
म्याग्दी, ः मंगला गाउँपालिका–२ हिदी देखि म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने सडक निर्माण थालिएको छ ।
मंगला गाउँपालिका र हिदीका बासिन्दाहरुको साझेदारीमा हिदी देखि सुर्ती चढाउने डाडाँ, गिद्रे देउराली, धौलेखर्क हुदै मालिकाको फेदीमा रहेको जोगी देउराली जोड्ने योजना निर्माण शुरु भएको हो ।
मंगला गाउँपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन गरेको रु. ३० लाख बजेटबाट थालिएको हिदी–मालिका सडक निर्माण योजनालाई गाउँलेहरुले चन्दा संकलन गरेर निरन्तरता दिएका छन् । ठेक्का प्रतिस्पर्धाका क्रममा बि.एण्ड. बी. कन्ट्रक्सनले रु. १६ लाखमा सम्झौता गरेको थियो ।

हिदी–मालिका सडक योजनाको उपभोक्ता समितिका अध्यक्ष थमप्रसाद पुनले गाउँपालिकाको बजेटबाट हिदी देखि सुर्ती चढाउने डाडाँसम्म दुई किलोमिटर पाँच सय मिटर सडकको मार्ग खुलीसकेको जानकारी दिनुभयो ।
“गाउँपालिकाले बिनियोजन गरेको बजेट सकिएपनि गाउँलेहरुले चन्दा उठाएर सुर्ती चढाउने डाडाँदेखि गिद्रे देउरालीतर्फ सडक निर्माणलाई निरन्तरता दिएका छौ,” उहाँले भन्नुभयो “सुर्ती चढाउने डाडादेखि धौलाखर्क सम्म थप एक किलोमिटर सडकको मार्ग खुलेको छ । थप पाँच सय मिटर मार्ग बनाएपछि गिद्रेदेउराली सम्म सडक पुग्छ ।”

रु. १८ लाख संकलन गरेर जोगी देउरालीसम्म सडक पु¥याउने हिदीबासीको योजना छ । अध्यक्ष पुनका अनुसार पहिलो चरणमा गिद्रेदेउराली जोड्ने सडकका लागि रु. छ लाख चन्दा सहयोग जुटेको छ । सुर्तीचढाउने डाडाँदेखि गिद्रेदेउराली पहिलो खण्ड र गिद्रे देउराली देखि जोगी देउरालीलाई दोस्रो खण्ड मानेर सहयोग संकलन अभियान सञ्चालन भएको छ ।
हिदीका बासिन्दा, पेशा, ब्यवसाय र रोजगारीको शिलशिलामा प्रवास तथा देशका विभिन्न ठाउँमा रहेकाहरुबाट चन्दा संकलन अभियान सञ्चालन भएको अध्यक्ष पुनले बताउनुभयो । जोगी देउरालीसम्म गाडी चल्न थालेपछि बेनी देखि हिदी हुदै चार घण्टामा मालिका पुग्न सकिने बताइएको छ ।
पैदलयात्रा गरेर हिदी देखि मालिका पुग्न चार देखि पाँच घण्टा लाग्ने गरेको छ । यातायातको सुविधा भएमा यात्राअवधी दुई घण्टामा छोटिने र यो सडक बेनी देखि मालिका जोड्ने सबैभन्दा छोटो दुरीको हुने हिदीबासीको दावी छ ।
मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि बिम बाइन्दफाँट र रघुगंगा गाउँपालिकाको ठाडाखानी हुदै मालिकाको फेदीसम्म दुई तर्फबाट सडक पुगिसकेको छ । समुन्द्रि सतहदेखि तीन हजार चार सय मिटर उचाईमा रहेको मालिका मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा अवस्थित छ ।
यहाँबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनबढी हिमालहरुका साथै सुर्योदय, सुर्यास्त, पहाडी भुगोल र वनजङगलको अवलोकन गन सकिन्छ । चण्डी, जेष्ठी र कार्तिक पुर्णिमामा बिशेष दर्शन र पुजाआजा हुने यस मन्दिरमा मनोकांक्षा पुरा हुने जनविश्वास छ । वि.स १९१० देखि पुजाआजा हुन थालेको ईतीहाँस रहेको मालीकामा कालिका, मालिका र जालपादेवीको मुर्ति रहेका छन् ।

