
म्याग्दी ः आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा म्याग्दीका सबै उम्मेदवारले छुट्टै बैंक खाता सञ्चालनमा ल्याएका छन् ।
एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा चुनावी प्रतिस्पर्धामा रहेका सबै १२ जना उमेद्वारहरुले चुनावी प्रयोजनका लागि बैंक खाता सञ्चालनमा ल्याएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगले चुनावी खर्चलाई पारदर्शी र मितिब्ययी बनाउने उद्देश्यले गरेको निर्णय म्याग्दीका सबै उम्द्वारहरुले कार्यान्वयन गरेका मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले जानकारी दिनुभयो ।
उम्मेदवारको खर्च, आम्दानी मुख्य निर्वाचन अधिकृतको कार्यालयको सिफारिसमा खोलिएको खाताबाट गर्नुपर्ने र त्यसको अनुगमन कोष तथा लेखा नियन्त्रणको कार्यालय म्याग्दीले गर्ने उहाँले बताउनुभयो ।
म्याग्दीका उमेद्वारले बढीमा रु. ३१ लाख सम्म खर्च गर्न सक्ने सीमा तोकिएको छ । निर्वाचनमा आर्थिक चलखेल नियन्त्रण गर्नका लागि तथा खर्च मितव्ययीता गर्नका लागि उम्मेदवारले गर्ने खर्चको समेत छुट्टै अनुगमन गर्ने संयन्त्र बनाइएको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख रामप्रसाद शर्माले बताउनुभयो ।
शर्माको संयोजकत्वमा खर्च आचारसंहिता अनुगमन समेत भइरहेको छ । भड्किलो खर्च रोक्नका लागि आयोगले पहिलो पटक छुट्टै खाता खोल्ने व्यवस्था मिलाएको छ । म्याग्दीमा नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी (के.बी.), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उमेद्वार मुख्य प्रतिस्पर्धीका रुपमा देखिनुभएको छ ।
स्वतन्त्र उमेद्वार पुनलाई सघाउने घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाको उमेद्वारी कायमै छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदी, नेकपा (माओवादी)का क्षेत्रबहादुर घिमिरे (धु्रब), प्रगतिशिल लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मंगोल नेशनल अर्गनाइजेसनका भिमबहादुर लामा र नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा प्रतिस्पर्धामा हुनुहुन्छ ।
म्याग्दीमा निर्वाचन आचार संहिता सम्बन्धी पाँच वटा लिखित र चार वटा मौखिक उजुरी परेका छन् । उजुरीको विषयमा सम्बन्धीत उमेद्वारलाई सचेत बनाईएको आचार संहिता अनुगमन समितिका सदस्य सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो ।
म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनका लागि ८२ मतदान स्थल, एक सय २० वटा मतदान केन्द्र ८६ हजार तीन सय ९७ मतदाता कायम भएका छन् । जिल्ला कारागार शाखा र कर्मचारी मिलन केन्द्रमा दुई वटा अस्थायी मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी बिमल गौतमले जानकारी दिनुभयो । निर्वाचनमा खटिने कर्मचारीहरु छनौट गरेर शुक्रबारदेखि नियुक्तिपत्र वितरण थाललिएको छ ।
निर्वाचन सम्पन्न गराउनका लागि खटिने सुरक्षाकर्मी र अनुगमनकर्ता बाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी र स्वयंसेवक गरी जिल्लामा एक हजार ७४ जना कर्मचारी परिचालन हुने जनाईएको छ ।
निर्वाचनलाई शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि मतदान केन्द्रहरुको अनुगमन गरी निर्वाचन लक्षित एकिकृत जिल्ला सुरक्षा रणनीति तयार गरी सुरक्षा व्यवस्थापनको काम गरिएको प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले जानकारी दिनुभयो ।

उहाँले मनोनयन दर्तादेखि निर्वाचन प्रचार प्रसार, मौन अवधि, मतदान, मतगणना र निर्वाचित उम्मेदवारको बिजयी उत्सव सम्मका कार्यक्रमलाई लक्षित गरी जिल्लामा रहेका सुरक्षा निकायहरुबिच आवश्यक समन्वय र सहकार्यमा जिल्लामा मजबुत सुरक्षा व्यवस्था मिलाईएको जानकारी दिनुभयो ।

निर्वाचनका लागि जिल्लामा आवश्यक पर्ने मतपत्र लगायतका निर्वाचन समाग्री आइपुगेको र सबै सामाग्रीलाई मतदान केन्द्रका रुपमा छुट्टाछुट्टै तवरले व्यवस्थापन गरिएको जिल्ला निर्वाचन अधिकारी गौतमले जानकारी दिनुभयो ।

