बायाँ रहेको जङ्गलमा ढकमक्क लालीगुराँस फुलेपछि मनमोहक बनेको छ ।”

स्वच्छ हावापानी र शान्त वातावरणले तन÷मन चङ्गा बनाएको बेनीबाट घोडेपानी घुम्न गएका मिलन खत्रीले अनुभव सुनाउनुभयो । “गुराँस, चराको चिरबिर आवाज र हिमालको दृश्यले लट्ठै बनायो”, उहाँले भन्नुभयो “हिमाल हेर्दै गुराँससँग रमाउँदा समय बितेको पत्तै पाइँदैन ।”
गुराँसले ढाकेको वनमा चराको आवाज सुनेर डुल्दा रमाइलो महसुस र तनावमुक्त भइने आन्तरिक पर्यटक प्रमिला जोशी श्रेष्ठले बताउनुभयो । श्रेष्ठको टोली गत शनिबार घोडेपानी पुगेर गुराँसका बोटमा रमाउने र तस्बिर खिचाएर फर्किएको थियो ।
चैत–वैशाख गुराँस फुल्ने याम हो । समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा सूर्योदय र हिमशृङ्खलाको दृश्य अवलोकन गर्न जाने बाटोमा गुराँसको जङ्गल छ । यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छ ।
पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धौलागिरी, गुर्जा, अन्नपूर्ण, माछापुच्छे«लगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ । विश्वमा ४२ प्रजातिको गुराँस पाइन्छ । त्यसमध्ये नेपालमा ३२ प्रजातिका छन् । लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययनअनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइने अन्नपूर्ण गाउँपालिकाका पुर्व अध्यक्ष समेत रहेका घोडेपानीका होटल ब्यवसायी डमबहादुर पुनले बताउनुभयो ।
एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जङ्गल गण्डकी प्रदेशकै ठूलो भएको उहाँको दावी छ । घोडेपानी बस्तीको सिरानबाट पश्चिमोत्तर आधा घण्टा गुराँसे जङ्गलभित्र हिँडेपछि कालीसारस्थित गुराँस पार्क पुगिन्छ ।
घोडेपानीबाट ४५ मिनेट उकालो हिँडेपछि पुगिने समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिल सूर्योदय र हिमालको दृश्यावलोकनका लागि प्रसिद्ध गन्तव्य हो ।
गुराँस पार्कबाट थप १५ मिनेट अगाडि बढेपछि गुराँसकै जङ्गलभित्र रहेको सुन्दर प्यारीबराह ताल पुगिन्छ । फर्कंदा प्यारीबराहबाट भलखराचौरहुँदै ४० मिनेटमा घोडेपानी बस्तीको पुछारमा आइपुगिन्छ ।
घोडेपानीको सिरानबाट कालीसार गुराँस पार्क हुँदै प्यारीबराह ताल पुगेर भल्खराकोबाट तल्लो बाटो हुँदै घोडेपानी साइक्लिङ गर्न सकिन्छ । प्यारीबराहबाट घोडेपानीसम्मको घोडचढी (पोन्नी ट्रेल)मा जान सकिन्छ ।
विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय गन्तव्यमा समेटिएको घोडेपानी भ्रमणमा आउने पर्यटकका लागि बसन्त ऋतुको प्रमुख आकर्षण गुराँस हो । याम शुरु भएपनि यसपाली पर्यटक आगमन अपेक्षाकृत हुन नसकेको घोडेपानी होटल ब्यवस्थापन उपसमितिका उपाध्यक्ष जुली ठकुरी पुनले गुनासो गर्नुभयो ।
मध्यपुर्वका देशहरुमा उत्पन्न तनाव, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र प्रतिकुल मौसमका कारण पर्यटक आगमन हुन नसकेको उहाँले बताउनुभयो । विदेशी पर्यटकको आगमन कम भएपनि विद्यालयहरुको वार्षिक परिक्षा र माध्यमिक शिक्षा परिक्षा (एस.ई.ई)पछि विद्यालयहरु बिदा हुने, शिक्षक र कर्मचारीहरु नयाँ वर्षको अवसर पारेर घोडेपानी घुम्न आउने अपेक्षा होटल ब्यवसायीहरुले गरेका छन् ।
स्वदेशी पर्यटकलाई आकर्षित गर्न सहुलियतको व्यवस्था मिलाएका छन् । घोडेपानीमा रहेका २७ होटललाई सुविधा र पूर्वाधारका आधारमा दुई समूहमा वर्गीकरण गरेका छन् । एक रात बास बसेको, बेलुकाको खाना, बिहानको खाजासहित रु. नौ सय ५० देखि एक हजार छ सय को प्याकेज बनाइएको छ । घोडेपानीका होटलमा दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्छन् ।
घोडेपानीमा सवारी साधन र पैदलयात्रा गरेर पुग्न सकिन्छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार, शिख, चित्रे हुदै २१ किलोमिटर दुरीका पुगिने घोडेपानीमा पोखरादेखि बस सञ्चालन हुन थालेको छ । कास्कीको नयाँपुल देखि बिरेठाँटी–उल्लेरी हुदै घोडेपानी जोड्ने कच्चि सडक पनि गत कात्तिक महिनादेखि सञ्चालनमा आएको छ ।
घान्द्रुक, उल्लेरी, शिख, मोहरेडाडा तर्फबाट घोडेपानी पुग्न सकिने पदमार्गहरु रहेका छन् । अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले पदमार्गको संरक्षण, पुननिर्माण, सडक स्तरोन्नति र सहायक गन्तब्यको पहिचान गरि पूर्वाधार निर्माणमा जोड दिइएको बताउनुभयो ।
“सडक मार्ग भएर मुस्ताङ जाने–आउने पर्यटकहरुलाई घोडेपानी भित्र्याउन पोखरेबगर देखि कास्कीको नयाँपुल जोड्ने वैकल्पिक सडक सञ्चालनमा आएको छ,” उहाँले भन्नुभयो “घोडेपानीमा पर्यटकको बसाई लम्बाउन ‘गुराँस पार्क’, घोडामार्ग, साइकल मार्ग र सहायक गन्तब्यको पहिचान गरि पूर्वाधार निर्माणमा जोड दिएका छौ ।”

