मुस्ताङको चुनावी गणित : कांग्रेस–एमालेको आलोपालोमा नेकपा र रास्वपाको चुनौती

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

गत ६ माघमा जिल्ला सदरमुकाम जोमसोमस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेलगत्तै बजार झरेका उम्मेदवार, दलका नेता–कार्यकर्ता र सर्वसाधारण चुनाव नजिकिएसँगै फेरि मुस्ताङ उक्लिन थालेका छन्। चिसोले माघ महिनाभर सुनसान रहेको मुस्ताङमा चुनाव नजिकिएसँगै चहलपहल बढ्न थालेको हो। फागुनको दोस्रो सातादेखि चुनावी गतिविधि र पर्यटकको चहलपहल समेत बढेको छ। चिसोका कारण कात्तिकदेखि फागुन महिनासम्म मुस्ताङका बासिन्दा बजार र बेँसीमा झर्ने गर्छन्।

यसअघि मतदाता बेँसी झरेपछि उम्मेदवारहरू पनि मत माग्दै पोखरा, काठमाडौँ, चितवन र भैरहवा पुगेका थिए। अहिले भने मतदातासँगै उम्मेदवार पनि निर्वाचन क्षेत्रमै भेटघाट गरिरहेका छन्। उम्मेदवारहरूले एकाबिहानैदेखि राति अबेरसम्म मतदातासँग भेटघाट गरिरहेका छन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारको टोली भोट माग्न माथिल्लो मुस्ताङबाट तल झरेको छ भने नेकपा (एमाले), नेपाली कांग्रेस र रास्वपाका उम्मेदवारहरू तलबाट माथिल्लो भेग उक्लिँदै छन्।

Shreekrishna

विगतमा कांग्रेस र एमालेले आलोपालो गरेर जित्ने मुस्ताङमा यसपालि नेकपा र रास्वपाका उम्मेदवार पनि प्रतिस्पर्धीका रूपमा देखिएका छन्। हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङको भूगोलसँगै त्यहाँको राजनीतिक इतिहास र चुनावी नतिजा पनि पृथक र रमाइलो छ।

२०४६ यताका कुनै पनि चुनावमा कुनै पनि दलले लगातार जित हासिल गर्न सकेका छैनन्। यहाँका मतदाताले हरेक चुनावमा मत परिवर्तन गर्ने गरेको विगतको परिणामले देखाउँछ। नाता सम्बन्ध, संगठन र आर्थिक परिचालनमा मुस्ताङको चुनावी नतिजा निर्भर हुने देखिन्छ।

सहरबजारमा रहेका धेरै मतदातालाई मतदान गर्न जिल्ला ल्याउन पनि उम्मेदवारले निकै मिहिनेत गर्नुपर्ने हुन्छ। उनीहरूलाई यातायातका साधनका रूपमा गाडी र जहाजको व्यवस्था गर्नुपर्दा आर्थिक व्ययभार पर्ने गरेको छ।

पारिवारिकबाट भेगीय प्रतिस्पर्धा

विगतका चुनावमा एकै ठाउँका नाता सम्बन्धभित्र सीमित रहेको मुस्ताङको चुनावी प्रतिस्पर्धा यसपालि भेगीय हुने आँकलन गर्न थालिएको छ। गत निर्वाचनमा कांग्रेसका योगेश गौचन थकाली विजयी भएका थिए। उनले एमालेका प्रेमप्रसाद तुलाचनलाई हराएका थिए।

