
पुलाचौर ः म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा पक्की सडक निर्माण शुरु भएको छ ।
बेनी नगरपालिका र संघीय सरकारको लागत साझेदारीमा बेनी–पुलाचौर–टोड्के सडक योजना सञ्चालन भएको हो । वि.स. २०६४ मा मार्ग खुलेको पुलाचौरको सडकलाई ढलान र कालोपत्र गरेर पक्की बनाउन थालिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।
“बेनी नगरपालिकाको ६० प्रतिशत र संघीय सरकारको ४० प्रतिशत लागत साझेदारीमा सडक स्तरोन्नति आयोजना शुरु गरेका हौ,” उहाँले भन्नुभयो “तीन आर्थिक वर्षमा क्रमागत योजनाको रुपमा पुरुण्डी देखि पुलाचौर हुदै नयाँगाउँ खण्डको सडकलाई पक्की बनाउन लागेका हौ ।”
मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति हुन थालेपछि पुलाचौरबासी उत्साही भएका छन् । धुलो र हिलोको समस्या हट्ने, यात्राअवधी छोटिने, झञ्जट र कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट मुक्ति मिल्ने स्थानीयबासीले बताएका छन् । सामान्य मर्मत सम्भार गरेर यातायात सञ्चालन हुदै आएको सडकमा यात्रा गर्न असहज हुदै आएको थियो ।



चालु आर्थिक वर्षका लागि रु. एक करोड ७७ लाख ८८ हजार चार सय ७२ लागत गरिएको उक्त योजना निर्माणका लागि रिभरएज इञ्जिनियरीङ एण्ड बिल्डर्स प्रा.लीले गत पुष १२ गते रु. एक करोड २२ लाख ५५ हजार दुई सयमा ठेक्का सम्झौता गरेको छ ।
निर्माण कम्पनीले सडक फराकिलो पार्ने, पर्खाल निर्माण र पुलाचौर क्षेत्रबाट ढलान शुरु गरेको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो । यो सडकबाट स्थानीयबासीका साथै रावणपार्क, पछै, ढोलथान, जगन्नाथ र टोड्के लगायत धार्मिक पर्यटकीय स्थलको दर्शन र पुजाआजाका लागि आउने भक्तजन तथा पर्यटकलाई सुविधा पुग्ने उहाँले बताउनुभयो ।
उपप्रमुख लामिछानेका अनुसार बेनी–पुलाचौर–टोड्के बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा सबैभन्दा बढी बजेट बिनियोजन गरेको गौरवको आयोजना हो । आगामी जेठ १५ गतेसम्म ठेक्काको म्याद रहेको योजना मार्फत पाँच सय ९७ मिटर ढलान र तीन सय मिटर दुरीमा प्रिमिक्स प्रबिधीको कालोपत्र गरिने बेनी नगरपालिकाका सवइञ्जिनियर मिलन केसीले बताउनुभयो ।
पाँच सय दुई मिटर दुरीमा नाली र एक सय ७४ दशमलब ७४ घनमिटर पलम कंक्रिट पर्खाल निर्माण हुने उहाँले बताउनुभयो । बेनी नगरपालिकाको ६, ५ र मंगला गाउँपालिकाको १ नम्बर वडाका बस्तिहरुलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यो सडकको बेनी देखि बेनी नगरपालिका–६ अर्थुङ्गे– बाँसबोट– एकपाटे– अवेचौर हुदै पुरुण्डी सम्म छ किलोमिटर सडकलाई ढलान र कालोपत्र गरेर पक्की बनेको छ ।

