
बेनी ः बिहिबार हुने प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा सबै मतदान केन्द्रमा पूर्वाधार तयार पारिएको छ ।
मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सुरक्षाकर्मी र सहयोगीहरुको टोलीले निर्वाचन आयोगको मापदण्ड अनुसारको पूर्वाधार तयार पारेका हुन् । मतदान स्थलहरु अपाङ्गमैत्री बनाइएको छ ।
८४ मतदान स्थल र दुई वटा अस्थायी सहित एक सय २२ वटा मतदान केन्द्रमा पूर्वाधार निर्माणका साथै सबै तयारी पुरा भएको जिल्ला निर्वाचन अधिकारी बिमल गौतमले जानकारी दिनुभयो । बेनी स्थित जिल्ला कारागार र कर्मचारी मिलन केन्द्रको भवनमा अस्थायी मतदान केन्द्र बनाइएको छ ।

प्रतिनिधीसभामा एक वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीका छ वटा स्थानीय तहमा ४५ वटा वडा छन् । ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक तथा लङैगिक अल्पसङ्ख्यक समुदायका सहित कुल ८६ हजार तीन सय ९७ मतदाता छन् ।

जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अतिसंवेदनशील, पाँच वटा संवेदनशील र ६२ वटा मतदानस्थल लाई समान्य समूहमा बर्गिकरण गरेको छ । ११ जना राजनीतिक दल र एक जना स्वतन्त्र उमेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।

एक हजार ७१ जना कर्मचारी, करिब आठ सय जना निर्वाचन प्रहरी र एक हजार जना भन्दा बढी सेना, शसस्त्र र नेपाल प्रहरी परिचालन भएका छन् । निर्वाचन आयोगले निर्धारण गरेको बिहान ७ देखि साँझ ५ बजेसम्म सबै मतदान स्थलमा मतदाताहरु पुगेर शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्ने ब्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी रविन्द आचार्यले बताउनुभयो ।
बिहिबारनै मतपेटिकाहरु सदरमुकाम बेनी स्थित मूख्य निर्वाचन अधिकृतको कार्यालयमा संकलन गरि मतगणनाको तयारी गरेको उहाँले बताउनुभयो । बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा तारजाली लगाएर सिसिटिभी क्यामेरा जडान गरि मतगणना स्थल पनि तयार पारिएको मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृत थापा र प्रमुख जिल्ला अधिकारी आचार्य सहितको टोलीले विभिन्न ठाउँका मतदान स्थलमा पुगेर बस्तुअवस्थाको अध्ययन र अनुगमन गर्नुभएको छ । मतपेटिकालाई सुरक्षित रुपमा जिल्ला सदरमुकाम ल्याउनका लागि आवश्यक तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