३२ वर्षीय योगेश दोस्रो पटक चुनावी प्रतिस्पर्धामा छन्। उनी थासाङ गाउँपालिका–३ लेतेका हुन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा तुलाचनले योगेशका बुबा रोमी गौचनलाई पराजित गरेका थिए।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवार बनेका तुलाचन, रोमीका निकटतम प्रतिस्पर्धी बनेका थिए। नाताले सोल्टी पर्ने प्रेम र रोमीको घर एकै ठाउँमा छ। विगतका तीन वटा चुनाव प्रेम र रोमीकै वरिपरि घुमेका थिए। यसपालि प्रेम उम्मेदवार बनेका छैनन्। सुरुवात गरेका अधुरा कामलाई पूर्णता दिन युवा उम्मेदवारलाई निरन्तरता दिएको कांग्रेस मुस्ताङका सचिवसमेत रहेका गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले बताए।

साख फर्काउने एमालेको रणनीति

एमालेले यसपटक कांग्रेसको विरासत भत्काएर आफ्नो साख फर्काउन उपल्लो मुस्ताङबाट इन्द्रधारा विष्टलाई उम्मेदवार बनाएको छ। २०७४ को निर्वाचनमा मुस्ताङ १(१) बाट प्रदेशसभा सदस्य निर्वाचित विष्ट २०७९ मा कांग्रेसका नम्डु गुरुङसँग पराजित भएका थिए। पछिल्लो चुनावको हारको बदला लिएर प्रतिनिधिसभामा छिर्ने विष्टको दाउ छ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका माथिल्लो भेगमा पर्छन्। वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकालाई तल्लो मुस्ताङ भन्ने गरिन्छ।

विष्ट माथिल्लो भेगका उम्मेदवार हुन्। तल्लो भेगका उम्मेदवारहरूबीच भेगीय र जातीय मत विभाजन हुँदा एमालेको संगठनात्मक मतको आधारमा आफूहरूलाई फाइदा पुग्ने एमाले नेतृ शर्मिला गुरुङ दाबी गर्छिन्।

यस्तो छ विगतको नतिजा

२०५६ मा कांग्रेसका रोमी गौचन र २०६४ को पहिलो संविधानसभा चुनावमा एमालेका चन्द्रबहादुर गुरुङ विजयी भएका थिए। स्थानीय निर्वाचनमा मुस्ताङका स्थानीय तहमा एमाले र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस बलियो देखिएका थिए। पाँचमध्ये चार वटा स्थानीय तहको अध्यक्ष जितेको एमालेले तीन वटामा उपाध्यक्ष जितेको थियो। लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्रमा अध्यक्ष र उपाध्यक्ष जितेको एमालेले थासाङमा अध्यक्ष जितेको हो।

कांग्रेसले सदरमुकाम जोमसोम अवस्थित घरपझोङमा अध्यक्ष र उपाध्यक्ष तथा थासाङमा उपाध्यक्ष जितेको थियो। कांग्रेसले प्रतिनिधिसभासहित प्रदेशसभाका दुवै क्षेत्र जितेको थियो।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

२०७९ को चुनावमा समानुपातिकतर्फ प्रतिनिधिसभातर्फ एमालेले ३,४०४, कांग्रेसले २,४८६, तत्कालीन माओवादी केन्द्रले ९७९, एकीकृत समाजवादीले ५५, रास्वपाले २९९ र राप्रपाले २०७ मत पाएका थिए।

इतिहास रच्ने नेकपा र रास्वपाको दाउ

पछिल्ला दुई वटा निर्वाचनमा एमाले र कांग्रेसलाई पालैपालो सघाएको नेपाली कम्युनिस्ट पार्टीले मुस्ताङमा १२ वर्षपछि पुरानै उम्मेदवारलाई प्रतिस्पर्धामा उतारेको छ। नेकपाले २०७४ मा एमाले र २०७९ मा कांग्रेसका उम्मेदवारलाई सघाएको थियो।

