
बेनी । बेनी आवासीय माध्यमिक विद्यालयको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ । आइतबार नेपाल भाषा मंका खलको सभाहलमा आयोजित समारोहको उद्घाटन बेनी नगरपालिका शिक्षा प्रमुख क्षेत्रबहादुर भण्डारीले गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शिक्षा प्रमुख भण्डारीले म्याग्दी जिल्लाको शैक्षिक क्षेत्रमा विद्यालयले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले प्राप्त सफलतालाई निरन्तरता दिँदै आगामी दिनमा अझ गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । शिक्षा क्षेत्रको समग्र विकासका लागि विद्यालय, अभिभावक र समुदायबीच सहकार्य अपरिहार्य रहेको उहाँको धारणा थियो ।
कार्यक्रममा विद्यालयले एसएलसी÷एसईई उत्तीर्ण गरी समाज तथा राष्ट्रका विभिन्न नेतृत्वदायी भूमिकामा पुगेका पूर्वविद्यार्थीहरूलाई सम्मान गरेको थियो । यस वर्ष जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ तथा प्रकाश माध्यमिक विद्यालयका सह–प्रधानाध्यापक विनय श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो । विद्यालयले उनीहरूको योगदान र उपलब्धिको उच्च कदर गर्दै दोसल्ला, प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरेको शिक्षक विशाल खत्रीले जानकारी दिनुभयो ।
यसैगरी, शैक्षिक उत्कृष्टताको कदर गर्दै २०८१ सालको एइई परीक्षामा गणित विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयका शिक्षक डिम्पल कुमार चौधरीलाई नगदसहित सम्मान गरिएको थियो । शिक्षण सिकाइ प्रक्रियामा उत्कृष्ट योगदान पु¥याउने शिक्षकहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले सम्मान कार्यक्रमलाई निरन्तरता दिइएको विद्यालय प्रशासनले जनाएको छ ।
कार्यक्रममा शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । साथै, अनुशासन, नियमितता, अतिरिक्त क्रियाकलाप, खेलकुद र सिर्जनात्मक प्रस्तुतिमा उत्कृष्ट ठहरिएका विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो ।
अभिभावक दिवसको अवसरमा आयोजित अभिभावक खेलकुद प्रतियोगितामा विजयी अभिभावकहरूलाई समेत पुरस्कार वितरण गरिएको थियो । यसले विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रमका क्रममा विद्यार्थीहरूले नृत्य, गीत, नाटक तथा अन्य सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै उपस्थित दर्शकको मन जितेका थिए । राष्ट्रिय तथा स्थानीय संस्कृति झल्किने प्रस्तुतीहरूले समारोहलाई थप आकर्षक बनाएको थियो ।
समापन अवसरमा वक्ताहरूले विद्यालयले ३५ वर्षको यात्रामा हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, अनुशासन र संस्कारयुक्त शिक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
विद्यालयका संस्थापक निर्देशक रेशमबहादुर बानियाँको अध्यक्षता, प्रधानाध्यापक हरिकृष्ण पौडेलको स्वागत मन्तव्य तथा पिरतम सुनार र सुमित्रा शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । वार्षिकोत्सवले विद्यालयका विगत उपलब्धिहरूको समीक्षा गर्दै आगामी लक्ष्य निर्धारण गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको विश्वास गरिएको छ ।

