
बेनी, म्याग्दीमा लागु पदार्थ सेवन गर्ने चार जना सवारी चालकलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
बेनीको कालीपुल बसपार्क स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा सवारी चालकहरुको लागूपदार्थ सेवन परिक्षण गरिएको थियो । १५ जनालाई परिक्षण गर्दा चार जनाले लागु पदार्थ सेवन गरेको पाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सीनाले जानकारी दिनुभयो ।

लागु पदार्थ सेवन गर्ने चार जना सवारी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उहाँले बताउनुभयो । रघुगङ्गा गाउँपालिका–६ का २२ वर्षीय सुमन सुनार, काभ्रेपलान्चोक भिमखोरी गाउँपालिका–७ का २२ वर्षीय मिलन भुजेल, स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ का २८ वर्षीय विज्ञान थापा र दोलखाको भिमेश्वर नगरपालिका–७ का ३० वर्षीय सरोज तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले प्रदेश अस्पताल बेनी र बेनी नगरपालिकाको प्राविधिक सहयोगमा लापसे परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख बिशाल परियारले बताउनुभयो ।
बेनीबाट लामो तथा छोटो दुरीमा चल्ने सवारी चालकहरुले लागु पदार्थ सेवन गर्ने गरेको जनगुनासो सम्बोधनका लागि चिकित्सक र स्वास्थ्यकर्मीहरु मार्फत किटको प्रयोग गरेर लापसे परिक्षण गरिएको हो । लापसे परिक्षण अभियानलाई निरन्तरता, लापसे गरेका सवारी चालकलाई कारबाहीको दायरामा ल्याउने र परामर्श दिइने ट्राफिक प्रहरीले जनाएको छ ।

