
बेनी, म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रबिधीमन्त्री डा. महाविर पुन प्रतिनिधीसभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको छ ।
२२ हजार आठ सय ५० मतका साथ पुन निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार नौ सय १९ मत प्राप्त गर्नुभएको छ । मतगणना सकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ ।

पुन अन्तिरिम सरकारको शिक्षा, विज्ञान तथा प्रबिधी मन्त्रीबाट राजिनामा दिएर आफ्नो जन्मथलोमा निर्वाचन लड्न आउनुभएको थियो । उहाँले शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत रुपमा पहल गर्ने मुद्दा अघि सार्दै चुनावमा लड्न आउनुभएको हो । विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकारको ब्यवस्था मिलाउने नीति बनाउने उहाँले प्रतिवद्धतापत्रमा उल्लेख गर्नुभएको छ ।

नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी (के.बी.)ले छ हजार आठ सय ८४ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले तीन हजार पाँच सय २९ मत प्राप्त गर्नुभएको छ । बिहिबार भएको मतदानमा म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता रहेकोमा ४६ हजार दुई सय १५ मत खसेको थियो ।

