
बेनी ः प्रतिनिधीसभा सदस्य चुनावको प्रचारप्रसारका क्रममा म्याग्दीमा अनौठा दृष्यहरु देखिएका छन् ।
चुनाव प्रचारका लागि गाउँमा पुगेका उमेद्वारलाई स्थानीयले आर्थिक सहयोग गर्ने, एउटै मञ्चबाट दुई पार्टीका उमेद्वारले मत माग्ने देखि चुनावी प्रतिवद्धता पुरा गरेकोमा विपक्षी पार्टीका जनप्रतिनिधीको नेतृत्वमा पुर्व सांसदलाई सम्मान गरेका हुन् ।
अनौपचारिक शैलिमा टोलटोलमा पुगेर चुनाव प्रचार गरिरहनुभएका स्वतन्त्र उमेद्वार डा. महाविर पुनलाई विभिन्न ठाउँमा आमा समूह र स्थानीयबासीले स्वसफूर्त रुपमा आर्थिक सहयोग गरिरहेका छन् ।

अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रबिधीमन्त्रीबाट राजिनामा दिएर पुरख्यौली थलो म्याग्दीमा चुनावी प्रतिस्पर्धाका लागि आउनुभएका पुनलाई उहाँको जन्मथलो अन्नपूर्ण गाउँपालिका–८ नागी, मालिका गाउँपालिका–५ पन्थोक, ४ च्युरीबोट लगायतका ठाउँमा मतदाताले आर्थिक सहयोग गरेका छन् ।
“कतिपयले चुनाव जित्न मतदातालाई पैसा बाडेको चर्चा हुने गरेपनि मलाई उल्टै मतदाताहरुलेनै आर्थिक सहयोग गरिरहनुभएको छ,” चुनावी अभियानका क्रममा धवलागिरी गाउँपालिका–६ मराङमा पुगेका पुनले भन्नुभयो “हालसम्म रु. १५ लाख सहयोग पाएको छु । प्राप्त सहयोग रकमको हिसाब चुनाव पछि सार्वजनिक गर्नेछु ।”
केही दिनअघि फरक÷फरक पार्टीका दुई जना उमेद्वारले एउटै मञ्चबाट मत मागेको अन्नपूर्ण गाउँपालिका–१ दोवामा शनिबार चुनावी प्रतिवद्धता पुरा गरेको भन्दै एमालेबाट निर्वाचित वडा अध्यक्षको नेतृत्वमा स्थानीयबासीहरुले तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित गण्डकी प्रदेशका पुर्व सांसद बिनोद केसीलाई सम्मान गरेका छन् ।

नेकपा एमालेका उमेद्वार हरिकृष्ण श्रेष्ठ र नेकपा माओवादीका क्षेत्रबहादुर घिमिरे (विप्लप) ले माघ २७ गते दोवामा मतदाता भेटघाट र आफ्ना बिचार व्यक्त गर्न एउटै मञ्च प्रयोग गर्नुभएको थियो । सोही ठाउँमा शनिबार नेकपाका उमेद्वार अर्जुन थापालाई लिएर चुनाव प्रचारका लागि पुगेका वि.स. २०७४ मा म्याग्दी १(क) बाट निर्वाचित प्रदेश सांसद केसीलाई एमालेबाट निर्वाचित वडा अध्यक्ष दिलिप गर्बुजाको नेतृत्वमा सम्मान गरेका हुन् ।
पुर्व सांसद केसीले वि.स. २०७४ को चुनाव प्रचारका क्रममा दोवामा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधाको ब्यवस्था मिलाउने प्रतिवद्धता जनाउनुभएको थियो । आर्थिक वर्ष २०७५÷०७६ देखि प्रदेश सरकार मार्फत सुरु भई करिब रु. पाँच करोड लगानीमा गत वर्ष सम्पन्न भएको भएको दोवा खानेपानी योजनाबाट चार सय २२ घरपरिवार लाभान्वित भएका छन् ।
मतदानको मिति नजिकिदै गर्दा म्याग्दीका राजनीतिक दल र उमेद्वारहरुले प्रचार प्रसारलाई तिब्र बनाएका छन् । उमेद्वारहरुले एकै दिन तीन देखि छ ठाउँमा चुनावी सभा र नेता कार्यकर्ताहरु टोलटोलमा पुगेर घरदैलो गर्न थालेपछि ग्रामिण क्षेत्रमा चहलपहल बढेको छ । उमेद्वारहरुले घरदैलो देखि सामाजिक सञ्जाललाई चुनाव प्रचारको माध्यम बनाएका छन् ।
प्रतिनिधीसभा सदस्य निर्वाचनमा एक वटा निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी (के.बी.), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उमेद्वार डा. महाविर पुन मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका राजनीतिक बिष्लेशक लक्ष्मण शर्माले बताउनुभयो ।
उहाँले राजनीतिक दलका उमेद्वारहरुको सांगठनिक बिरासत, विगतका कामको मूल्याङ्कन र महाविरको ब्यक्तित्वबीचको प्रतिस्पर्धाका रुपमा लिइएको बताउनुभयो । छ वटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता छन् । ८२ वटा मतदान स्थल र एक सय २० वटा मतदान केन्द्र रहेको छ ।
म्याग्दीका उमेद्वारहरुले हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउने, सार्वजनिक सेवा प्रवाहलाई प्रबिधीमैत्री बनाएर शुसाषन कायम गर्ने, ढिलासुस्ति हटाउने, कानुन, बजेट र योजनामा जिल्लाबासीको भावना, माग र आवश्यकतालाई समेट्ने प्रतिवद्धता जनाएका छन् ।

