
बेनी, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएको छ ।
चिन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला¬) सडक योजना मार्फत मालढुङ्गा–बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रबिधीको कालोपत्र गरिएको हो ।
पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गा देखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुदै म्याग्दी सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक दुई लेनको बनाएर कालापत्र गर्न वि.स. २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले वि.स. २०७७ चैतमा रु. ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

१३ किलोमिटर दुरीको सडक मध्य नौ सय ६० मिटर बाहेकका ठाउँमा कालोपत्र र ढलान सकिएको आयोजना प्रमुख तेजस्वी शर्माले बताउनुभयो । “ढलान र कालोपत्र सकिएको सडकमा रङरोगन र सुरक्षा पूर्वाधार राख्ने काम भैरहेको छ,” उहाँले भन्नुभयो “वारीबेनीको सात सय ६० मिटर, केराबारी र फर्से पहिरोमा एक÷एक सय मिटर सडकलाई ठेक्काबाट हटाइएको छ ।”
वारीबेनीमा बस्तिको बीचमा सडक विस्तार गर्न घरधनीहरुको अहसमति तथा फर्से र केराबारीमा पहिरोका कारण ठेक्काबाट हटाउनुपरेको योजना प्रमुख शर्माले बताउनुभयो । वि.स. २०७९ मा सम्पन्न गर्ने लक्ष्य थियो ।

सडक निर्माण कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभावका कारण देखाएर सहायक ठेकेदार ओमकारेश्वरले अलपत्र बनाएको योजनालाई पूर्णता दिन एक वर्षअघि मुख्य ठेकेदार कार्यक्षेत्रमा आएका थिए ।
यसअघि गत वर्ष मालढुङ्गा–फर्से खण्डमा तीन किलोमिटर तीन सय मिटर कालोपत्र र दुई किलोमिटर दुई सय मिटर ढलान भएको थियो । गत मङसिर पहिलो सातादेखि शुरु भएको लस्ती–बेनी खण्डको छ किलोमिटर पाँच सय मिटर सडक कालोपत्र गर्ने काम सकेर प्राविधिक टोलीबाट नापजाँच भैरहेको निर्माण कम्पनीका इन्जिनियर जिवन चौधरीले बताउनुभयो ।
यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक वि.स. २०६८ मा एक तर्फी कालोपत्र भएको थियो । मुस्ताङ र कोरला नाका सडक सञ्जालमा जोडिपछि यातायातका साधनको चाप बढ्दा साँघुरो यो सडक पछिल्लो समय जिर्ण बनेको थियो ।
यातायात ब्यवसायी वुद्धी पुनले मालढुङ्गा–बेनी सडकमा यात्रा गर्दा यसअघि एक घण्टाको यात्राअवधी स्तरोन्नतिपछि १५ देखि २० मिनेटमा छोटिएको बताउनुभयो । “पछिल्लो पाँच वर्षयता पोखरा–बेनी आवत जावत गर्न बेनी देखि रत्नेचौर बागलुङ हुदै मालढुङ्गा जोड्ने घुमाउरो वैकल्पिक सडकको यात्रा गर्दै आएका थियौ,” उहाँले भन्नुभयो “घुमाउरो सडकमा यात्रा गर्नुपर्ने समस्या हट्नुका साथै यात्राअवधि पनि छोटिएको छ ।”
जलजला गाउँपालिका–७ मिलनचोकका बासिन्दा बाबुराम कार्कीले सडक कालोपत्र भएपछि धुलो र हिलोमा जोखिम तथा कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।

