
बेनी, । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधीसभा सदस्यका उमेद्वार अर्जुन थापाको लागि भोट माग्न दोवा पुग्नुभएका केसीलाई एमालेबाट निर्वाचित वडा अध्यक्ष दिलिप गर्बुजाले स्वागत र स्थानीय आमा समूहको तर्फबाट फुलमालाले सम्मान गरेका थिए ।
प्रतिवद्धता पुरा गरेको भनेर जनप्रतिनिधीले सम्मान पाएको दृष्य बिरलै देख्न र सुन्न पाइन्छ । अझ त्यसमा पनि फरक पार्टीमा आस्था राख्ने जनप्रतिनिधी भएको ठाउँमा । दोवाका बासिन्दाहरुले भने राम्रो काम गर्ने जनप्रतिनिधीहरुलाई साथ र सम्मान गरेर असल राजनीतिक संस्कार प्रर्दशन गरेका छन् ।
दोवाका वडा अध्यक्ष गर्बुजाले राजनीतिक आस्था फरक भएपनि काम गर्नेलाई साथ दिने र गलत क्रियाकलाप गर्नेलाई खबरदारी गर्ने नीति अनुसार केसीले दोवामा खानेपानी योजना निर्माण गर्ने प्रतिवद्धता पुरा गरेकाले सम्मान गरिएको बताउनुभयो ।

उहाँको समन्वयमा केही दिनअघि नेकपा एमालेका उमेद्वार हरिकृष्ण श्रेष्ठ र नेकपा माओवादीका क्षेत्रबहादुर घिमिरे (धु्रब)ले एउटै मञ्च प्रयोग गरेर भोट माग्नुभएको थियो । पुर्व सांसद केसीले दोवाबासीबाट नसोचेको सम्मान पाएको भन्दै धन्यवाद दिनु र खुसी व्यक्त गर्नुभयो ।
वि.स. २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट म्याग्दी १(क) मा उमेद्वार हुनुभएका केसीले दोवामा घरघरमा खानेपानी सुविधा पु¥याउने प्रतिवद्धता गर्नुभएको थियो ।

गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७५÷०७६ देखि शुरु भएको योजना सात वर्षमा गत आर्थिक वर्ष २०८१÷०८२ मा सम्पन्न भएको हो ।
करिब रु. पाँच करोड लगानीमा चार वटा स्किममा निर्माण भएको योजनाबाट चार सय २२ घरपरिवार लाभान्वित भएका छन् । गरेकखोला, चिसेपानी, गरिलाखोर र ओरालखर्कको मुहानको पानीलाई फरक फरक ठाउँमा निर्माण भएका रिजर्भ टंकीमा संकलन गरेर पाइपलाइन मार्फत घरघरमा लगेर वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर गर्बुजाले बताउनुभयो ।
औल र मारका टोलका बासिन्दा र गाईबस्तुले प्रयोग गर्ने खानेपानीको मुहान यसअघि एउटै थियो । आयोजना निर्माण भएपछि शुद्ध खानेपानी उपभोग गर्न पाएका छन् । घरकै धारामा पानी आपुर्ति भएपछि समयको बचत भएको र झञ्जट हटेको उपभोक्ता तालदेवी गर्बुजाले बताउनुभयो ।
उमेद्वार थापाले विगतमा जनप्रतिनिधीले गरेको कामको आधारमा आफूलाई मत दिन आग्रह गर्नुभयो । नेकपाका नेता कृष्णकुमार विश्वकर्मा, गण्डकी प्रदेश सरकारका पुर्वमन्त्री तथा प्रदेश सांसद रेशम बहादुर जुग्जाली र सांसद हरिबहादुर भण्डारीले म्याग्दीमा नेकपाका जनप्रतिनिधीले अवसर पाउँदा जनताको पक्षमा काम र विकासका काम गरेको आधारमा आसन्न निर्वाचनमा जिल्लाबासीले नेकपाका उमेद्वार थापालाई जिताउने विश्वास व्यक्त गर्नुभयो ।
नेकपाका उमेद्वार थापा सहितको टोलीले शनिबार अन्नपूर्ण गाउँपालिका–८ नागी, राम्चे र ७ टिकोटमा मतदाताहरुसँग भेटघाट गर्नुभएको छ । आइतबार भुरुङ्ग–तातोपानी, दाना, नारच्याङ, पाउद्धार, किन्दु, स्वाँत, शिख, घारमा मतदाता भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