नेकपाले २०७० को दोस्रो संविधानसभा चुनावका उम्मेदवार ङुटुक गुरुङलाई नै यसपालि दोहोर्‍याएको छ। गुरुङले २०७० मा कांग्रेसका गौचन र स्वतन्त्र उम्मेदवार तुलाचनसँग थोरै मतान्तरले हार व्यहोर्नुपरेको थियो। स्याउ फार्म र च्याङ्ग्रापालन गर्दै आएका ङुटुकले पछिल्लो दुई वर्षयता मुस्ताङमा माओवादीको संगठन निर्माण र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत केन्द्रीय नेताहरूलाई बोलाएर विभिन्न कार्यक्रम गर्दै आएका छन्।

१२ वर्षअघि कडा प्रतिस्पर्धी बनेका गुरुङको व्यक्तिगत प्रभावका साथै संगठन विस्तार, धेरै मतदाता भएको गुरुङ समुदायको उम्मेदवार र फेरिएको राजनीतिक परिस्थितिले आफूहरूलाई जितका लागि सहज हुने नेकपाका नेता धीरेन्द्र विकले दाबी गरे। एमाले र कांग्रेसप्रति असन्तुष्ट मत केही रास्वपामा जाने र केही आफूहरूतर्फ आउने तथा दलित समुदायका मतदाताको सहानुभूति रहेकाले परिणाम अनुकूल हुने नेता विकको भनाइ छ।

मुस्ताङमा रास्वपाले भर्खरै संगठन विस्तार गरे पनि उसको प्रभाव बढ्न थालेको देखिन्छ। जोमसोमको जनहित निरला बहुमुखी क्याम्पसका पूर्वप्रमुख अदितीय चन्द्र थकाली रास्वपाबाट उम्मेदवार बनेका छन्। २० वर्षदेखि मुस्ताङमा बसेर शैक्षिक र सामाजिक क्षेत्रमा गरेको काम तथा रास्वपाको देशव्यापी प्रभावको फाइदा आफूलाई हुने थकालीको दावी छ।

मुस्ताङमा आम जनता पार्टीबाट अजय विक, मङ्गोल नेसनल अर्गनाइजेसनबाट यमबहादुर गुरूङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कमला लालचन र उज्यालो नेपाल पार्टीबाट डा. सुरेन्द्र शेरचन समेत चुनावी मैदानमा छन्। एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा कुल ११,३२८ मतदाता छन् भने ३९ मतदान केन्द्र रहेका छन्।

के भन्छन् मतदाता?

खेतीकिसानी र व्यापार व्यवसायमा व्यस्त भेटिएका घाँसा, छयो, लेते, टुकुचे, कोवाङ, मार्फा, जोमसोम, कागबेनी र मुक्तिनाथ क्षेत्रका मतदाताहरूले सबै उम्मेदवारहरू अझै गाउँघरमा नपुगेको बताए। घाँसाका ७२ वर्षीय लक्ष्मीप्रसाद छन्त्यालले मुस्ताङको राजनीति र चुनावी नतिजाको कुनै भेउ पाउन नसकिने बताए। घाँसाकी ४४ वर्षीया सुशीला शेरचनले चुनाव नजिकिए पनि सबै उम्मेदवारहरू घरदैलोमा भोट माग्न नआएको बताइन्। “मौसमका कारण धेरै मतदाताहरू काठमाडौँ र पोखरामा भएकाले होला, उम्मेदवारहरूले पनि उतै धेरै समय बिताएका छन्,” उनले भनिन्, “पहिलेका चुनावमा भन्दा यसपालि चहलपहल कम देखिएको छ।”

घाँसाकै टीकादेवी बरुवालले पर्यटक अडिन छाडेकामा दुःख सुनाइन्। “खेतीबाली जङ्गली जनावरले नष्ट गरेर हैरान बनाएका छन्। कुनै समय भात खाने फुर्सद नपाउने हामीलाई अहिले दिन कटाउन गाह्रो छ,” उनले भनिन्, “हाम्रो व्यवसाय फस्टाउने, वन्यजन्तुले खेतीबाली नष्ट नगर्ने र घरव्यवहार चलाउन विदेश जानुपर्ने अवस्था हटे हुन्थ्यो।”

