
बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगको स्वास्थ्य चौकीमा एक दम्पत्तीले दिवंगत अभिभावकको स्मृतिमा रु. पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।
बेगखोला घर भई हाल बेलायतमा कर्मथलो बनाउनुभएका नगेन्द्र पाईजा र उहाँकी श्रीमति लक्ष्मी देवि पाईजाले विपन्न वर्गहरुलाई लक्षित गरेर स्व. पिता जसबहादुर पाइजा र आमा मनिषा पाईजाको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको हो ।

जन्मथलो आउनुभएका पाइजा दम्पत्तीले बेग स्वास्थ्य चौकीका ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष बिलप्रसाद फगामीलाई अक्षयकोषको रकम हस्तान्तरण गर्नुभएको थियो ।

उक्त रकमको ब्याजबाट स्वास्थ्य चौकीमा उपचारका लागि आउने विपन्नहरुको थप उपचारका लागि सहयोग गरिने वडा अध्यक्ष फगामीले बताउनुभयो । उहाँका अनुसार थप उपचारका लागि बजारका अस्पतालमा जानुपर्ने विपन्नहरुको लागि यातायात खर्च, दुर्घटना, विपद् प्रभावितहरुलाई आकस्मिक अवस्थामा अक्षयकोषको रकम परिचालन गरिने भएको छ ।

