
म्याग्दी ः बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वरको सौन्दर्यकरणका लागि बजार भित्रको सडकमा ढुङ्गा बिछ्याउन थालिएको छ ।
हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वरको बजार भित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न सौन्दर्यकरण योजना सञ्चालन भएको हो ।
रु. ६४ लाख सात हजार लागत अनुमान गरिएको गलेश्वर बजार सौन्दर्यकरण योजना निर्माणका लागि गत मंसिर महिनामा रिभर इडेग इन्जिनियरीङ एण्ड बिल्डर्सले रु. ४८ लाख ७४ हजार दुई सय ७७ मा ठेक्का सम्झौता गरेको थियो ।

योजना मार्फत गलेश्वर मन्दिरको प्रवेशद्धारदेखि बसपार्क तर्फ ढुङ्गा बिछ्याउने काम शुरु भएको बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले जानकारी दिनुभयो । गलेश्वर बजार सौन्दर्यकरण योजना बेनी नगरपालिकाको गौरवको आयोजना हो । गलेश्वर शिवालय क्षेत्र विकास कोष र बेनी नगरपालिकाको लागत साझेदारीमा गत वर्षदेखि शुरु भएको यो योजनाले चालु आर्थिक वर्षमा पनि निरन्तरता पाएको छ ।


यस वर्ष दुई ९५ मिटर दुरी सडकमा एक हजार सात सय १८ दशमलब पाँच घनमिटर स्लेट ढुङ्गा बिछ्याउने र ३० मिटर लामो नाली निर्माण हुने बेनी नगरपालिकाका सव इञ्जिनियर मिलन केसीले बताउनुभयो । गत वर्ष गलेश्वर प्रवेशद्धारदेखि मन्दिरतर्फ एक सय छ मिटर दुरीमा सात हजार एक सय घनमिटर ढुङ्गा बिछ्याउनुका साथै ५३ घनमिटर पर्खाल र २० मिटर पलम नाली निर्माण भएको छ ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले स्लेट बिछ्याएको बाहेक पार्किङ क्षेत्रमा पनि ढलानका लागि नगरपालिकासँग अनुरोध गर्नुभयो । सडकलाई सम्माउने, नाली र पर्खाल बनाएर भुईमा ढलान र कालोपत्रको विकल्पमा दुई इन्च बाक्लो कटिङ्ग ढुङ्गा बिछ्याएर सिमेन्टले जमाउने काम भैरहेको छ । मुक्तिनाथ र मुस्ताङ जाने आउने पर्यटक तथा भक्तजनलाई गलेश्वरमा भित्र्याउने र उनिहरुको बसाई लम्बाउने उद्देश्यले शुरु गरिएको सौन्दर्यकरणको योजनालाई निरन्तरता दिने वडा अध्यक्ष केसीले बताउनुभयो ।
गलेश्वर बजार भित्रको सडकमा ढुङ्गा बिछ्यापछि सार्वजनिक यातायातका साधनहरु बजार बाहिरको कालिगण्डकी कोरिडोरको सडकबाट मात्र आवत जावतको ब्यवस्था मिलाइने उहाँले बताउनुभयो । भुईमा बिछ्याइने ढुङ्गामा असर नपर्ने गरे बजारभित्र निर्माण सामग्री र उपभोग्य सामग्री आपुर्तिका सवारी साधन सञ्चालन गर्न मिल्ने गरि संरचनाको डिजाइने गरिएको छ ।
कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलको एउटै विशाल चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा पुजाआजा र दर्शन गर्नाले मनोकांक्षा पुरा हुने र पुण्य मिल्ने धार्मिक विश्वास छ । हिन्दुधर्म ग्रन्थमा सतिदेबीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्री पर्बमा बिशेष मेला लाग्ने छ । दैनिक नित्य पुजाआजा हुने गर्छ ।