थासाङ–५ छयोका गोविन्द तुलाचन संघीयता सुरु हुनुअघिदेखि निर्माण थालिएको लेते–छयो जोड्ने कालीगण्डकी नदीमाथिको मोटरेबल पुललाई पूर्णता दिने उम्मेदवारको खोजीमा छन्। “सडक फराकिलो र पिच भए पनि पुल नहुँदा यातायातको पूर्ण सुविधा पाउन सकेका छैनौँ,” उनले भने, “सबैले पुल बनाउँछु भनेका छन्, तर कसले कहिले बनाउने हुन् भन्ने ग्यारेन्टी छैन।”

घरपझोङ गाउँपालिका–२ मार्फाका ७५ वर्षीय सुवर्ण लालचनले यसपालि मत परिवर्तन गर्ने पक्षमा रहेको बताए। विगतमा सूर्य र रूखमा मतदान गरेका उनले यसपालि कसलाई मत दिने भन्ने खुलाउन चाहेनन्।

कांग्रेसका योगेश गौचन, एमालेका इन्द्रधारा विष्ट र नेकपाका ङुटुक गुरुङको चर्चा सुनेको बताउने लालचनले ‘घण्टी’का उम्मेदवार भोट माग्नै नआएको गुनासो गरे। मार्फाका सुवक लालचन विगतमा रूख र सूर्यको प्रतिस्पर्धा हुने मुस्ताङमा यसपालि ‘तारा’ र ‘घण्टी’ले काट्ने मतले नतिजामा असर पर्ने बताउँछन्। उनी भने छिमेकी भएकाले राप्रपाकी उम्मेदवार कमला लालचनलाई सघाउने योजनामा देखिए।

के छन् उम्मेदवारका एजेन्डा?

मुस्ताङका उम्मेदवारहरूले पूर्वाधार निर्माण, कृषि, पर्यटन र शिक्षा लगायत मुस्ताङको समग्र विकास योजनालाई प्राथमिकतामा राखेर चुनावी कार्यक्रम अघि बढाइरहेका छन्। सबैजसो उम्मेदवारले कोरला नाका जोड्ने, सडक स्तरोन्नति गर्ने र नाकामा पूर्वाधार बनाउने मुद्दा अघि सारेका छन्।

नेपाल–चीन उत्तरी कोरला नाकाको भन्सार, अध्यागमन तथा एकीकृत सुरक्षा पोस्ट लगायत भौतिक पूर्वाधार निर्माण, कोरला नाका हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने पर्यटन मार्ग विकास उनीहरूका मुख्य एजेन्डा हुन्। यसैगरी, माथिल्लो मुस्ताङको निषेधित तथा नियन्त्रित क्षेत्र खारेजी, कृषि क्षेत्रको आधुनिकीकरण, गुणस्तरीय शिक्षा र स्नातक तहसम्मका शैक्षिक सुविधा पनि उम्मेदवारका मुद्दा हुन्। यस्तै, सडक, पुल, मुस्ताङ—डोल्पा र मुस्ताङ—मनाङ सडकमार्गको पूर्णता, जलवायु सङ्कट न्यूनीकरण तथा स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापन लगायतका प्रतिबद्धता लिएर उम्मेदवारहरू जनतासमक्ष पुगिरहेका छन्।

साथै, जिल्लामा अलपत्र विकास योजनाहरू अघि बढाउने, युवा उद्यमशीलता विकास गर्ने र मुस्ताङको समग्र पर्यटन विकासको सम्भावना खोजी गर्ने विषय पनि घोषणापत्रमा समेटिएका छन्। मतदाता रिझाउन उम्मेदवारले सुकुम्बासीलाई लालपुर्जा दिलाउन पहल गर्ने तथा २०३० सालमा नापी हुन छुटेका जग्गालाई पुनः नापनक्सा गराउने प्रतिबद्धता समेत जनाएका छन्।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...