
बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका देखि बागलुङको पर्यटकीय स्थल ढोरपाटन उपत्यका हुदै लुम्बीनी प्रदेशको पुर्वी रुकुम जिल्लाको तकसेरा जोड्ने सडकको मार्ग खुलेको छ ।
बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोर हुँदै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तकसेरा जोड्ने सडकको मार्ग खुलेपछि मध्य पहाडी लोकमार्गको वैकल्पिक सडकको रुपमा विकास गर्ने सम्भावनाको ढोका खुलेको छ ।
म्याग्दीको सदरमुकाम बेनी देखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना – खोरीया– मरेनी – जलजला– गुर्जाघाट हुदै ढोरपाटन उपत्यका जोड्ने सडकको मार्ग गत पुष महिनामा खुलेको थियो । निसेलढोर नजिकै रहेको मनिमर्फेस भन्ने स्थानमा जोडिएको ढोरपाटन नगरपालिका–९ का वडा अध्यक्ष खिमबहादुर घर्ती मगरले जानकारी दिनुभयो । लामो समयदेखि रोकिएको काम ढोरपाटन सिकार आरक्ष कार्यालयले अनुमति दिएपछि सडक जोडिएको उहाँको भनाइ छ ।

सडकले तीन जिल्ला जोडेपछि अब म्याग्दी, पश्चिम बागलुङ र पूर्वी रुकुुमको यात्रा छोटिएको छ । बेनी–ढोरपाटन ७५ किलोमिटर र ढोरपाटन–तकसेरा ३७ किलोमिटर रहेको वडाध्यक्ष घर्ती मगरले बताउनुभयो । हाल प्रयोगमा आइरहेको बागलुङ देखि बुर्तीबाङ हुदै ढोरपाटन जोड्ने सडकको दुरी एक सय २६ किलोमिटर छ ।
नयाँ मार्ग खुलेको सडक स्तरोन्नति गरेमा मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पमा छोटो दुरिको सडकका रुपमा विकास हुने सम्भावना रहेको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायतले लामो समयको प्रयासपछि ढोरपाटन–तकसेरा सडक जोड्न सफल भएको बताउनुभयो ।

सिकार आरक्षले अनुमति नदिँदा धेरै वर्षदेखि सडक निर्माण रोकिएकामा बल्ल निर्माण पुरा भएको उहाँको भनाइ छ । निसेलढोर तिरबाट सडकको ‘ट्र्याक’ खोल्न चालु आर्थिक वर्षमा रु १२ लाख ५० हजार विनियोजन गरिएको थियो । सोही बजेटले सडक निर्माण सम्पन्न गरिएको हो । अब तकसेरावासीलाई बागलुङसहित पोखरा र काठमाडौँसम्म पुग्न छोटो हुने र स्थानीय उत्पादन बजारीकरण गर्न सहज हुने उहाँको भनाइ छ ।
मुना–जलजला–ढोरपाटन खण्डमा पर्ने खोलाहरुमा मोटरेबल पुल नभएकाले बर्खामा यातायात सञ्चालन गर्न चुनौति छ । बेनी देखि वि.स. २०५५ मा यो सडक निर्माण सुरु भएको थियो । बेनी देखि मुना–खोरीया–मरेनी हुदै जलजला करिब ६४ किलोमिटर सडकको मार्ग खुलेको हो । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बेनीबाट दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटो भएको बताउनुभयो ।
जलजला, ढोरपाटन र उत्तरगंगा जाने पर्यटक तथा स्थानीयबासीहरुलाई यो सडक छोटो पर्छ । धवलागिरि गाउँपालिका–२ खोरियामा छ वर्षअघि पुगेको सडकलाई ढोरपाटनसँग जोड्न १९ किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन बनाएर गाउँपालिकाले चार वर्षअघि सङ्घीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरेको थियो ।
बेनी देखि तातोपानी–बाबियाचौर हुदै तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकार मार्फत कालोपत्र भएको छ । प्रदेश सरकारले दरवाङ देखि ताकम मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न दुई वटा शिर्षकमा योजना सञ्चालन गरेको प्रदेश सभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन)ले बताउनुभयो ।
मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ । म्याग्दीका उमेद्वारहरुले आसन्न निर्वाचनका लागि मध्य पहाडी लोकमार्गको बैकल्पिक सडक बनाउने मुद्दालाई प्राथमिकता दिएका छन् ।
पुर्वी रुकुम, म्याग्दी र बागलुङ जिल्लाको एक हजार तीन सय २५ बर्गमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन नेपालको एकमात्र शिकार आरक्ष हो । विश्वभरका शाहासी शिकारीहरुको गन्तब्य ढोरपाटन पछिल्लो समय नेपाली पर्यटकहरुको पनि रोजाईमा परेको छ । यो आरक्ष पर्यटनका लागि मात्र नभएर ढोरपाटनको जैविक, सांस्कृतिक, पर्यटकीय, धार्मिक लगायत धेरै अवसरहरु छन् ।

